Comments Add Comment

सरकारले संवैधानिक रुपमा प्राप्त महिला अधिकार कार्यान्वयन गर्दैछः मन्त्री थापा

३० असोज, काठमाण्डौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले संवैधानिक रुपमा प्राप्त महिला अधिकार कार्यान्वयनमा सरकार लागि परेको बताएकी छन् ।

‘संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको छ । संवैधानिक रुपमा प्राप्त ति अधिकार कार्यान्वयनका लागि राज्य नीतिगत ब्यवस्था गर्न लागिरहेको छ’ बिहिबार चौथो विश्व महिला सम्मेलनको समिक्षाका लागि ललितपुरमा आयोजित राष्ट्रिय परामर्श गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले भनिन् ।

मन्त्री थापाले सबै क्षेत्रमा महिलाको उपस्थिति ५० प्रतिशत सुनिश्चित हुने गरी लड्न समेत अधिकारकर्मीहरुलाई सुझाव दिइन् । महिलाको उपस्थिति/सहभागिता सुनिश्चितता लागि आवाज उठाउँदै गर्दा महिलाहरुको नेतृत्व र क्षमता विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

निरन्तरको संघर्षबाट संघीय संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएर आउन सफल भएको भन्दै उनले यसले मात्रै नपुग्ने बताइन् ।

‘राज्यको तीनै तहमा महिलाको सहभागिता उल्लेख्य रहेको र यो पहिलो गणतान्त्रिक संविधानमा महिलाहरु निर्वाचित हुनु इतिहास कै पहिलो सफलता हो । यो हामी सबैको योगदान हो’ उनी भन्छिन्, ‘हाम्रो लक्ष्य/माग सबै क्षेत्रमा ५० प्रतिशत हुनुपर्छ भन्ने हो । त्यसका लागि थप संघर्ष गर्नुपर्छ र महिलाको सहभागिता सुनिश्चितताको आवाज उठाउँदै गर्दा महिलाहरुको नेतृत्व र क्षमता विकासमा पनि ध्यान दिनुपर्ने हुन्छ ।’

कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले चौथो विश्व महिला सम्मेलनले गरेका घोषणापत्र, कार्ययोजनाहरु कार्यन्वयन भएको छ/छैन हेर्नु जरुरी रहेको बताए ।

महिला र महिला स्वास्थ्य सम्बन्धमा तथा महिला सशक्तिकरण अभियानलाई अझ सशक्त गर्ने अभिप्रायले सन् १९९५ मा चिनको बेइजिङमा चौथो विश्व महिला सम्मेलन भएको थियो । त्यसको समिक्षाका लागि नेपालमा राष्ट्रिय सञ्जाल गठन गरिएको छ ।

चौथो विश्व महिला सम्मेलनले १२ वटा सरोकार क्षेत्र समेत निर्धारण गरेको थियो । जसमा महिला र शिक्षा, महिला र गरिबी, महिला र स्वास्थ्य, महिला हिंसा, महिला र सशस्त्र द्वन्द्व, महिला र अर्थतन्त्र, महिला र वातावरण, महिला विकासका लागि संस्थागत संरचना, महिला र मानवअधिकार, बालिका, शक्ति संरचना र निर्णयात्मक तहमा महिला, महिला र सञ्चार रहेका छन् ।

आगामी महिला विश्व सम्मेलन सन् २०२० मा चीनमा हुँदैछ । त्यसको तयारी स्वरुप गोष्ठीको आयोजना गरिएको सञ्जालकी सल्लाहकार समिति संयोजक चाँदनी जोशीले जानकारी दिइन् । चौथो विश्व सम्मेलनपछि नेपालले के कस्ता उपलब्धीहरु हासिल गर्यो ? अब के कस्ता चुनौतीहरु छन् ? यसबारे स्थानीय तह, प्रदेश स्तरमा छलफल चलाएर राष्ट्रिय स्तरमा बहस गरेर निचोड निकाल्न लागिएको उनको भनाइ छ ।

गोष्ठीमा महिला अधिकारकर्मीहरु र यससँग सम्बन्धित गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता छ । गोष्ठी भोलि शुक्रबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment