Comments Add Comment

खाना पकाएर खाँदा फाइदा कि काँचै खाँदा ?

हामी जुनसुकै खानेकुरा पकाएर खान रुचाउँछौं । खाना मात्रै होइन, अहिले त पानी पिउँदा पनि हामी उमालेर पिउने गर्छौं । तर, हाम्रो खानाको विकासक्रमलाई हेर्ने हो भने प्राचीन कालमा जे कुरा पनि काँचै खाने गरिन्थ्यो । हामीले भोजनलाई पकाएर खानुको एउटा मूल कारण भनेको सुक्ष्म किटाणुहरुबाट मुक्ति पाउनु हो ।

सबै खाना पकाउने प्रचलनले ती सुक्ष्म जीवले हाम्रो पाचन प्रणालीलाई नष्ट गराउँछ भन्ने थाहा भएपछि मात्रै ब्यापकता पाएको पाइन्छ । यद्यपि खाना पकाएर वा पोलेर खान भने ढुंगे युग वा जंगली युगको दोस्रो चरणमा आगोको विकास भएपछि नै सुरु भएको मान्न सकिन्छ ।

खाना पकाएर खानुको अर्को पनि कारण के हो भने जुनसुकै खानामा पनि ताप प्रसार गराएपछि ती खानाहरु नरम हुन्छन् । पकाएको र नपकाएको खानाको स्वादमा पनि फरक हुन थालेपछि मानिसहरुले खाना पकाएर नै खान थालेको देखिन्छ । काँचो खाना धेरै खानेको पाचन प्रक्रियाको क्षमता कमजोर हुने गर्दछ । जस्तो गाई-भैंसीहरुले खाना खाइसकेपछि पनि पाचनको लागि फेरि आफ्नो मुख चलाइरहेका हुन्छन् । पाचन प्रक्रिया कमजोर भएकाले यस्तो भएको बताइन्छ । त्यसैले खाना पकाएर खाने कि काँचै खाने भन्ने कुरा खानाको प्रकृतिको आधारमा निर्धारण गर्न सकिन्छ । केही खानेकुराहरु पकाएर खाँदा र केही खाना काँचै खाँदा पनि फाइदाजनक हुने गर्दछ ।

काँचै खानुका फाइदा

कति फल वा सब्जी हामी पकाएर, भुटेर, उसिनेर खान्छौं । यसरी खाँदा फरक स्वाद त पाउन सकिएला, तर त्यसमा रहेको पौष्टिक तत्व भने पाइँदैन । सब्जी, फल आदिलाई तताउँदा, पकाउँदा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले यस्ता खानेकुरा सलादको रुपमा काँचै खानु राम्रो हो । तर, सबै खानेकुराको प्रकृति एकै हुँदैन । कतिपयलाई पकाएर पनि खानुपर्ने हुन्छ । यहाँ काँचो खानुपर्ने फल तथा सब्जीबारे जानकारी दिइएको छ ।

नरिबल- काँचो नरिवलले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । यसमा केही स्वास्थ्य प्रदायक चिल्लो पदार्थ रहेको हुन्छ । सुख्खा नरिवलमा यस्तो गुण पाइँदैन ।

भेँडे खुर्सानी- भेँडे खुर्सानी भिटामिन सीको एकदमै राम्रो स्रोत हो । अमेरिकाको नेशनल इस्न्िटच्युट अफ हेल्थका अनुसार भेँडे खुर्सानीलाई तीन सय ७५ डिग्रीमाथि पकाउँदा यसमा रहेका सबै पौष्टिक तत्व नष्ट हुन्छ ।

ब्रोकाउली- ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो । यसमा एक प्रकारको सल्फोराफेन पाइन्छ, जसले रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ । तर, जब यसलाई उसिनिन्छ वा पकाइन्छ, तब त्यसमा रहेको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ ।

स्याउ- स्याउलाई सर्वगुणी फल भनिन्छ । यो जुनसुकै अवस्थामा खान सकिन्छ । यसमा न्यूट्रिएन्ट्स र मिनरल्स हुन्छ । तर, जब स्याउलाई सुख्खा बनाएर खाइन्छ । त्यो सबै नष्ट हुन्छ । कतिले बच्चा वा बिरामीलाई स्याउ उसिनेर खान दिन्छन्, यसो गर्दा स्याउको क्यालोरी र कार्बाेहाइड्रेट बढ्छ । यसले मधुमेहको तह पनि बढाउने काम गर्छ ।

अंकुरित गेडागुडी- अंकुरित गेडागुडी स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यसमा भिटामिन सी, फाइबर, कपर, म्याग्निसियम पाइन्छ । तर, जब अंकुरित गेडागुडी उसिनेर वा पकाएर खाइन्छ यसको पौष्टिक तत्व नष्ट हुन्छ, खासगरी भिटामिन सी ।

ड्राई फ्रुट्स-कतिले स्वादका लागि ड्राई फ्रुट्सलाई भुटेर वा तारेर खाने गर्छन् । यसले गर्दा त्यहाँ रहेको आइरन, म्याग्नेसियम, फस्फोरस नष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment