Comments Add Comment

छापामा आज : शरणार्थीलाई जीवनयापनको उपायसहित स्थानीय बसोबास

८ कात्तिक, काठमाडौं । सामूहिक बलात्कारको ८ वर्षपछि सर्वोच्चले पूजा बोहराको पक्षमा गरेको फैसला आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक प्रधानमन्त्रीको अजरबैजान भ्रमण, नेपालको व्यावसायिक वातावरणको सूचकांकमा देखिएको सुधार, र्‍यापर भिटेन पक्राउललगायत विषयलाई पनि आजका दैनिक पत्रिकाहरूले समेटेका छन् ।

नेपालको व्यवसायिक वातावरणको सूचकांक (डुइङ इन्डेक्स) सुधार आएको भनेर विश्व बैंकले दिएको प्रतिवेदनलाई आज कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।  सार्वजनिक रिपोर्टअनुसार व्यावसायिक वातावरणको दृष्टिले नेपाल १९० मुलुकमध्ये ९४ औं स्थानमा परेको छ ।

सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहराको पक्षमा सर्वोच्चले गरेको फैसलालाई पनि कान्तिपुरले निकै प्राथमिकताका साथ छापेको छ । यसअघि बोहरा बलात्कारका आरोपितको पक्षमा पुनरावेदन अदालतले गरेको फैसला सर्वोच्चले उल्ट्याएको हो ।

नेपाल सरकारले तेस्रो देश जान वञ्चित र घरफिर्तीको पर्खाइमा रहेका झन्डै ८ हजार भुटानी शरणार्थीका हकमा दीगो समाधान पहिल्याउन ३ विकल्प पहिल्याएको अर्को खबर पनि कान्तिपुरमा छ । गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार, फेरि पनि घरफिर्ती र पुर्नवसोबासको प्रयास थाल्ने तथा यो सम्भव नभए जीवनयापनको विकल्प राखेर स्थानीय बसोबासको प्रबन्ध गर्ने विकल्प अघि सारिएको छ ।

गृहका अधिकारीले शरणार्थी समुदायका प्रतिनिधि तथा भुटानी अधिकारकर्मी नेताहरुसँग कुराकानी गरेर समस्या समाधानका विकल्प रोजिएको बताएका छन् । शरणार्थी समस्या समाधानका लागि जीवनयापनको उपाय भनेर नेपाल सरकारलाई कर तिर्दै कुनै निश्चित क्षेत्रमा व्यवसाय गर्न सकिने किसिमको रणनीति सरकारले तय गरेको समाचारमा लेखिएको छ ।

डोल्पाको निर्माणाधीन सडकको तस्वीर छापेको अन्नपूर्णले पनि कान्तिपुरले जस्तै डुइङ बिजनेस इन्डेक्स रिपोर्ट र पूजा बोहराको पक्षमा सर्वोच्चले गरेको फैसलालाई मुख्य समाचार बनाएर छापेको छ ।

नागरिकले ‘साँघुरिँदै अनुसन्धान, थपिँदै साबिती बयान’ शीर्षक दिएर राजपुर बमकाण्ड अनुसन्धानबारे चासो देखाएको छ । त्यस्तै, रगतको नमूना दिन पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले गरेको आदेशबारे पनि नागरिकले समाचार बनाएको छ ।

गोरखापत्रले प्राकृतिक सन्तुलनमा सर्प, भ्यागुता र छेपाराको भूमिकाबारे एंकर बनाएको छ भने नेपाल समाचारपत्रमा हिन्दू धर्मले पुज्ने कागलाई छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, अस्ट्रेलियालगायत मुलुकमा हेयको दृष्टिले हेरिने उल्लेख छ । रोग सार्ने भन्दै काग मार्ने अभियान नै चलाइएको समाचारमा लेखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment