Comments Add Comment

नेपालगञ्ज उपमहानगरभित्रै बाँदर आतङ्क

४ कात्तिक, बाँके । पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका-१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् ।

बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि जयसपुरवासी हैरान छन् ।

जयसपुरको बस्तीमा पसेर बाँदरले बालीनाली उखेलिदिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र मान्छेलाई समेत टोकेर हैरान गर्न थालेको स्थानीयवासी रोशनअली अन्सारीले बताए ।

केही दिनदेखि गाउँमा बाँदर आतङ्क बढ्दै गएको अन्सारीको भनाइ छ । बाँदरको डरले हातमा लठ्ठी बोकेर हिँडडुुल गर्नुपर्ने अवस्था रहेको अन्सारीले बताए ।

उनले भने, ‘दुई/तीन सयको सङ्ख्यामा रहेका बाँदरको बासस्थान नै जयसपुर गाउँ नजिकैको जङ्गलमा हुने गरेको छ ।’ किसान बाली जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन् । बाँदरले बारीमात्र नभएर घरभित्रै प्रवेश गरी भण्डारण गरिएको अन्न तथा पकाएर राखेको खानासमेत खाइदिने गरेको स्थानीयवासीको भनाइ छ ।

‘बारीमा फलेका काउली, टमाटर, मेवा, फर्सी, लौका, आलुलगायतका बालीनाली तथा तरकारी सखापै पारिदिने गरेकाले हैरान छौँ’, नेपालगञ्ज-१६ का वडाध्यक्ष हनिफ जोलाहले भन्नुभयो, “कतिपय किसानले बाँदरको डरले खेतबारी नै बाँझै राख्न थालेका छन् ।’

पछिल्लो समय त बाँदरले बालबालिका, वृद्धवृद्धा तथा जोसुकै एक्लै हिँडेको देखेमा आक्रमणसमेत गर्ने गरेको स्थानीयवासी बताउँछन् । बाँदरको आक्रमणबाट स्थानीय केही व्यक्ति घाइते भएको वडाध्यक्ष जोलाहले बताए । बाँदरको डरले बालबालिकालाई एक्लै घर बाहिर छोड्ने अवस्था नरहेको स्थानीय मुन्नीकली अन्सारीले बताए ।

बाँदर आतङ्कबाट स्थानीयवासी हैरान भएर वडामा गुनासो आउन थालेपछि समस्या समाधान गर्न विभिन्न उपाय अपनाए पनि समाधान गर्न नसकिएको वडाध्यक्ष जोलाहको भनाइ छ ।

बाँदर आतङ्क रोक्न जिल्ला प्रशासन, उपमहानगरपालिका, वन डिभिजन कार्यालयलगायतका निकायसँग समन्वय तथा पत्राचार गरेको भए पनि कुनै निकायले सहयोग नगरेको वडा नं १६ का सचिव सलाउद्धीन अन्सारीले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment