Comments Add Comment

मजदुरको दसैं: बनिबुतो गरेर टार्ने 

‘दसैं नै हो कि, यो मेरो दशा’

‘दसैं आयो ढोल बजाई, दसैं गयो ऋण बोकाई’

दसैंले सर्वत्र उमंग मात्र ल्याउँदैन, कतिपयलाई संकटमा समेत पारिदिन्छ । किनभने दसैं एक खर्चिलो पर्व हो । बालबच्चालाई लुगाफाटो किनिदिनुपर्ने, पाहुनापातलाई मिठो मसिनो ख्वाउनुपर्ने, दक्षिणाको जोहो गर्नुपर्ने जस्ता अनेकौ कारणले यो पर्वले धेरैको ढाँड सेक्ने गर्छ । खासगरी विपन्न वर्गका लागि दसैं टार्नु निकै मुश्किल हुन्छ ।

खासगरी मजदुरी गरेर, दुई–चार पैसा जोहो गर्नेहरुलाई दसैंले ऋण बोकाएर जान्छ ।

हुन त यतिबेला नेपाली समाजमा दसैंको रंग चढिसकेको छ । सर्वत्र उत्साह र उमंगको मेला लाग्दैछ । जबकि श्रमजीविहरु अहिले पनि पसिना चुहाइरहेका छन् । आखिर उनीहरुको दसैं कसरी बित्छ ?

अनि आउँछ हाम्रो दसैं

बुधबार असनको अन्नपूर्ण मन्दिरको छेवैमा यात्रु कुरिरहेका शम्भु श्रेष्ठलाई श्रीमतीले घर रंग्याएर उनकै प्रतीक्षा गरिरहेकी छिन् । बृद्ध बुबाआमाले पनि उनकै बाटो हरेर बसिसकेका छन् । श्रेष्ठ भन्छन्, ‘बुबाआमालाई फोन गरेर दसैंको तयारी कस्तो छ ? भन्दा पहिला तँ आईज अनि आउँछ हाम्रो दसैंं भन्नुहुन्छ ।’

उमेरले त उनी आफैं पनि बृद्ध भईसकेका छन् । तर, बाबुआमाको आशीर्वाद, श्रीमतीको माया र छोराछोरीको प्रगतिले उनलाई बुढेशकालमा पनि असनको व्यस्त सडकमा रिक्सा चलाउने स्फुर्ती दिएको छ । उनीहरुकै खुशीका लागि नै श्रेष्ठ अझैं पनि तीनपांग्रेमा संघर्ष गर्दैछन् ।

नेपालीहरुको महान पर्व विजयादशमीको औपचारिक सुरुवात भईसकेको छ । घटस्थापनाको दिनदेखि सुरु भएको दसैंमा घरजानेहरुको लर्काे पनि चलिरहेको छ । श्रेष्ठपनि फूलपातीको दिन घर जाने तयारीमा छन् । श्रेष्ठलाई यो दसैंमा पनि अरु दसैंमा जस्तै घरमा ८४ गरिसकेका बाबु–आमाको खुशी देख्नुछ । साथमा छोराछोरीलाई अरुको छोराछोरीमा सरह नयाँ कपडा लगाउँदाको मुस्कान देख्नुछ । त्यसको लागि उनले चाहिने खर्चको जोहो पनि गरिसकेका छन् । उनले दसैंको लागि किनमेल पनि गरिसके । समग्रमा भन्नुपर्दा उनले एक हिसाबले दसैं भित्र्याईसकेका छन् ।

उमेरले श्रेष्ठ ५८ वर्षका भए । ५८ वर्षे उमेरमा उनलाई ३ पुस्ताको मायाको लागि असनको व्यस्त गल्लीमा झण्झटिलो रिक्सा गुडाउने काम गर्नु परेपनि उनमा कुनै चिन्ता लागेको छैन । यो तीन पांग्रेको संघर्ष उनले अरु कसैको लागि नभएर मात्रै यही तीन पुस्ताको खुशीको लागि गरिरहेका हुन् ।

उनको घरमा एक छोरा र एक छोरीहरु छन् । उनीहरुलाई पनि श्रेष्ठले राम्रै स्कुलमा पढाएका छन् । साथमा ८७ वर्षे बुबा र ८५ वर्षे आमा हुनुहुन्छ । साथमा श्रीमती सहित घरमा कूल ६ जनाको परिवार छ । श्रेष्ठका ६ जना दाजुभाइ छन् । सबैं छुट्टाभिन्न भईसकेका । जसमध्ये श्रेष्ठ कान्छा हुन् । कोही दाजुहरु विदेशमा छन् । कोही नेपालमै भएपनि आफ्नै सुरमा छन् । तर, दसैंमा अष्टमीको दिन भने आमाबुबा भएको हिसाबले उनकै घरमा नेपालमा भएका दाजुभाइहरु भेला हुने गर्दछन् ।

यो वर्षको दसैंंमा २५/३० हजार जति खर्च लाग्ने उनको अनुमान छ । आफ्नो संस्कृति अनुसार अष्टमीको दिन हुने भब्य भोजमा धेरै खर्च लाग्छ । दसैंका लागि छोरा, छोरी, आमा, बुबा र श्रीमतीको लागि पनि उनले कपडा किनिसकेका छन् । टिकट काट्न जाने समय नै नभएर टिकट काटेका छैनन् । तर, फूलपातीको दिन बसको गल्लीमा नै बसेर भएपनि घर जाने तयारी रहेको उनले सुनाए ।

आम्दानीको कुरा गर्दा उनले रिक्सा चलाएर नै दैनिक एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । रिक्सा आफ्नै भएका कारण उनले रिक्साको भाडा तिर्नुपर्दैन । रिक्सा बनाउने खर्च लाग्छ । पहिले उनी असनमा नै कपडा पसलमा काम गर्थे । उनले त्यही बेला थोरै पैसाको जोहो गरेका थिए । त्यसले गर्दा मलाई अहिले नियमित भाडा तिर्नुपर्दैन । साहुको रिक्सा ठेक्कामा चलाउने हो भने त दैनिक ५ सय जति भाडा तिर्नुपर्छ ।

उनी भन्छन्, ‘म बिहान ६ बजे उठेर काममा आउँछु । खाना बाहिर नै खाने गरेको छु । बेलुका ७ बजेसम्म काम गर्ने गरेको छु । जनजातिको छोरा हुँ । रक्सी त हामीहरुको संस्कार भित्रै पर्छ । फेरि दिनभरी काम गर्दा शरीर नथाकोस् भनेर बेलुका एक प्याक रक्सी खाने गरेको छु । कमाएको पैसा सबै सक्ने गरी जतिबेला पनि खाने गरेको छैन । बेलुका एक प्याक लगाएर सुत्ने गरेको छु । दसैंंमा चाहिँ मासु र रक्सी धेरै नै खाने गरिएको छ ।’

पैसा नहुँदा दु:खै दु:ख

असनकै त्यो ब्यस्त सडकमा रिक्सा चलाएर आफ्नो गुजारा चलाउने अर्का पात्र हुन्, नारायण ढुंगाना । उनी झण्डै तीन वर्ष अघिदेखि असन क्षेत्रमा नै रिक्सा चलाउँदै आएका छन् । तर, उनले आजसम्म पनि एक रुपैयाँ बचत गर्न नसकेको गुनासो गरे ।

‘जाँडरक्सी पनि खाँदिन, जुवातास पनि खेल्दिन । मैले दुख गरेको पैसा त त्यसै खान लगाउनमा नै खर्च हुने गरेको छ ।’ उनले भने ‘पैसा नहुँदा घरपरिवारकाले पनि रिस मात्रै गर्दा रहेछन् । अति भएपछि मैले त घरमा फोन गर्न पनि छाडिदिएँ ।’

ढुंगानाको घर काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका हो । उनी काठमाडौं आएको पनि त्यस्तै साढे ३ वर्षजति भयो । उनी दैनिक ५ सयदेखि ८ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन् । ‘त्यति पैसा त लाउँदा खाँदा नै सकिने गर्छ । घरमा कसरी पठाउनु ?’ उनले उनी असन पछाडि नै हेमबहाल भन्ने ठाउँमा आफ्नै कोठा लिएर बसेका छन् ।

उनलाई दसैंको उत्साह खासै छैन । घरमा हुँदा त टीकाटालो गरिन्थ्यो । यो वर्ष त दिनभरी सुतेर बित्ला । यात्रु पाए टीकाकै दिन पनि रिक्सा चलाउने हो । मान्छे नपाए सुतेर बस्ने । टीकाको दिन एक पटक घरमा फोन त गर्ने योजना उनको छ । तर, साउन महिनादेखि घरमा खासै कुराकानी भएको छैन । उनकी आमा घरमा नै छिन् । बुबा छैनन् । श्रीमती र आमाहरु मिलेर घरमा खेतीपाती गर्ने गरेका छन् । घरमा खेती गरेर गुजारा चलाउन नसकेपछि काठमाडौं छिरेको उनी सुनाउँछन् ।

‘म रक्सी त खाने गरेको छैन । तर, पैसा पनि जोगिँदैन । दसैंको खासै उत्साह छैन उनलाई ।’ उनी भन्छन् ‘खल्तीमा पैसा भएमात्रै रैछ पर्वको पनि महत्व र उत्साह बढ्ने । खै हामीलाई त त्यस्तो केही पनि छैन । आफ्नो भन्नु यही एउटा रिक्सा छ । यता भनेजस्तो कमाउने सकिँदैन । अर्काेतिर घरबाट त्यस्तै किचकिच हुन्छ । मैले त घरमा फोन नगरेको पनि धेरै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment