Comments Add Comment

दक्षिण एसियाली राष्ट्रमध्ये नेपालमा भोकमरी न्यून

भारतमा भयावह भोकमरी, चीनमा छैन

२९ असोज, काठमाडौं । भोकमरी न्यूनिकरणमा नेपालले खासै प्रगति गर्न नसकेको एक अध्ययनले देखाएको छ । तर, दक्षिण एसियाली स्तरमा भने नेपाल राम्रो स्थितिमा छ ।

ग्लोबल हंगर इन्डेक्स (विश्वव्यापी भोकमरी सम्बन्धी सूचकांक) २०१९ मा नेपाल ७३ औं स्थानमा रहेको हो । अघिल्लो वर्ष ७२ औं स्थानमा थियो ।

यस सूचीमा कूल १ सय १७ देश समावेश छन् । कन्सर्न वल्र्डवाइड र वेल्थ हंगर हिल्फले संयुक्त रुपमा संकलन तथा विश्लेषण गर्ने यस सूचकांकलाई संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनलगायतले विश्वव्यापी मान्यता दिनेगर्छन् ।

सूचीमा देशहरुलाई विभिन्न ५ वर्गमा विभाजित गरी भोकमरीको अवस्थाबारे चित्रण गरिएको छ । १०० पूर्णाङ्कलाई आधार मानेर शून्यदेखि ९.९ अंक प्राप्त गर्ने मुलुकहरुमा भोकमरीको अवस्था न्यून रहेको मानिएको छ । यस्तै, १० देखि १९.९ अंक प्राप्त गर्ने मुलुकमा मध्यमस्तरको भोकमरी र २० देखि ३४.९ लाई गम्भीर प्रकृतिको भोकभरीका रुपमा अर्थ्याइएको छ ।

३५ देखि ४९.९ अंक प्राप्त गर्ने मुलुकमा भयावय तथा ५० अंकभन्दा माथि प्राप्त गर्ने मुलुकमा भने भोकमरीको स्थिति अति भयावह भनेर चित्रण गरिएको छ । यसमा नेपालले २०.८ अंक प्राप्त गरेको छ, जुन मध्यमस्तरको भोकमरीभन्दा थोरै माथि हो ।

हंगर इन्डेक्सले विश्वव्यापी रुपमा मानिसहरुले पाइरहेको पोषण, त्यसले मानव स्वास्थमा पारेको प्रभाव र अभावजस्ता विषयवस्तुको यथार्थ विवरण संकलन गर्ने गर्छ । सूचिमा अत्यन्तै कम जनसंख्या भएका मुलुक, अतिविकसित तथा अति उच्च आय भएका मुलुक र तथ्यांक उपलब्ध नगराएका देशहरुलाई भने समावेश नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दक्षिण एसियामा अगाडि

ठूलो जनसंख्या रहेको दक्षिण एसिया भोकमरीको चपेटामा छ । दक्षिण एसियाली स्तरमा हेर्दा नेपालको अवस्था अरुभन्दा राम्रो देखिन्छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा नेपाल अगाडि छ ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा माथि श्रीलंका ६६ औं स्थानमा छ । त्यसपछि दोस्रोमा नेपाल रहेको छ । सबैभन्दा पुछारमा अफगानिस्तान १०८ औं स्थानमा रहेको छ । भूटान र माल्दिभ्स भने सूचिमा समावेश छैनन् ।

ग्लोबल हंगर इन्डेक्समा नेपालले पछिल्लो दुई दशकयता निरन्तर सुधार देखाएको छ । तथ्यांकअनुसार सन् २००० मा ३६.८ अंक पाएको नेपालले सन् २००५ मा ३१.३ अंकमा झारेको थियो । सन् २०१० मा २४.४ अंक प्राप्त गरेको नेपालले सन् २०१९ मा आइपुग्दा सुधार गर्दै अंक २०.८ मा झारिसकेको छ ।

भारतमा भयावह भोकमरी, चीनमा न्यून

नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा भोकमरीको अवस्थामा निकै ठूलो अन्तराल पाइएको छ । भारत भयावह भोकमरीको चपेटामा छ भने चीनमा भोकमरी अवस्था न्यून देखिएको छ ।

भारत सूचीको १ सय २ स्थानमा रहँदा ३०.३ अंक प्राप्त गरेको छ । यो भोकमरीको भयावह स्थिति हो । उता, चीन भने ग्लोबल इन्डेक्सको २५ औं स्थानमा रहँदा मात्र ६.५ अंक प्राप्त गरेको छ । १ सय पूर्णांकमा जति कम अकं आयो, ग्लोबल इन्डेक्समा त्यति राम्रो मानिएको छ ।

विश्वव्यापी सूचीमा सूचिकृत कूल ११७ मुलुकमध्ये ४६ मुलुक भोकमरीको भयावह अवस्थाबाट सुरक्षित छन् । ति मुलुकले विश्वप्यापी तोकिएको मापदण्ड अनुसार पोषण पुरा गरेका छन् । त्यसको सकारात्मक प्रभाव उनीहरुको जनसंख्यामा समेत देखिएको छ ।

बेलारुस, चिली, कोस्टारिका, क्यूवा, कुवेत, टर्की, उरुग्वे, ब्राजिल, अर्जेन्टिना, चीन, इरान, साउदी अरेविया, पाराग्वे, पेरु, फिजी, मोरक्कोजस्ता मुलुक पोषण र खाद्य सुरक्षाका दृष्टिकोणबाट सुरक्षित मानिएका छन् ।

कसरी गरिन्छ मापन ?

कूल जनसंख्याले पाइरहेको पोषण मात्राका आधारमा अल्पपोशित जनसंख्याको अनुपातलाई मापनको एक आधार मान्ने गरिएको छ । कुपोषणका कारण हुने पाँच वर्षमुनीका बालबालिकाको मृत्युदरलाई समेत मापनको आधारका रुपमा समेटिएको छ ।

पाँच वर्षमुनीका बच्चामा देखिने कम तौल, रोगव्याधीको संक्रमण तथा त्यसबाट उत्पन्न हुने समस्यालाई समेत एक आधारमा रुपमा लिने गरिन्छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमले तोकेका मापदण्ड पुरा भए–नभएको हेरी सूचकांकको गणना हुने गरेको छ । यसभित्र शरीरका लागि आवश्यक तत्व (भिटामिन, खनिजलगायत) को उपलब्धता, अपर्याप्त भोजन, संक्रमण तथा बिरामी अवस्थामा पर्याप्त पोषक खाद्यान्नको कमी, अपर्याप्त मातृ तथा शिशु स्वास्थ, स्वच्छ खानेपानीको उपलब्धताले समेत यसमा प्रभाव पार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment