Comments Add Comment

तिहारमा गुणस्तरहीन फूलको आयात रोक्न प्लान्ट क्वारेन्टिनको ताकेता

३ कात्तिक, काठमाडौं । अस्वस्थकर र गुणस्तरहीन फूलको अवैध आयात रोक्न देशैभरका प्लान्ट क्वारेन्टाइन कार्यालयहरुलाई प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले परिपत्र गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसहित देशैभरका १४ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयलाई आइतबार विभागले परिपत्र गरेको हो ।

चाडपर्वको समयमा स्वस्थता प्रमाणपत्र नभएका अवैध फूल नेपाल भित्रिन सक्ने भएकाले मातहतका कार्यालयहरुलाई सचेत गराइएको विभागका निमित्त प्रमुख सहदेव प्रसाद हुमागाईले बताए ।

‘तिहारमा फूलको अभाव होला भन्ने ठानेर खुकुलो नपारियोस भन्न परिपत्र गरिएको हो,’ हुमागाईले भने ।

विभागका अनुसार कुनै पनि कृषि र वनस्पतिजन्य वस्तु एक देशबाट अर्को देशमा आवतजावत गराईंदा स्वस्थता र कुनै पनि खाले हानिकारक किरामुक्त भएको प्रमाणपत्र (फाईटो सेनेटरी सर्टिफिकेट) अनिवार्य हुन्छ । भारत लगायतका मुलुकबाट नेपालमा वर्षेनी करोडौं रुपैयाँको फूल आयात हुने गर्छ । अझ तिहारमा फूलको आयात उच्चतामा पुग्छ ।

चालू आर्थिक वर्षको दुई महिनामा मात्रै नेपालमा नेपालमा विभिन्न मुलुक भएर एक लाख २३ हजार पिसभन्दा धेरै फूलहरु भित्रिएका छन् । दई महिनामा नेपाल भित्रिएका फूलको मूल्य ९५ लाख रुपैयाँ भन्दा बढी भएको भन्सार विभागले जनाएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार अघिल्लो वर्ष नेपालमा २० करोड रुपैयाँ भन्दा धेरैका फूल आयात भएका थिए । तिहारमा मखमली र सयपत्री तथा फागुनमा प्रणय दिवशको दिनमा गूलाबको फूलको माग नेपालमा अत्यधिक हुने गरेको एशोसिएसनका अध्यक्ष कुमार कसजुले जानकारी दिए ।

पुष्पखेती सर्वेक्षण अनुसार नेपालका ३६ जिल्लामा ८ सयभन्दा धेरै व्यवसायीले १४३ हेक्टर जमिनमा व्यवसायीक रुपमा पुष्पखेती गर्दै आएका छन् । पुष्प व्यावसायबाट ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएको तथ्यङ्क विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment