Comments Add Comment

भारत र चीन नजिक हुँदा खुशी छौं – परराष्ट्रमन्त्री ज्ञवाली

‘बारम्बार भन्दै आएका छौं, हामी कतै ढल्किँदैनौं’

२६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताउँदै यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी बताएका छन् ।

चिनियाँ राष्ट्रपति दुई दिने भ्रमण सकेर स्वदेश फर्केकै दिन आइतबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणबाट म एकदमै खुशी छु । यसलाई मैले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी ठानेको छु ।’

भ्रमणको मिति तीन दिनअघि मात्र घोषणा गरिए पनि आम सर्वसाधारण, मिडिया र सरकारका सबै संयन्त्रहरुले राम्रो सहयोग गरेका कारण भ्रमण सफल बनेको भन्दै मन्त्री ज्ञवालीले सबैप्रति धन्यवाद व्यक्त गरे ।

भ्रमणको मिति छोटो अवधिमा तोकिए पनि दुई देशवीच लामो समयदेखि तयारीहरु भएकाले भ्रमण उपलब्धीपूर्ण बनेको मन्त्री ज्ञवालीले बताए । यो भ्रमणले अन्तरराष्ट्रिय जगतमा नेपालको प्रोफाइल बढेको मन्त्री ज्ञवालीको संश्लेषण छ ।

चिनियाँ राष्ट्रपति भारत हुँदै नेपाल आएको प्रशंग स्मरण गर्दै मन्त्री ज्ञवालीले भारत र चीनवीच निकटता बढ्दा नेपाललाई झनै फाइदा हुने भन्दै यसबाट झनै खुशी लागेको बताए ।

राष्ट्रपति सीको भ्रमणका सन्दर्भमा अनलाइनखबरले मन्त्री ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानी उनकै शब्दमा–

सबैको साथ–सहयोग उत्साहजनक

सबैभन्दा मलाई खुशी लागेको विषय के हो भन्दाखेरि आमरुपमा जनतामा उत्साह, सकारात्मक सोच र साथसहयोग असाध्यै महत्वपूर्ण रह्यो । राज्य संयन्त्र पनि यसचोटि असाध्यै राम्रोसँग परिचालित भयो । किनभने, हामीले जम्मा तीन दिन अगाडिमात्रै भ्रमणको मिति सार्वजनिक गरेका थियौं । तीन दिनको समय भनेको भ्रमणको तयारीका लागि साह्रै कम हो । तर, जे जति गर्न सकियो, मलाई लाग्छ, यो एकदमै प्रशंसनीय छ ।

भित्रका जे–जति चिजहरु छन्, त्यसको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्‍यो । मलाई विश्वास छ, मन्त्रालयको मेरो टीम सक्षम नै छ । तर, अन्य तयारीहरुमा सबै संयन्त्रको सहयोग रह्यो । मिडिया पनि एकदमै पोजेटिभ देखियो यसचोटि चाहिँ । मानिसहरुले स्वतस्फूर्तरुपमा पनि सहभागिता जनाए । पब्लिकको सहभागिता र सहयोग एकदमै उत्साहजनक रह्यो ।

यो भ्रमणमा सहयोग पुर्‍याउनुहुने सबैलाई मैले ट्विटरबाट पनि धन्यवाद दिएको छु । फेरि पनि धन्यवाद भन्न चाहन्छु ।

नयाँ च्याप्टर शुरु भयो

प्रथमतः मैले भन्दै पनि आएको छु, नेपालप्रतिको चासो, सदभाव र विश्वास अन्तरराष्ट्रिय समुदायमा बढ्दो छ । चीन सदैव हाम्रो विश्वासिलो साथी त रहँदै आयो । हामीवीच समस्या पनि केही थिएन । तर, उच्चस्तरीय भ्रमणको आदान–प्रदानमा यत्रो धेरै वर्षसम्म किन लाग्यो त भन्दाखेरि कहीँ न कहीँ हामी आफैं अल्मलिएका थियौं । जतिबेला हाम्रा अलमलहरु सकिए, त्यसपछाडि उताको सहयोग यस ढंगले प्रकट भयो । अरु देशहरुको हकमा पनि यही हो । त्यसैले यो एउटा नेपालप्रतिको आकर्षण र विश्वास हो । यसले नेपालले आर्जन गरेको विश्वसनीयतालाई पुनर्पुष्टि गरेको छ ।

दोस्रो– चीनसँग विकास सामझेदारीको नयाँ चरण प्रारम्भ भयो भन्ने मलाई लाग्छ । किनभने, स्पष्ट शब्दमा राष्ट्रपति सीले केहीकुराहरु भन्नुभो । चाहे त्यो भूजडित बनाउने कुरा होस् चाहे नेपालको मध्यम आय भएको मुलुक बन्ने चाहनालाई सहयोग गर्ने कुरा होस् । चाहे नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनताप्रतिको समर्थनको कुरा होस् । चाहे जलवायु परिवर्तन, पर्यटन, यी सबै कुराहरुमा एकदम प्रष्ट शब्दमा उहाँको प्रतिवद्धता देखियो सहयोगको । यसले गर्दा सहयोगको नयाँ च्याप्टर चाहिँ शुरु भयो भन्ने मलाई लाग्छ ।

लामो गृहकार्यको परिणाम

हुन त चिनियाँहरु र हाम्रो कार्यशैलीमा केही भिन्नता छन् । उनीहरु सबै कुराको अध्ययन गरेर त्यसमा पूर्ण तयारी भइसकेपछि र विश्वस्त भइसकेपछि मात्र बोल्छन् । हाम्रो आफ्नो पार्टचाहिँ पहिला ईच्छा व्यक्त गर्ने कुरा भयो । हाम्रो एकखालको संरचनागत कमजोरी त छँदैछ । तर, पनि यसचोटि हामीले लामो समयदेखि यसमा काम गर्दै आएका थियौं ।

सन् २०१६ को प्रधानमन्त्रीको चीन भ्रमण, फेरि २०१८ को प्रधानमन्त्रीको भ्रमण, त्योभन्दा अगाडि मैले त्यसको तयारी गरेको थिएँ । ‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सन’ मेरो र वाङ यीको छलफलबाट क्वाइन भएको हो । त्यसपछि फेरि लगत्तै राष्ट्रपति चीन जानुभो । त्यसक्रममा भएका कुराहरुलाई फाइनल गर्नका लागि वल्र्ड इकोनोमिक फोरमको छेको पारेर हामीले मिटिङहरु गर्‍यौं । यसरी तयारी हामीले पहिलेदेखि नै गर्दै आएका थियौं । यसले गर्दा पनि हामी धेरै कुराहरुमा निश्कर्षमा पुग्न सक्यौं ।

अब चीन हाम्रो छिमेकी मुलुक मा रहेन, ऊ विश्वको शक्ति राष्ट्र नै भयो । अहिले त संसारका ग्लोबल एजेण्डा सेटिङमा चीन निर्णायक बन्दै आएको अवस्था छ । यस्तो स्थितिमा चनियाँ राष्ट्रपतिको उपस्थिति हुनु भनेको नेपालको प्रोफाइल र भिजिबिलिटी बढ्नु स्वाभाविकै हो ।

अझ हामी त के कुरामा खुशी छौं भन्दाखेरि चीन र भारतका वीचमा इन्गेजमेन्ट बढ्दै गइराखेको छ । संयोग पनि यस्तै पर्‍यो कि चिनियाँ राष्ट्रपति भारतको इन्फर्मल समिटबाट आउनुभयो ।

चीन र भारत नजिकिँदा हामी झन् खुशी छौं

हामीले बारम्बार भन्दै आएका छौं, हामी कतै ढल्किँदैनौं । खाली यो दृष्टिकोण किन बन्छ भन्दाखेरि लामो समयसम्म हामी एकतर्फी निर्भरतामा रह्यौं । अहिले हामीले त्यो एकतर्फी निर्भरतालाई पारस्परिक अन्तरनिर्भरतामा रुपान्तरण गर्न खोज्यामात्रै हो ।

अझ हामी त के कुरामा खुशी छौं भन्दाखेरि चीन र भारतका वीचमा इन्गेजमेन्ट बढ्दै गइराखेको छ । संयोग पनि यस्तै पर्‍यो कि चिनियाँ राष्ट्रपति भारतको इन्फर्मल समिटबाट आउनुभयो । कहीँ न कहीँ उहाँहरुले यस क्षेत्रका बारेमा पनि केही न केही कुरा गर्नुभयो होला । यसबाट क्षेत्रीय सहकार्यको वातावरण बन्दै गरेको जस्तो हामीलाई लागेको छ । यो हाम्रा लागि धेरै राम्रो कुरा हो ।

सधैंभरि एउटा आँखाले, एकखालको चश्माले हेरिरहेकाहरुका लागि चाहिँ अस्वाभाविक लाग्न सक्छ । एकपक्षीय निर्भरतालाई नै स्वाभाविक मानिरहेकाहरुका लागि यसबाट अलिकति हलचल हुँदाखेरि अर्कोतिर गएजस्तो लाग्न सक्छ । तर, यसमा हामीसँग कुनै पनि दुविधा छैन । हाम्रा लागि भारतको सहयोग उत्तिकै महत्वपूर्ण छ । हामी आफ्नो छिमेकीको विकल्प खोज्दैनौं ।

चीन पनि हाम्रो उत्तिकै मित्र हो । तर, यसभन्दा अगाडिसम्म चीनसँगका सम्बन्धहरु अलि बढी औपचारिकतामा सीमित थिए । छलफलको लेबल अलिकति पातलो थियो । र चीनको विकाससँग जोडिन चाहिँ हामीले धेरै ढीलो गरेकै हौं । त्यो ढीलो भएको कुरालाई अहिले हामीले ‘एक्टिभेट’ गरेका मात्र हौं । त्यसैले यसलाई अर्को ढंगले हेरिरहनुपर्ने केही पनि जरुरी छैन ।

तर, शक्तिराष्ट्रहरुका आफ्ना आफ्ना हेराइहरु हुन्छन् । त्यसमा सकभर आफ्नो हितको अथवा आफ्नो एजेण्डाको सहयोगी बनिदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविकै होला । तर, त्यसप्रति हामी एकदमै सजग छौं ।

हामीले प्रष्ट भनेका छौं, हामी कसैका विरुद्ध जाने गरी कुनै एलाइन्स गर्दैनौं । कसैको आँखाले पनि कसैलाई हेर्दैनौं । हाम्रा सम्बन्धहरुलाई स्वतन्त्र ढंगले हामी विश्लेषण गर्छौं र स्वतन्त्र ढंगले नै अगाडि लैजान्छौं ।

यो भ्रमणबाट म एकदमै खुशी छु । यसलाई मैले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी ठानेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment