+
+

तिहारमा साढे ४ सय जुवाडे समातिए, मापसे गर्ने ७ सय कारबाहीमा

सवारी दुर्घटना १२१ः ३ को मृत्यु, ८ गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १:०४
Photo Credit : फाइल फोटो । महाराजगञ्जबाट समातिएका भीआईपी जुवाडेको साथबाट बरामद रकम ।

१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहारको अवसरमा बनाएको विशेष सुरक्षा रणनीति अन्तर्गत ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

देशभर ४३ स्थानमा चलाइएको प्रहरी कारबाहीका क्रममा पक्राउ परेकामध्ये ३ जना महिला छन् । विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसनमा ३ करोड ३० लाख रुपैयाँ पनि बरामद भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।

उनका अनुसार यो विवरण २ कात्तिकदेखि १३ कात्तिकको दिउँसोसम्मको हो । ‘पक्राउ परेकामध्ये अधिकांशविरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाइएको छ भने केही धरौटीमा छुटिसकेका छन्’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले अनलाइनखबरसँग भने ।

उनका अनुसार तिहारमा चलाइएको अपरेशनमध्ये सबैभन्दा ठूलो महाराजगञ्जमा चलाइएको अपरेशन हो । जसमा २ करोड ६७ लाख रुपैयाँ बरामद भएको छ भने २५ जना भीआईपी जुवाडे समातिएका छन् ।

समातिनेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा, इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकीलगायत छन् ।

उनीहरुले सर्वोच्च अदालतमा पनि बन्दीप्रत्यक्षीकरणको रिट पनि दायर गरेका थिए । त्यसमा बिहीबार पुनः सुनवाइ हुँदैछ । पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि म्याद थप पनि बिहीबारै अदालतसमक्ष माग गर्ने प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तरगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अभियोगमा अनुसन्धान गर्न प्रहरीले अदालतसमक्ष म्याद थपको माग गर्नेछ ।

जसअनुसार अभियोग प्रमाणित भए पहिलो पटक खेल्ने वा खेलाउनलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिवाना र तयसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

जुवासम्बन्धी कसूरमा प्रहरीले २५ दिनभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउनुपर्छ भने मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीले गर्ने कानूनी व्यवस्था छ ।

यसअघि आर्थिक वर्ष ०७५/०७६ मा २ जार ८ सय ६९ जना जुवाडे पक्राउ परेको देखिन्छ भने ६ जना अझै फरार छन् । आर्थिक वर्ष ०७४÷०७५ मा २ हजार ८ सय २४ जना पक्राउ परेका थिए भने ३२ जना हालसम्म फरार सूचीमा छन् ।

आर्थिक वर्ष ०७३/०७४ मा एक हजार ५ सय ४ जना पक्राउ परेका थिए भने १५ जना फरार छन् ।

प्रहरी अपरेशन र तिहारमा भएका गतिविधिका सूची

तीन घाइते

तिहारको अवधिमा विभिन्न किसिमका पटकासहित ११ जना पक्राउ परेका छन् । पटाका बरामद चाहिँ ३० ठाउँमा भएको देखिन्छ । अधिकांश अपरेसनमा व्यक्ति पक्राउ परेका छैनन् ।

प्रहरीले कतिपयलाई फरार सूचीमा राखेर अनुसन्धान गरिरहेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –३ मा आधा बोरा पटकासहित पुनिया गुप्ता पक्राउ परेका छन् ।

त्यहाँ पटका पड्किँदा ३ जना घाइते पनि भएका थिए ।

ट्राफिक कारबाही

प्रवक्ता पोखरेलका अनुसार काग तिहारदेखि भाइटीकाको दिनसम्म मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाउने ७ सय २५ जना कारबाहीमा परेका छन् ।

बढी भाडा लिने वा मिटरमा कुद्न नमान्ने वा भनेको ठाउँमा नजाने ४५ वटा कार पनि कारबाहीमा परेका छन् । अन्य कारबाहीको संख्या ३ हजार ९ सय १५ छ ।

यो अवधिमा १ सय २१ वटा सवारी दुर्घटनाका घटना भएका छन् भने ३ जनाको मृत्यु भएको छ । ती घटनामा ८ जना गम्भीर घाइते छन् । सामान्य घाइतेको संख्या १ सय १२ छ ।

ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिएर टिकट काट्ने ११ जनालाई पक्राउ गरेको छ भने ठूलो आवाज निकालेर मोटरसाइकल चलाउने १० वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?