Comments Add Comment

उम्मेदवार घोषणा गर्दै साझाले भन्यो : कास्कीबाट विजयको सन्देश दिन्छौं

गोलमाल नगरेको भए काठमाडौं-१ मा जित्थ्यौं : मिश्र

६ कात्तिक, पोखरा । मंसिर १४ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो, कास्की-२ । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हृयाट्रिक मारेको यो निर्वाचन क्षेत्रमा उनको उत्तराअधिकारी को बन्ला रु दलहरुको आ-आफ्नै दाबी र तयारी छ ।

तर उम्मेदवारी घोषणा भने साझा पार्टी अगाडि भएको छ । अरु दलले उम्मेदवार छनोट गर्न नसकिरहेको बेला साझा पार्टीले रजनी केसीलाई उम्मेदवार चयन गरेको छ । र, उसको दाबी छ, चुनाव जित्छौं ।

‘यो उपनिर्वाचनमा साझा पार्टीले कास्की २ बाट जित्छ । त्यही भएरै चुनावमा होकिएका छौं’ उम्मेदवार केसीको दाबी छ ।

२८ भदौमा नेपाली कांग्रेस परित्याग गरेर साझा पार्टीमा प्रवेश गरेसँगै रजनीलाई नै उम्मेदवारका रुपमा धेरैले लख काटेका थिए । पोखरामा बसेको साझा पार्टीको बैठकले त्यसलाई औपचारिकता दिएको छ ।

सजिलो छैन चुनाव जित्न

साझालाई उपनिर्वाचन जित्नु फलामको चिउरा सरह हो । गएको निर्वाचनमा तत्कालीन साझा विवेकशील पार्टीका श्रीकृष्ण श्रेष्ठले यो क्षेत्रबाट ८ सय ४३ मत ल्याउँदै तेस्रो स्थानमा थिए । निर्वाचन जितेका रवीन्द्रले २७ हजार २ सय ७ मत ल्याएका थिए भने कांग्रेसका प्रतिस्पर्धी उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र अघिल्लो निर्वाचनको मत परिणामले अर्थ नराख्ने बताउँछन् । ‘मैले काठमाडौंको क्षेत्र नम्बर १ मा चुनाव लड्दा कयौं मान्छे हाँसेका थिए । किनभने गणेशमान सिंहका छोरा, कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले १३ हजार मतान्तरले अघिल्लो निर्वाचन जित्नुभएको थियो, ‘संयोजक मिश्रले भने, ‘हामीले झण्डै चुनाव जितेकै हो । अन्तिममा अताल्लिएर उहाँहरुले गोलमाल नगरेको भए सम्भवत हामीले जित्थ्यौं पनि ।’

कास्की २ मा पनि अघिल्लो चुनावको मतान्तर ठूलो भए पनि निर्वाचन जित्न सकिने मिश्रको दाबी छ । अन्य पार्टीको माथिल्लो तहसम्म पुगेका र भुइँ तहसम्मका मान्छेसम्म जनमत परिवर्तन भइराखेको बताउँदै मिश्रले गएको निर्वाचनको परिणामले अर्थ नराख्ने दाबी गरे ।

साझाले जित्नकै लागि चुनावमा भाग लिएको र कास्कीबाटै विजयको नयाँ सन्देश दिने गरी मैदानमा होमिएको उनको दाबी छ । साझा पार्टीका लागि कास्की-२ सबैभन्दा महत्वपूर्ण रहेको मिश्रको दाबी छ ।

साझा पार्टी प्रवक्ता सूर्यराज आचार्य अहिलेको विसंगतपूर्ण राजनीतिक शैलीको यो जनमत संग्रह भएको बताउँछन् । ‘यो उपनिर्वाचन सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दुबै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको जनमात संग्रह हो,’ उनले भनेका छन् । देशलाई हल्लाइदिने गरी साझा पार्टी कास्की-२ को चुनावी मैदानमा होमिएको प्रवक्ता आचार्यको दाबी छ ।

को हुन् रजनी ?

नेपाल विद्यार्थी संघ, प्रजातान्त्रिक कर्मचारीहरुको संगठनमा दुई पटक नेतृत्व गरेकी रजनी प्रखर वक्ता हुन् ।

रजनी लामो समय नेपाल विद्यार्थी संघमा क्रियाशील भइन् । उनले नेपाल महिला संघको क्षेत्रीय सभापति भएर पनि काम गरिन् । केसी २०५३ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट सदस्यकी उम्मेदवार हुँदा उनको निकै चर्चा भएको थियो । त्यतिबेला अखिलका दिलीपविक्रम शाही स्ववियु सभापति निर्वाचित भएका थिए ।

पछिल्लो समय पोखरा विश्वविद्यालयको उपप्रशासक रहेकी उनले पेन्सन पाक्ने गरी राजीनामा दिएकी थिइन् । कात्तिक १ गतेबाट लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको थियो ।

त्यसपछि साधारण सदस्यका रुपमा साझामा प्रवेश गरिन् । त्यसको केही समयपछि साझाको केन्द्रीय सदस्य हुँदै कास्की २ को उम्मेदवार बनेकी हुन् । तर, उम्मेदवारको बार्गेनिङ गरेर साझा पार्टीमा नगएको उनको दाबी छ ।

पुरानो पार्टीबाट परिवर्तन सम्भव नभएकाले हिजोको अनुभवलाई संगाल्दै देश परिवर्तन गर्नकै लागि साझा पार्टी रोजेको रजनीको दाबी थियो ।

‘म जुन धरातलमा उभिइरहेकी थिएँ । त्यहाँबाट गन्तव्यमा पुगौंला कि नपुगौंला भन्ने मलाई प्रश्न आयो । गन्तव्य मेरा लागि महत्वपूर्ण हो, साधन होइन,’ उम्मेदवार रजनीले भनिन्, ‘मलाई काठमाडौं जानु छ र मुग्लिन गाडी बिग्रियो भने अवश्व पनि म बिग्रेको बसमा त बसिराख्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment