+
+
Shares

मुस्कान खातुनको मुस्कान खोस्नेहरुलाई अदालतमा पेश गर्ने तयारी

सुरेश बिडारी सुरेश बिडारी
२०७६ असोज २७ गते १२:४२

२७ असोज, वीरगञ्ज । वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुन माथि एसिड प्रहार गर्ने दुई युवकलाई प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ । उनी माथि एसिड प्रहार भएको ३८ दिन बितिसकेको छ । कानुनतः अभियुक्तलाई २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाउने भएपछि प्रहरी दबावमा छ । दशैं विदाका कारण अदातल मंगलबारबाट मात्रै खुल्दैछ ।


प्रहरीले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको बयान लिइसकेको छ । एसिड प्रहार गर्नेहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८३ (ज्यान मार्ने उद्योग) र १९३ (तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने) मुद्धा दर्ता गरिंदैछ ।

जसमा दफा १३८ को उपदफा २ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरीवाना, १९३ को उपदफा २ बमोजिम ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाख जरीवाना र सोही दफाको उपदफा ३ बमोजिम जरीवाना वापत प्राप्त हुने पुरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने माग गरिएको छ ।


अधिकतम सजायको माग दाबीसहित सक्कली मिसिल कागजात, प्रतिवादीहरु, रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘घटना भएकै दिन दुवै अभियुक्तलाई हामीले पक्राउ गर्न सफल भएका थियौं, नारायणी अस्पतालले दिएको प्रारम्भीक रिपोर्ट हामीसँग छ,’ उनले भने,  ‘पिडित मुस्कान खातुनको बयान भयो भने मुद्धा बलियो हुन्छ भनेर चिकित्सकसँगको परामर्श पछि स्थानीय प्रहरीसँगको समन्वयमा बयान लिइसकेका छौं । मुद्धा सरकारी वकिलमा बुझाईसकेका छौं । सम्भवतः मंगलबार मुद्धा अदालतमा पेश हुन्छ ।’
उनले कीर्तिपुर अस्पतालबाट मुस्कानको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्ट माग गरेको तर आइनसकेको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साका अधिवक्ता रुद्र पन्थिले एसिड आक्रणकारीलाई मंगलबार अदालतमा पेश गर्ने जानकारी दिए । ‘असोज १२ गते नै कागजपत्र हामीकहाँ आएको हो, अदालत नखुलेका कारण मुद्धा अदालतमा पेश गर्न पाईएको छैन,’ उनले भने, ‘अभियोग पत्र तयार गरेर मंगलबार अदालत खुलेपछि मुद्धा पेश गर्ने गरी तयारी भइरहेको छ ।’

चिकित्सकबाट अभियुक्तहरुको उमेर परीक्षण

मुस्कानलाई वीरगञ्ज महानगरपालिका-२ बस्ने १९ बर्षीय मजिद मियाँ र १७ बर्षीय सम्साद मियाँले एसिड प्रहार गरेका थिए । उनीहरु नाबालक रहेको दाबी परिवारले गरेपछि नारायणी अस्पतालका ४ जना चिकित्सकको टोलीबाट उमेर परीक्षण गराइएको छ ।

अस्पतालका मेसु डा. मदन कुमार उपाध्याय, रेडियोलोजिष्ट डा. विजयराज खनाल, अर्थो सर्जन डा. राजदेव कुशवाहा र डेन्टल सर्जन डा. सोनी झाको टोलीले गरेको उमेर परीक्षण रिपोर्टको आधारमा उनीहरु विरुद्ध प्रहरीले मुद्धा लगाउँदैछ ।

‘आक्रमणमा संलग्न १९ बर्षीय मजिद मिया र अर्को १७ बर्षीय बालक छन् । उनीहरुको उमेर कहीं १४ वर्ष, कहीं १५ वर्ष भनेर आयो, स्पष्ट उमेर नखुलेपछि नारायणी अस्पताल पठाएर ४ जना चिकित्सकबाट उमेर परीक्षण गराएका छौं,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘उमेर परीक्षण रिपोर्टको आधारमा मजिद मियाँको उमेर १९ वर्ष र अर्को बालकको उमेर १७ वर्ष कायम गरेका छौं ।’

प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड आक्रमण

मदिज मियाँले पहिलेदेखि नै एकतर्फी रुपमा माया गरेर मुस्कानसँग प्रेम प्रस्ताव समेत राखेका थिए । तर मुस्कानले अस्वीकार गर्दै आएककी थिइन् । आक्रोशमा आएका मदिजले साथी सम्सादसँग मिलेर मुस्कानलाई एसिड प्रहार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

भदौ २० गते बिहान विद्यालय जाँदै गरेको अवस्थामा मुस्कानको बाटो छेकेर उनीहरुले एसिड प्रहार गरेका थिए । घाइते मुस्कानको घाँटी, कान, हात एसिडले जलेको छ । नारायाणी अस्पतालमा प्रारम्भिक उपचार पछि उनको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

हार्डवेयर पसलबाट एसिड

मजिद र सम्सादले वीरगञ्जको विर्ता स्थित एक हार्डवेयर पसलबाट एसिड किनेको खुलासा भएको छ । प्रहरीले अनुसन्धाको क्रममा विर्ता स्थित मनिष प्रसाद मण्डलले सञ्चालन गरेको हार्डवेयर पसलबाट उनीहरुले एसिड किनेको पत्ता लगाएको हो ।

उनीहरुले घर सफा गर्न प्रयोग गरिने सल्फ्युरिक एसिड मुस्कानलाई छ्यापेका थिए । घटनापछि हार्डवेयरका सञ्चालक मण्डल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक राठौरले हार्डवेयर सञ्चालकको खोजी भइरहेको बताए । ‘ उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । हामीले खोजी गरिरहेका छौं,’ एसपी राठौरले भने ।

प्रहरीको काम कारबाहीबारे सांसद यावदको चासो

संघिय समाजवादी पार्टीका सांसद प्रदिप यादवले मुस्कानमाथि भएको एसिड प्रहार घटनामा प्रहरीको काम कारबाही चासो देखाएका छन् ।

एसिड प्रहार गर्नेहरुलाई कानुन संसोधन गरेरै भएपनि जन्मकैद र फाँसीको माग गर्दै आएका सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर घटनापछि प्रहरीले गरेको काम कारबाहीको बारेमा बुझेका हुन् ।

प्रहरी उपरीक्षक राठौरलाई उनकै कार्यकक्षमा भेट गरी सांसाद यादवले अभियुक्तहरुलाई बढी भन्दा सजाय हुने गरि प्रमाण संकलन गर्न आग्रह गरे । ‘ एसिड आक्रमण पिडित मुस्कानको अवस्था नाजुक नै छ । उनले जसरी पनि न्याय पाउनुपर्छ ।’ उनले भने,  ‘प्रहरीले कुनैपनि हालतमा मुद्धा कमजोर पार्नुहुन्न । आवश्यक प्रमाण सबै संकलन गरेर अदालतमा पेश गरिनुपर्छ ।’

उनले यस्ता घटना दोहोरिन नदिन प्रहरीले निगरानी बढाउनुपर्नेमा जोड दिए । ‘ कतिपय मन चलन केटाहरु मज्नु बनेर क्याम्पस, विद्यालय जाने केटीहरुलाई सताउने गरिरहेका छन् । ’ उनले भने, ‘छात्राहरु विहानै ५ बजे क्याम्पस गइरहेका हुन्छन्, प्रहरीले त्यसतर्फ निगरानी बढाउनुपर्छ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?