+

राजकुमार बहादुर शाहको स्वास्थ्य र पादरी एन्जेलो

२०८२ असार  २१ गते १३:१५ २०८२ असार २१ गते १३:१५

उनी मानसिक समस्यामा रहेका बेला राज्यको तर्फबाट उपचार गर्नुको सट्टा जेलमा राखेर षडयन्त्रमूलक किसिमले हत्या गरियो ।

Shares
राजकुमार बहादुर शाहको स्वास्थ्य र पादरी एन्जेलो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बहादुर शाहको जन्म १८१४ मा नुवाकोट दरबारमा भएको थियो र उनी पृथ्वीनारायण शाहको माहिला छोरा थिए।
  • उनी राजनीतिक द्वन्द्वका कारण निर्वासन, नजरबन्द र कैदमा परेका थिए र १८५४ मा आत्महत्या गरेको घोषणा गरियो।
  • उनको मृत्युको कारण र मृत्युको प्रकृतिबारे विभिन्न विवाद र आरोपहरू रहेका छन्।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका माहिला छोरा फत्ते बहादुर शाह उर्फ बहादुर शाहको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अड्कलबाजी हुने गरेको छ । उनै बहादुर शाहको स्वास्थ्यका बारेमा थोरै चर्चा गर्नु उपयुक्त ठानी लेख तयार गरिएको हो ।

को हुन बहादुर शाह ?

वि.सं.१८१४ असार ६ गते नुवाकोट दरबारमा बहादुर शाहको जन्म भयो । राजपरिवारमा उनी अत्यन्तै लोकप्रिय र पृथ्वी नारायण शाहसँग अत्यन्तै निकट रहेका थिए । वि.सं.१८३१ माघ १ मा पृथ्वी नारायण शाहको मृत्यु हुँदा उनी १७ वर्षका अविवाहित युवा थिए । सामान्य लेखपढ गर्न सक्थे । उनी बुबा जस्तै साहसी, धैर्यवान थिए । दरबारिया सुखसयल तथा भोग विलासबाट टाढै रहेका थिए । पृथ्वी नारायण शाहसँगै रहने हुँदा सबै भारदारहरू बहादुर शाहको प्रशंसा गर्थे ।

उनी बिजीगिषु(सधैं विजय प्राप्त गर्न इच्छुक) प्रकृतिका थिए ।

विभिन्न घटनाक्रमले बहादुर शाहलाई मानसिक समस्यामा पारेको दखिन्छ । बुबा पृथ्वी नारायण शाहको मृत्यु भइसकेपछि दाजु प्रतापसिंह शाहले आफ्नाविरुद्ध विद्रोह गर्लान् भन्ने डरले भाइ बहादुर शाहलाई तत्कालै नजरबन्दमा राखे । नजरबन्दको अवस्थामै बुबाको किरिया बसे । किरिया-कर्म सकिएपछि उनलाई नजरबन्दकै अवस्थामा बलपूर्वक नुवाकोटबाट काठमाडौं ल्याइयो ।

वि.सं. १८३१ माघ १६ गते नयाँ राजा प्रतापसिंह शाहको राज्याभिषेक भई नयाँ भरदारी सभा गठन हुँदा बहादुर शाहले पाउनुपर्ने ‘चौतारा’ को पद उनलाई नदिई अपमान गरियो । केही समयपछि उनलाई निर्वासनमा जान बाध्य पारियो । उनी तनहुँ, पाल्पा र भारतको बेतियामा निर्वासित भए ।  (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृतान्त, २०७३ पृ २०३-२०४)

बहादुर शाहले तनहुँ, पाल्पामा केही समय आश्रय लिए । त्यस समयमा वि.सं.१८३३ मा तनहुँबाट राजा दाजु प्रतापसिंहलाई उनले पत्र पठाएका थिए । पत्रमा लेखिएको थियो- हजुरको हामीले सोझै गरेका थियौं, हजुरले हामीलाई निकाल्नुभयो, हामीले तनहुँको नुन खाएका छौं । हजुरले भलो गर्नुभयो भने हामीले अन्यथा गर्नुहुँदैन, आफ्नो मुलुक आएर बस्नु छ ।

त्यसको जवाफमा राजा प्रताप सिंहले वि.सं. १८३३ श्रावण १५ गते पत्र पठाए, ‘तिमीहरूले गरे अनुसार ‌ओखती गरिएको हो, तिमिहरूले राम्रो चालचलन गर्यौ भने यो घर तिमिहरूकै हो ।’ यसबाट बहादुर शाह आफ्नो मातृभूमि छाडेर बस्नुपर्दाको मानसिक पीडमा थिए भन्ने बुज्न सकिन्छ ।

बहादुर शाह बेतियामा निर्वासित भएर रँहदा समेत दाजु प्रतापसिंह शाहले अंग्रेज अफिसर गोल्डिङ्ग र इसाइ पादरीसँग राम्रो सम्बन्ध कायम गरी आफ्ना दूत शशीधर उपाध्यायमार्फत बहादुर शाहको दैनिक निगरानी गरिरहेका हुन्थे। (बाबुराम ऐ- पृ-२१०)

वि.सं. १८३४ मंसिर ६ गते राजा प्रताप सिंह शाहको रक्तातिसार (रगतमासी) ले २६ वर्षको उमेरमा मृत्यु भयो । यस्तो दुखद् घटनामा समेत बहादुर शाहलाई नेपाल आउन दिइएन । उल्टै मंसिर पत्र पठाई ‘तपाइले पनि जुठो बार्नुहोला चोखिएपछि तपाइलाई लिन यहाँबाट मानिस आउनेछन्, त्यहाँसम्म ‘त्यहीं राज गर्नु हवस्’ भनी बाटो छेके।

त्यसको केही हप्ता पछाडि एक ‘धर्मपत्र’ मा हस्ताक्षर गरेपछि मात्र बहादुर शाहलाई काठमाडौं छिर्न दिइयो । उनलाई सही गराइएको धर्मपत्रमा लेखिएको थियो-न्याय माग्ने छैन खटाएको काममा लाग्नेछु ।

काठमाडौं आएको केही महिनापछि उनलाई भाउजू राजेन्द्र लक्ष्मीले कैद गरिन् ।

केही महिनापछि उनी कैद मुक्त भए । वि.सं. १८३५ भाद्र १९ गते चारित्रिक र प्रेम प्रसंगको कुरा उठाई भारदारहरू काजी श्री हर्ष पन्तहरूले महारानी राजेन्द्र लक्ष्मीलाई चाँदीको नेल ठोकेर राजभवनभित्रै नजरबन्दमा राखे । उनी वि.सं. १८३६ आषाढ १० गते नजरबन्द बाट मुक्त भइन् । बहादुर शाह बेतियातिर तेस्रो पटक निर्वासित हुन बाध्य भए। (बाबुरा ऐ. पृ.२१५)

वि.सं. १८४१ असोजतिर राजेन्द्र लक्ष्मीलाई क्षयरोग लागेर हतासिन थालेपछि बहादुर शाहलाई बेतिया प्रवासबाट काठमाडौ आउन भनियो । उनी आए तर वि.सं. १८४३ आषाढ २२ गते पुन:तेस्रो पटक काराबास पठाइयो । बहादुर शाहलाई काराबास राखेको १२ दिनका दिन राजेन्द्र लक्ष्मीको क्षयरोगका कारण मृत्यु भयो । त्यसको १० दिनपछि बहादुर शाह कैद मुक्त भए । वि.सं. १८४३ श्रावण ११ गते नाबालक भतिजा रणबहादुर शाहका ‘मुख्तियार’ भई नेपाल अधिराज्यको प्रशासनको प्रमुख वागडोर सम्हाले । (बाबुराम, ऐ, पृ.२१९)

पटक-पटकको निर्वासन, नजरवन्दसँसँगै उनलाई गलाउन अन्य गम्भीर आरोपहरू पनि लगाइए । भतिज रणबहादुर शाहको उमेर १८ वर्ष पूरा भएर ‘वालिग’ राजा भएपछि बहादुर शाहको नायवी खोसियो । उनको नायवीकालको सम्पूर्ण हिसाब मागी रणबहादुरले आर्थिक विचलनको गम्भीर आरोप लगाए ।

अंग्रेजहरूसँग मिली वैदेशिक सम्बन्धमा विचलन ल्याएको, तिब्बतसँग अनावश्यक युद्ध लडेर मैत्री सम्बन्धलाई उपेक्षा गरेको भनी आरोपमाथि आरोप थोपरियो ।

अन्तरकलह, निर्वासन र अन्य कारणले गर्दा वि.सं. १८४२ मा २९ वर्षको हुँदा निकै ढिलो गरी उनले बिहे गरे । दरबारभित्रको द्वन्दका कारण बहादुर शाहकी श्रीमती विद्या लक्ष्मीदेवीलाई दुर्व्यवहार गरिएको थियो।

बहादुर शाहबारे पादरी एन्जेलोले के भने ?

बहादुर शाह बेतियामा वस्दा होस वा नेपाल, इसाई पादरी माइकल एन्जेलो लगायतसँग पत्राचार भइरहन्थ्यो । नेपाल सरकार र उनीहरूका बीच भएका ऐतिहासिक पत्रहरूको अध्ययन गर्दा बहादुर शाहको तत्कालिक स्वास्थ्य अवस्थाबारे थाहा पाउन सहयोग मिल्छ।

को हुन माइकल एन्जेलो ?

‘पादरी माइकल एन्जेलो’ नेपालको आधुनिक स्वास्थ्य सेवाको इतिहास पढ्दा पटक-पटक आइरहने नाम हो । वि.सं. १८२१ असोज ४ मा पृथ्वी नारायण शाहले नेपाल एकीकरणको सिलसिलामा कीर्तिपुर आक्रमण गर्दा उनका भाइ सुरप्रताप शाहको आँखामा वाण लागेर घाइते भएका थिए । उनको आँखाको र युद्धमा घाइते भएका कीर्तिपुरबासीको उपचारमा एन्जेलोमा समेत सहभागी भएका थिए ।

त्यसबेला पादरीहरूले पश्चिमा औषधीहरू लिएर आँउथे । उनीहरूले प्रयोग गर्ने औषधीहरूले नेपालका आयुर्वेदिक औषधीहरूले भन्दा छिटो र प्रभावकारीरुपमा काम गर्थ्यो । यिनै औषधी र ‘सेवा’ लाई माध्यम बनाएर पादरीहरूले दरबार र राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पार्थे।

पृथ्वीनारायण शाह बिरामी भएर नुवाकोट दरबारमा रहेका बेला पनि एन्जेलोले राजालाई भेट गरी उपचारको सल्लाह दिएका थिए भनेर कतिपय इतिहासकारहरूले भनेका छन्।

नेपाल एकीकरण अभियानमा उपत्यकामा रहेका पादरीहरूले असहयोग गरेको प्रमाणहरू भेटिएपछि वि.सं. १८२६ मा ६२ जना केपुचियन पादरीहरूलाई नेपालबाट पृथ्वी नारायण शाहले निष्कासित गरे तिनै ६२ जनामध्ये एक थिए एन्जेलो ।

नेपालबाट निकालिएपछि यिनीहरू भारतको बोतियामा गएर बसेका थिए । एन्जेलोलगायत पादरीहरू पश्चिमा उपचार र पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको विरोधी भएका कारण मल्ल राजाहरूको ‘भित्रिया’ जस्तै थिए । उपत्यकाका मल्ल राजाहरूबाट संरक्षित थिए।

दाजु प्रतापसिंह शाहले नेपालबाट लखेटेपछि बहादुर शाह बाबु पृथ्वीनारायण शाहबाट लखेटिएका माइकल एन्जेलोका पाहुना जस्तै भएर बेतियामै बसे । वि.सं. १८३४ चैत्र ५ गते एन्जेलोले बहादुर शाहलाई लेखेको पत्रअनुसार बहादुर शाह पटक-पटक बिरामी पर्ने गरेको र एन्जेलोले स्वास्थ्य सल्लाह दिने गरेको बुझिन्छ । काठमाडौदेखि बेतियासम्म जाँदा बाटोमा ‘औलो’ लाग्ला र मृत्यु होला भनेर सतर्कता अपनाउन सल्लाह दिएका थिए । (दिनेश राज पन्त, पूर्णिमा-५५, पृ.३६-३७)

एन्जेलोका अनुसार बहादुर शाह भोक नलाग्ने, दिसा खुलेर नआउने, अल्छी लाग्ने जस्ता समस्याबाट पीडित थिए । ती समस्या समाधानका लागि पिसाब र खकारको जाँच गर्ने ‘जुलाव’ (रेवद चिनी) खाने सल्लाह दिएका छन् । (दिनेश राज पन्त, पूर्णिमा-५५, पृ.४०-४१)

एन्जेलोले पत्रमा उल्लेख गरेअनुसार बहादुर शाहलाई ‘मानसिक समस्या’ पनि थियो । उनी निकै ‘उदास’ देखिन्थे । उदासीपन हटाउन जंगलमा शिकार खेल्न जानू जसले शरीरमा स्फूर्ति आउँछ भनी उनले सल्लाह दिएका छन् । शरीरमा बल पैदा गर्न केशर, परेवाको मासु र अन्य जडीबुटी खान पनि सुझाएका छन् ।

बादुर शाह बेतियामा बस्दा आफूलाई ‘घटिया बेथा’ लागेको भनी नेपाल दरबारमा पत्रचार गरेका थिए ।

बहादुर शाह बेतिया बस्दा बिरामी परेकाले काठमाडौबाट भतिजा रणबहादुर शाहले वि.सं. १८४० तिर उपचारमा सहयोग पुगोस् भनी आयुर्वेदिक औषधिसहित बल्लभ वैद्यलाई बेतिया पठाएका थिए। (शमशेर बहादुर थापा, नायक बहादुर शाहको प्रमाणित इतिहास-२०७७, पृ.२९९)

पछिल्लो पटक बहादुर शाह जीवनदेखि निरास भइसकेको आभास मिल्छ । उनले भतिज राजा रणबहादुर शाहलाई पठाएको अन्तिम पत्रमा लेखेका छन्, ‘मैले सबै भोगिसकें।अब मलाई धेरै बाँच्ने आश पनि छैन। म जस्तो छु, त्यस्तै ठिक छु । मलाई केही चाहिन्न । राजाले गरेको काममा मेरो केही भन्नु छैन।’ (भद्ररत्न वज्रचार्य, कान्तिपुर जेठ २९, २०७३)

वि.सं.१८५४ मा जेलबाट राजा रणबहादुर शाहलाई लेखेको पत्रमा ‘यहाँ (जेलमा) बस्न कुनै गाह्रो मानेको छैन, ताहाँ (दरबारमा)आउन गाह्रो लागिरहेछ, मलाई त यहाँ बस्नु बढिया छ।’ भनी उल्लेख गरेका छन्।(ज्ञानमणि नेपाल, प्राचीन नेपाल- ८३, पृ.१६)

देवर बहादुर शाह र भाउजू राजेन्द्र लक्ष्मी साथै भतिजा रणबहादुर शाहका बीच कहिल्लै मेल र हार्दिकता रहन सकेन । बहादुर शाह नेपाल एकीकरणका एक नायक भएर पनि दरबारको आन्तरिक द्वन्द, गृहकलहका कारण पीडित भए ।

उनलाई पटक-पटक निर्वासित हुन बाध्य पारियो । जेल हालियो । कायलनाममा सही गराइयो । आर्थिक अपचलन र वैदेशिक सम्बन्धमा विचलन ल्याएको गम्भीर आरोप लगाइयो । श्रीमतीका बारेमा अफवाह फैलाएर वदनाम र अपमानित गरियो ।

यी सबै कारणले बहादुर शाह पनि एक मानिस भएकोले मानसिक दबाबमा पर्नु र ‘उदास’ देखिनु कुनै अनौठो कुरा थिएन । उनी मानसिक समस्यामा रहेका बेला राज्यको तर्फबाट उपचार गर्नुको सट्टा जेलमा राखेर षडयन्त्रमूलक किसिमले हत्या गरियो । म‍ुलुकमा थिति बसाउन खोज्दा सर्वत्र आलोचित हुनपुगे ।

यी आदि कारणका बीच वि.सं. १८५४ आषाढ १५ गते औंसीको अध्यारो रातमा काठमाडौ भीमसेन स्थानमा रहेको ‘पाहुना घर’ भनिने जेलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका असल उत्तराधिकारी बहादुर शाहले ४० वर्षकै उमेरमा संसार छाडे ।

भोलिपल्ट उज्यालो नहुँदै पटुकाको पासोमा दलिनमा झुण्डिएको अवस्थामा उनको लास देखियो भनी बहादुर शाहले ‘आत्महत्या’ गरेको घोषणा गरियो । (ज्ञानमणी नेपाल, नेपाल महाभारत, २०५२, पृ.३६)

नेपाल एकीकरणका होनहार योद्धालाई जेलभित्र राजा रणबहादुरको निर्देशनमा शरीरमा तातो तेल खन्याएर मारिएको र आत्महत्याको नक्कली आरोप लगाइयो । उनको मृत्युको कारणबारे विदेशी मित्र राष्ट्रलाई पनि फरक-फरक विवरण पठाइयो ।

चीनलाई ‘बिरामी पर्दा जेलबाट निकाली औषधोपचार गर्दागर्दै केही नलागी दैवइच्छा त्यस्तै हुँदा कालगतिले परलोक भए’ भनियो । इष्ट ईन्डिया कम्पनीलाई ‘सिकिस्त बिरामी परेकाले’ मृत्यु भएको विवरण पठाइयो ।(ज्ञानमणी नेपाल, प्राचीन नेपाल, ८३, पृ.९)

षडयन्त्रमूलक तरिकाले मृत्यु भइसकेपछि उनको शवलाई हतार हतारमा उज्यालो नहुँदै सामान्य किसिमले पशुपति आर्यघाटमा जलाए । राजकुमार बहादुर शाह जस्ता सच्चा देशभक्त र नेपाल एकीकरणका एक नाययकलाई राजकीय सम्मान पनि दिएनन् ।

बहादुर शाह
डा. झलक गौतम
लेखक
डा. झलक गौतम
जनस्वास्थ्यविद्

डा. गौतम स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा राष्ट्रिय खोप कार्यक्रमका पूर्वप्रमुख हुन् । उनले जनस्वास्थ विषयमा स्नातकोत्तर गरेका छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १३९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर