Comments Add Comment

यसरी बनाउन सकिन्छ घरलाई फूलले ढकमक्क

प्रायः सबैलाई बगैँचाको शोख हुन्छ । त्यो शोखलाई उनीहरु कसैले आफैं त कसैले माली राखेर पूरा गर्छन् । सुन्दर बगैंचाका लागि केही समय छुट्याउनु पर्छ । बगैंचालाई रंगीबिरंगी फूलहरुले सजाउने बारेमा ध्यान दिनुपर्छ । केवल ५-६ वटा फूल रोप्ने र त्यसमा पानी हाल्नाले मात्र बगैंचाको रेखदेख हुँदैन ।

बिरुवा लगाएपछि त्यसलाई रेखदेख गर्नु पनि जरुरी हुन्छ । बिरुवामा किरा लाग्न नदिन किटनाशक औषधि पनि समय-समयमा राख्नुपर्छ । गमलाको प्रयोग, बिउ राख्ने तरिका, घाममा कति समय राख्ने, बिरुवाको लागि कति तापमान आवश्यक हुन्छ । मल कति मात्रामा हाल्नु पर्छ भन्ने कुरालाई ध्यान दिनु पर्छ ।

मौसम

वर्षायाममा तिउरी, हंशराज, बेली, चमेली आदिको बिरुवा लगाउन सकिन्छ । जाडोयाममा पेन्जी, सयपत्री, असर्फी, केराउको फूल, पिटुनिया आदिको बिरुवाहरु लगाइन्छ । यी बाहेक बाह्रमासे फूलको बिरुवा जस्तै रातकी रानी, बेगन बेली, घण्टी फूल आदि पनि लगाइन्छ । फूलका बिरुवाहरु लगाउनुभन्दा आफूले हेरचाह गर्न सक्ने जति मात्र लगाउनुपर्छ ।

रंगीबिरंगी फूलहरु भदौ-असोजदेखि मंसिरसम्म फूल्छन् । जसमा गोदावरीका प्रकारहरु धेरै हुन्छन् । त्यसलाई असोजदेखि पुषको सुरुवाती दिनहरुसम्म रोप्न सकिन्छ । यदि तपाईंलाई फूलने फूलहरु मात्र मनपर्छ भने तोपिटुनिया, सलबिया, स्वीट विलियम, स्वीट एलाइसम, चाइना मोट, जेनिया, तिउरी, सूर्यमुखी र सयपत्री जस्ता फूलका बिरुवा लगाउन सकिन्छ । केही बिरुवाहरु जस्तै मनिप्लान्ट, क्रोटन, क्याक्टस र ड्राइसिना इनडोर प्लान्टहरु हुन् । त्यसलाई छायाँमा, कोठाको कुनै पनि स्थानमा राख्न सकिन्छ ।

यी सबैमध्ये मनिप्लान्ट सजिलै प्राप्त हुने र सधैं हरियो हुने बिरुवा हो । त्यसको पातमा भएका सेता दागको बुट्टाले त्यो बिरुवा सुन्दर र आकर्षक देखिन्छ । त्यस्तै, क्याक्टस पनि अर्को इनडोर बिरुवा हो । काँडा भएको यो बिरुवालाई पनि राम्रोसँग रेखदेख गर्नुपर्छ । नीमको धुलो, गोबर र बालुवा समान मात्रामा मिलाउनुपर्छ । यो बिरुवामा पानी थोरै हाल्नुपर्छ । प्रत्येक वर्ष गमलाबाट सबै बिरुवा निकालेर कुहिएको जरा काटिदिनुपर्छ । त्यसपछि त्यसलाई पुनः गमलामा रोप्नुपर्छ । धेरै घाम र धेरै पानी पर्ने मौसममा यसलाई छायाँमा राख्नु उपयुक्त हुन्छ । समय-समयमा त्यसमा फूल पनि फूलछ । जसले यो बिरुवा सुन्दर देखिन्छ ।

सयपत्री

सयपत्रीको बिरुवालाई मंसिर, माघ, बैशाख गरी वर्षमा तीन पटक रोप्न सकिन्छ । त्यसमा किरा लाग्दैन । सयपत्री विभिन्न प्रकारका हुन्छन् । यसको फूलको पत्रहरुलाई सुकाएर यो फूलको बिरुवा बनाउन सकिन्छ ।

घण्टी फूल

यो फूलको बिरुवा असोज-कार्तिकमा लगाउनुपर्छ । घण्टी फूल विभिन्न रंगहरुको हुन्छ । यो रातो, गाढा रातो, गुलाबी, बैजनी, नीलो आदि रंगका हुन्छन् । समय-समयमा यसमा मल र पानी हाल्नुपर्छ ।

सूर्यमुखी फूल

यो फूलको बिरुवाको आकार विभिन्न किसिमको हुन्छन् । ठूलो सूर्यमूखी फूल काउलीभन्दा पनि ठूलो हुन्छ । यसको बिउबाट तेल पनि निकालिन्छ । सानोे सूर्यमुखी फूलमा धेरै पहेंला फूलहरु फूल्छन् । यसको बिरुवा चैत महिनामा लगाउनुपर्छ । यसले बगैंचालाई सुन्दर र आकर्षक देखाउँछ ।

सुपारी फूल

सुपारी फूल सुन्दर र आकर्षक हुन्छ । यो तीन किसिमका हुन्छन् । ठूलो फूल फुल्ने, सानो फूल फुल्ने र फेरि रोप्न मिल्ने गरी तीन किसिमका हुन्छन् । यसलाई भदौ अथवा असोजमा रोप्न सकिन्छ । यी महिनाहरुमा किरा लाग्ने सम्भावना कम हुन्छ । यसको कागज जस्तै रंगीन फूलले बगैँचा नै रंगीन बनाइदिन्छ । साथै यसको फूल कहिल्यै सुक्दैन ।

तुलसी

तुलसीलाई प्रायः हरेक घरमा लगाइन्छ । राम तुलसी, श्याम तुलसी र वन तुलसी गरी तीन प्रकारका तुलसी हुन्छन् । यसलाई जुन मौसममा पनि लगाउन सकिन्छ । तुलसीको बिरुवाले वातावरणलाई शुद्ध राख्छ । यसको पातलाई चपाउनाले धेरै रोगबाट बच्न सकिन्छ ।

डाहेलिया

डाहेलियालाई जमिनमा अथवा गमला दुबैमा लगाउन सकिन्छ । यसलाई हुर्काउनको लागि पूर्णरुपमा खुल्ला स्थान चाहिन्छ । जहाँ ४ देखि ६ घण्टा घाम लाग्ने ठाउँ हुनुपर्छ ।

बिरुवा रोप्ने तरिका

बिरुवा लगाउने सबैभन्दा राम्रो बिधि कटिङद्वारा बिरुवा तयार गर्नु हो । पुरानो बिरुवाको हाँगाहरुलाई माथिल्लो भागबाट ८ सेन्टिमिटर लामो बनाएर काट्नुपर्छ । यसलाई बाक्लो बालुवामा दुई इन्चको दुरीमा डेढ इन्च गहिराईमा रोप्नुपर्छ । रोपेपछि यसलाई तीन दिनसम्म छायाँमा राख्नुपर्छ । बिस्तारै यसम जरा पलाउन थाल्छ अनि यसलाई गमलामा रोप्नुपर्छ । धेरै पानी अथवा घामले यी बिरुवा ओइलाउन सक्छ, त्यसैले यो कुरा ध्यान दिनु आवश्यक छ । यदि बिरुवालाई गमलामा रोप्ने हो भने गमलामा तीन भाग माटो र एक भाग गोबर मल मिलाएर भर्नुपर्छ ।

माटो भर्दा एकदेखि डेढ इन्च खाली ठाउँ छाड्नुपर्छ । यसो गर्दा बिरुवामा पानी हाल्दा माटो बाहिर आउँदैन् । एउटा गमलामा एउटा मात्र बिरुवा रोप्नुपर्छ । बिरुवा रोप्नासाथ पानी हाल्नुपर्छ । यदि क्यारीमा बिरुवा लगाउने हो भने ४० देखि ५० सेन्टिमीटर दुरीमा बिरुवा रोप्नुपर्छ । क्यारीमा बिरुवा रोप्नका लागि १० देखि १२ इन्च गहिरो खन्नुपर्छ । यसमा १०० ग्राम सुपर फस्फेट, १०० ग्राम सल्फेट पोटासियम, २५ ग्राम म्याग्नेसियम सल्फेट प्रति वर्गमिटर क्षेत्र अनुपातमा हाल्नुपर्छ । फूललाई चम्किलो देखाउनका लागि हुर्केको बिरुवामा एक चम्चा म्याग्नेशियम सल्फेटलाई १० लिटर पानीमा घोलेर छर्कनुपर्छ ।

क्यारीहरु साना ढुंगा, गिटी रहित हुनुपर्छ । क्यारीको माटोमा ५ किलोग्राम प्रति वर्गमिटरको हिसाबले गोबरको मल मिसाउनुपर्छ । तीन भाग माटो र एक भाग गोबर मल २५ ग्राम यूरिया ५० ग्राम डीएपी मिसाउनुपर्छ ।

यदि तपाईं डहेलियालाई गमलामा रोप्न चाहनुहुन्छ भने १२ देखि १४ इन्चको गमला हुनुपर्छ । माटो र गोबर मल समान रुपमा मिलाएर गमला भर्नुपर्छ । पानी हाल्नका लागि गमलाको माथिल्लो भाग दुई इन्च खाली छोड्नुपर्छ । गर्मी धेरै छ भने हप्तामा दुई पटक पानी हाल्नुपर्छ । जाडो मौसममा ८ देखि १० दिनको अन्तरालमा बिरुवामा पानी हाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment