Comments Add Comment

घर बनाउँदा झुक्किएर पनि नरोजौं यस्तो वास्तु

कुनैपनि भवन निर्माण गर्नु अघि होस् या त जग्गाको चयन गर्नु अघि पनि वास्तु शास्त्रको सहायता लिनु पर्ने हुन्छ । कुनैपनि भवन निर्माणको क्रममा भूमिको आकृति तयगर्दा सकेसम्म आयाताकार एवं चौकोण आकारलाई उपयुक्त मान्ने गरिएको छ ।

कतै वर्गाकार चौकोण युक्त भूमिको छनोट गर्ने गरिएको छ । तर, आयाताकार भूमिलाई उपयुक्त मान्ने गरिएको छ । यस बाहेक पनि वास्तुशास्त्रले विविध आकार र शैलीको उल्लेख गरेको भएपनि ती शैलीहरुमा घर निर्माण एवं जग्गाको छनोट उत्कृष्ठ मानिएको छैन ।

आयाताकार र चौकोण वर्गाबार बाहे भद्रासन एवं वृत्ताकार भूमिलाई समेत उत्कृष्ठ मानिएको हुन्छ । भूमिको आकारलाई व्याख्या गर्ने क्रममा एउटा श्लोक चर्चित मानिएको छः

आयते सिद्धयः सर्वाश्चतुरस्त्रे धनागमः ।

भद्रासने कृतार्थत्वं वृत्ते पुष्टिविवर्धनम् ।।

माथिको श्लोक वास्तुसौख्य ग्रन्थमा लेखिएको हो । जसको अर्थ हुन्छ आयाताकार भूमि सबै सिद्धिहरुलाई प्रदान गर्ने स्वरुपको हुन्छ । चौकोश भूमि धन प्रदान गर्ने स्वरुपको हुन्छ । भद्रासन भूमि अभिलाषाहरुलाई पूर्ण गराउने स्वरुपको हुन्छ । एवं वृत्ताकार भूमि पुष्टि (हर प्रकारको बृद्धि) प्रदान गर्ने स्वरुपको हुन्छ ।

यसको अतिरिक्त भूमिको आकृतिहरु चक्राकार, विषम-बाहु, त्रिकोण, शकटाकृति, दण्ड, पणवाकृति, मुरज, बृहन्मुख, व्यञ्जन, कूर्मपृष्ठ, धनुषाकृति एवं सर्वाकृतिको हुने गर्दछ । यी सबै आकृतिहरु त्याज्य आकृतिहरु हुन् । यस्तो आकृतिमा घर बनाउँदा विभिन्न किसिमका कष्टहरुको सामना गर्नुपर्ने हुन्छ ।

माथि उल्लेख गरिएको मध्ये पहिलो चक्राकृतिमा जमिन खरिद गर्दा दारिद्र्य हुने विश्वास गरिन्छ । त्यस्तै, सबै भुजाहरु असमान रहेको विषम बाहुक आकृतिमा खरिद गर्दा सो घरमा शोक उत्पन्न भईरहने वास्तुशास्त्रमा उल्लेख छ ।

गृहवास्तुप्रदीप नामक शास्त्रका अनुसार त्रिकोणात्मक आकारमा राजभय हुने, शकटाकारमा धनको नाश हुने, दण्डाकार शैलीले पशुको नाश हुने, पणवाकार शैलीमा धन-क्षय हुने, मुरजाकार शैलीमा पत्नी नाश हुने, अगाडि तर्फको भाग चौडा हुने बृहन्मुखाकार शैलीमा बन्धु नाश हुने, व्यजनाकार शैली (पङ्खाको आकार)मा धन नाश हुने, कूर्माकार शैलीमा बन्धन एवं पीडा धेरै हुने, सर्पाकार शैलीले धन नाश हुने र धनुषाकार शैलीमा जमिन खरिद गर्दा चोरीको भय बढी हुने देखिन्छ । त्यसैले आफ्नो कल्याणको कामना गर्ने मानिसले आयाताकार, चौकोर, वृत्ताकार एवं भद्रासन भूमिलाई नै चयन गर्नुपर्छ ।

अर्कोतर्फ भूमिको चयन गर्ने समयमा  यसको रंग अनुसार पनि भिन्न भिन्न फल प्राप्त हुने गर्दछ । वास्तुप्रवोध नामक शास्त्रमा यसको बारेमा पनि देखिएको छ । त्यसमा भनिएको छ :

श्वेता शस्ता दि्वजेन्द्राणां रक्ता भूमिर्महीभूजाम् ।

विशां पीता त शूद्राणां कृष्णन्येषां विमिश्रतिा ।।

अर्थात्, भूमिको माटोलाई रंगको आधारमा पनि शुभ वा अशुभ मान्ने गरिएको छ । कस्तो रंगको भूमि कस्तो रंगको मानिसको लागि उपयुक्त हुन्छ भन्ने विषयमा समेत वास्तुशास्त्रले उल्लेख गर्ने गरेको छ । जस अनुसार श्वेत रंगको भूमि ब्राहृमणको लागि, रातो रंगको भूमि क्षत्रीयहरुको लागि, पहेँलो रंगको भूमि वैश्यको लागि, तथा कालो रंगको भूमि शूद्रहरुको लागि अनुकूल हुन्छ ।

त्यस्तै, गन्धको आधारमा पनि वास्तुशास्त्रले भूमिलाई उपयुक्त र अनुपयोक्त बताउने गरेको छ । वास्तु रत्नावलीले गन्धको आधारमा भूमिको व्याख्या गरेको छ । जसमा भनिएको छः

घृतासृगन्नमद्यानां गन्धाश्च क्रमतः शुभाः ।

विप्रक्षत्रियविद्शूद्रवातीनां वास्तुभूमिषु ।।

अर्थात्, घिउको गन्धवाला भूमि ब्राहृमणको लागि, रक्तको गन्धवाला भूमि क्षत्रीयहरुको लागि, अन्नको गन्धवाला भूमि वैश्यको लागि र मद्यको गन्धवाला भूमि शूद्रको लागि उपयुक्त हुने मानिएकोछ । यहाँ उल्लेख गरिएको वर्ण व्यवस्था पहिले जन्मको आधारमा नभएर कर्मको आधारमा हुने गरेको थियो । कर्मको आधारमा वर्ण व्यवस्था गरिएको थियो । जसमा ब्राहृमणको पुत्र पनि कर्मको आधारमा शूद्र बन्ने व्यवस्था प्राचीन वर्ण व्यवस्थामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment