Comments Add Comment

दशैंको बेला बढी भाडा असुल्ने १७ वटा गाडी कारबाहीमा

Photo Credit : फाइल तस्वीर

२७ असोज, काठमाडौं । दशैंको बेला यात्रुहरुबाट मनलाग्दी भाडा असुल्ने १७ वटा सवारी साधनलाई प्रदेश २ ट्राफिक प्रहरीले कारबाही गरेको छ । तोकिएभन्दा बढी भाडा लिने गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालय, पथलैया र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् ।

यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय सिरहा र महोत्तरीले पाँच–पाँचवटा तथा जिल्ला ट्राफिक कार्यालय पर्साले चारवटा सवारी साधनलाई कारबाही गरेका छन् । यस्तै जिल्ला ट्राफिक कार्यालय सर्लाहीले दुईवटा र प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले एउटा टाटा सुमोलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश २ ट्राफिक कार्यालयले ना १ ज ७४५६ नम्बरको टाटा सुमो नियन्त्रणमा लिइएको र कारबाहीको लागि यातायात कार्यालयमा पठाइने जनाएको छ ।

यस्तै पर्साबाट कारबाहीमा परेका ना १ ज ३९७ र ४१२५ नम्बरका गाडीलाई जिल्ला ट्राफिक कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । ती गाडीका १८ जना यात्रुलाई ८ हजार १ सय रुपैयाँ भाडा पनि फिर्ता गराइएको छ ।

सिरहाले १२ जना यात्रुबाट बढी भाडा फिर्ता गराएको छ भने कारबाहीमा परेका पाँच वटा सवारी साधनबाट पाँच हजार जरिवाना गराएको छ ।

यस्तै सर्लाहीबाट कारबाहीमा परेका दुई वटा गाडीका तीन जना यात्रुको बढी भाडा फिर्ता गराइएको र ती सवारी साधनका धनीलाई २ हजार रुपैयाँ जरिवाना गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment