Comments Add Comment

बर्माको दशैं : रातो टीका लगाउने बढ्न थाले

म्यान्माका कुनै पनि मन्दिरमा पशुबली गरिँदैन

यतिखेर म बर्मा देशको राजधानी याङ्गुनमा बनाइएको निजी अपार्टमेन्टको चौथो तल्लाबाट दशैं निहारिरहेको छु । योबेला आफूले गुमाइसकेका बा-आमाका ती पावन अनुहार सम्झनामा आइरहेका छन् । जसले यो मनलाई भावातिरेक बनाइरहेका छन् ।

नेपाल बाहिर संसारका कुना-कुनामा रहेका नेपालीहरु दशैं कसरी मनाउँछन् म जान्दिनँ । म्यान्माली नेपालीहरु भने दशैं र तिहारलाई खानपिन साथै नाचगान आदिका साथ अरु अरु पर्वभन्दा विशेष रूपले सम्पादन गर्दछन् ।

नेपालीहरुको एउटा मायालाग्दो बानी के छ भने उनीहरु देश छाडेर प्रवाशिँदा पनि जन्मभूमिको माया, ममता र जीवनशैली छातीभरि बोकेर गएका हुन्छन् र प्रवासमा पनि त्यही भावना र संवेदनामा त्यही जीवन शैलीमा जिउन रूचाउँछन् ।

यद्यपि प्रवासी जीवनमा आफूले लगेका कतिपय कुराहरुमा सम्झौता र आवश्यक परिवर्तन गर्नुपर्ने बाध्यता नहुने होइन । तापनि उनीहरुभित्र रहेको नेपालीपन हराउन भने पुस्ता-पुस्ता लाग्दो रहेछ । त्यसको प्रमाणमा म म्यान्माली नेपालीहरुलाई नै अघि सार्दछु ।

बर्मा गए कर्मसँगै । यो हजुरबाका पालाबाटै सुन्दै आएको उखान हो । यो उखान कहिले बन्यो, किटान गरेर भन्न सकिने कुरा होइन । यो उखान बनेपछि पृथ्वीले आफ्ना केन्द्रमा कति फन्का घुमिसकिन् ? कोशी र ऐरावतीहरुले कति पानी समुद्रमा हुरेलिसके ? यस उखानले भनेको बर्मा पनि म्यान्मार भइसक्दा सन्सारले कति काँचुली फेरिसक्यो ? बिरान जंगलहरु शहरमा परिणत भए । पहाड चिरिए, नदी बाँधिए । पहिलेका झुपडपट्टीका ठाउँमा गगनचुम्बी महल ठडिए । हुलाकेले बोकेर कोसौं टाढा पुगेर चिठी बाँडने युगबाट स्मार्टफोन र इन्टरनेटमा पुग्दा संसारै एउटा सानो गाउँजस्तै भइसक्यो ।

गत शताब्दीसम्म मान्छेले सपनामा पनि सोच्न नसकेको कुरा आज विपनामा आइसकेको छ । र, पनि यस उखानले म्यान्मालीलाई अझै छाडेको छैन ।

केही वर्ष मुग्लानमा कमाएर मुलुक र्फकने अठोटले बर्मा छिरेका पूर्खाका सन्तानहरु कर्मकै खेलले आज पाँचौं र छैठौं पुस्तामा हिँड्दैछन् । भनौं भने बर्माका ९० प्रतिशत नेपालीले नेपालको माटो कुल्चिनु त के, नेपालको अनुहार पनि देखेका छैनन् । तर, पूर्खाहरुले ल्याएको भाषा, पहिरन, तीज, दशैं, तिहार आदि सांस्कृतिक पर्वहरुलाई भने उस्तै विधि विधानका साथ उल्लासपूर्वक थामेर ल्याएका छन् ।

उक्त उखानको रचना गर्नेले कर्मलाई कुन अर्थमा लिएका थिए कुन्नि, यहाँ कर्म शब्दले म्यान्मालीहरुका पुरुषार्थ र भाग्य दुबैतिर हानेको छ । त्यसले अझै छाडेकै छैन ।
सामान्य केही परिवर्तन बाहेक म्यान्मालीहरुले दशैंलाई उसैगरी मनाउँछन्, जसरी नेपालमा मनाइन्छ । सन् १८८६ बाट धेरै नेपालीहरु बर्मा छिरेका थिए र उसै बेलादेखि उनीहरुले आफ्ना दशैं तिहारहरु मनाएर आए ।

पहिले-पहिले सक्नेहरुले घरघरैमा घटस्थापना गरेर जमरा राख्ने र चण्डीपाठ गर्ने गर्दथे । अचेल त्यो कुरा सामूहिक रूपमा मन्दिरमा हुन लागेको छ । म्यान्मारमा नेपालीहरुले निर्माण गरेका सैकडौं मन्दिरहरु छन् । प्रायः सबै मन्दिरमा पञ्चायन देवताका साथै राम, कृष्ण, बुद्ध आदिका प्रतिमाहरु पनि स्थापन गरिएका हुन्छन् । पुजारी राखेर नित्य पूजा गरिने सबै मन्दिरमा दशैंका बेला विधिपूर्वक घटस्थापना गरिन्छ र शास्त्रोक्त विधिले पूजापाठ इत्यादि गरिन्छ । ता पनि दशैंको महोत्सव भने प्रायः देवीमन्दिरहरुमा नै आयोजन गरिन्छ । पूणर्ाहुती अर्थात नवरात्रको समापन नवमीकै दिन गरिन्छ ।

म्यान्माका हवनादि कार्य वा पूणर्ाहुतीमा महिलाहरुले पनि पुरुषसरह बराबर भाग लिन पाउँछन् । जगन्माताको पूजा गर्दा घरका माताहरुले छुन नहुने भन्ने अन्धविश्वासको थोत्रो परखाल ढलेको धेरै भयो म्यान्मामा । विधिपूर्वक घटस्थापना गरी नित्य पाठपूजा भजन कीर्तनका साथ माता जगदम्बाको सात्विक आराधना गरिन्छ त्यहाँ । सात्विक भन्नाले पशुबली रहित ।

म्यान्माका कुनै पनि मन्दिरमा पशुबली गरिँदैन । भनौं नै भने मंगलकार्य हुनाले बिहेमा समेत खसी काटेर खुवाउन छाडिसके म्यान्मालीहरुले । कालरात्रिको पूजामा पनि पशुको सट्टामा कुष्मान्ड बली अथवा नरीवल फोरेर विधि पूरा गरिन्छ ।

आजभन्दा ५०/५५ वर्ष अघिसम्म कतिपय ठाउँमा पशुबली दिने प्रथा थियो रे । तर, यस निष्ठुरी परम्परालाई अनुचित ठहराई म्यान्माली नेपाली समाजले औपचारिक रूपमा मन्दिरमा पशुबली निषेध गरेको छ । यसको मतलब, सबै निरामिष भए भन्ने होइन ।

चराले जति माथि उडे पनि बास बस्न धर्तीमैं ओर्लनुपर्छ । त्यसैगरी जुनसुकै सफलता र समृद्धि हासिल गरे पनि शान्ति चाहने मान्छेले आखिर परम सत्ताको शरणमा गएर आध्यात्मिक साधन गर्नुमा कुनै विकल्प छैन । शायद त्यसैले होला, मोगोक च्यापिन र माण्डलेका मन्दिरहरुमा घटस्थापनाकै दिनबाट शीर मुडाएर नवरात्रभर श्वेताम्बर धारण गरेर मन्दिरमै व्रत बस्नेहरुको रहरलाग्दो जमात देखिन्छ ।

कतिपय ठाउँमा महिलाहरुको जमात पनि नवरात्रको व्रत लिई मन्दिरमा बसेका हुन्छन् । व्रतीहरुको त्यो जमात आफ्ना मन्दिरको नियमित पूजापाठपछि मोटरमा चढेर अरु जुन-जुन मन्दिरमा नवरात्रको उत्सव छ, त्यहाँ-त्यहाँ गएर समय मिलेजति भजन कीर्तन गरेर साँझसम्म आफ्नै मन्दिरमा र्फकन्छन् ।

यो क्रम नवरात्र भर रहने हुँदा वातावरण निकै रमाइलो हुन्छ । कतिपय मन्दिरहरुमा नवरात्रभर देवीभागवत महापुराणको कथा अनुष्ठान पनि रहेको हुन्छ ।

दशैं केवल रमाइलोका लागिजस्तै लाग्थ्यो पहिले । अहिले साधनापरक पनि लाग्न थालेको छ । उसबेला नयाँ लुगा, दही चउरा, खसिको मासु, जमरा र निधारभरिको टीका, दक्षिणा पिङ एवं नाटकहरुले मगोरञ्जन गरिन्थ्यो । घर-घरै सेलरोटी, ठोकने र फिनीहरु पाक्थे । जाँगर हुनेहरुले अहिले पनि ती यावत कुरा गर्दैछन् । तर, नयाँ युगको पिसाइले ती धेरै कुरामा शिथिलता आए पनि दशैंको टीका र जमरामा अटूट आस्था भने छँदैछ ।

यद्यपि टाढाबाट आउनेहरुलाई पूणिर्मासम्म टीका लाइदिने चलन छ । तापनि ९८.५ प्रतिशत म्यान्मालीहरु दशैंकै दिनको टीकालाई बढी महत्व दिन्छन् ।

टीकाअघि दही, अक्षता र भेटीसहित कूलदेवतालाई चढाएर परिवारको श्रेष्ठ व्यक्तिले घरको मूलखाँबो अथवा पूजाकक्षको माथिल्लो भित्तामा राजाका नाममा टीका लगाइसकेपछि मात्र अरुलाई टीका लगाइदिने चलन थियो पहिले । हाम्रो परिवारमा त्यो प्रथा अझै कायम छ । अन्यत्र के हुँदैछ, थाहा छैन ।

दशैंमा रातो टीका र जमरा लगाउने चलन नेपालमा भए पनि म्यान्मामा अझै व्यापक हुन सकेको छैन । कर्मसँगै बर्मा छिर्ने पूर्खाहरुले दही अक्षताको नै परम्परा चलाएका थिए यहाँ ।

पच्चीस वर्ष अघिसम्म दशैंमा रातोटीका लाउनेहरु विरलै देखिन्थे म्यान्मामा । अचेल नेपालतिर जाने-आउने अलि बाक्लिएकाले रातो टीका लाउनेहरु पनि बाक्लिँदै आएका छन् ।

त्यसो त सेतो अक्षता लाउनेहरु पनि बाक्लै देखिँदैछन् । रंगाउने रहर भए पनि म्यान्माको मार्केटमा अक्षता रंगाउने रातो रंग नै पाइन्न । कपडा रंगाउने रंगले लुगाहरु बिगि्रने डर हुँदा धेरैले त्यो चलाउँदैनन् । सिन्दूर र सिमि्रकले रंगाउँदा त्यति राम्रो रंग आउँदैन ।

म्यान्माका माण्डले आदि कतिपय मन्दिरमा बंगालीहरुका झंै माटोले बनाएको दुर्गाको नयाँ प्रतिमा शास्त्रोक्त विधिले स्थापन गरी नौ रात्रभर पूजा गरेर दशमीका दिन बाजागाजाका साथ उत्सब मनाउँदै ऐरावती नदीमा लगेर मूर्ति बिसर्जन गरिन्छ । त्यसका निम्ति हिन्दू सेन्ट्रल बोर्डका अधिकारीहरुले स्थानीय प्रशासनसँग कुरा मिलाएर समय र व्यवस्थापन गरेका हुन्छन् ।

माण्डले वरिपरिका हिन्दू समाज, मनीपूरी समाज र नेपाली समाजका मन्दिरहरुबाट विसर्जन गर्न ल्याइएका पचासौं मूर्तिहरु र भक्तहरुको भीडले माण्डले गंगा घाटको मन्दिर अधि त्यसदिन हेर्न लायकको तमासा हुन्छ । दर्जनौं ट्राफिक पुलिसहरु खटिएका हुन्छन् । नयाँ मूर्ति नहुनेहरुले पनि नवरात्रमा चढाएको फूलपाती भेला गरेर त्यसै दिन नदीमा लगेर विसर्जन गर्छन् ।

म मान्माको राजाधानीबाट अझै पनि त्यो पहाडी गाउँ सम्भिmरहेको छु, जहाँ मेरा बाले मलाई नेपाल यस्तो छ, उस्तो छ भनेर सुनाइरहनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment