Comments Add Comment

एन्फालाई विराजको आग्रह : सम्मानपूर्ण विदाई गरियोस्

१५ कात्तिक, काठमाडौं । विश्वकप छनोटको दोस्रो राउण्डका अवे खेलहरु गुमाएका राष्ट्रिय फुटबल टिमका डिफेण्डर विराज महर्जनलाई आशा थियो, होम गेमहरुमा अवसर पाउँछु ।

किनकी २० वर्षे खेलाडी जीवनको उत्तरार्धमा पुगेका उनले योजना पनि बनाए, घरेलु मैदान दशरथ रंगशालामा खेलेर अन्तर्राष्ट्रिय खेल जीवनबाट विदा लिन्छु । आफ्नो यो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा)का अधिकारीहरुलाई सुनाएकाले पनि उनी टिममा पर्नेमा आशावादी थिए । तर भरत खवास, एलन न्यौपाने, सुवास गुरुङ र मिचेन तामाङलाई बोलाउँदा विराज परेनन् ।

विश्वकप छनोटको दोस्रो राउण्डको पहिलो होम खेल ३ मंसिरमा दशरथ रंगशालामा हुनेछ । कुवेतविरुद्ध हुने यो खेलका लागि बुधबारदेखि नेपाली फुटबल टिमले अभ्यास थालेको छ । ‘घरेलु मैदानमा हुने खेलबाट विदा लिन्छु भन्ने सोचेको थिए, तर (एन्फाबाट) न कल आयो न म्यासेज’ पूर्वकप्तान विराजले भने ।

गलहत्याए जस्तो भयो

विश्वकप छनोटमा दोस्रो चरणका खेलहरु सुरु हुनुअघि नेपालले मलेसियाको लिग च्याम्पियन चाहोरसँग उसकै घरेलु मैदानमा मैत्रिपूर्ण खेल खेलेको थियो । अमेरिका बसेर भर्खर फर्किएका विराज अभ्यासमै रहेका बेला पिलो आयो, त्यसैले प्रशिक्षकसँग सल्लाह गरेर आफैं टिमबाट अलग भए । कप्तान नै टिममा नपर्दा धेरैले आश्चर्य माने पनि उनले त्यसलाई स्वभाविक ठाने ।

त्यही टिमले विश्वकप छनोटमा कुवेतसँग खेल्यो । तर समय विराजको अनूकुल रहेन । चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न टोलीमा पनि उनी परेनन् ।

त्यसपछि भने उनलाई लाग्यो, अब मैले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिनु उपयुक्त हुन्छ ।

घरेलु मैदानमा खेलेर विदा लिने प्रस्ताव एन्फाका पदाधिकारीहरुसँग पनि राखे । त्यसअनुसार कुवेतविरुद्ध हुने खेललाई अन्तिम बनाउने उनको योजना थियो ।

तर अभ्यासका लागि नै उनलाई बोलाइएन । यसले आफू अपमानित भएको महसुस भएको उनले बताए । ‘कुनै पनि खेलाडीको राष्ट्रिय जर्सी लगाएरै विदाई हुने सपना हुन्छ । मेरो पनि छ । म त्यस्तै चाहन्छु’ उनले अनलाइनखबरसग भने, ‘खेल जीवनको सुखद अन्त्य गर्ने वातावरण एन्फाले मिलाई दिनुपर्छ ।’

सफल कप्तान

विराज महर्जन एन्फा एकेडेमीको उत्पादन हुन् । २०५७ साल एन्फा एकेडेमीमा आएका उनले उमेर समूहमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाए । घरेलु प्रतियोगिता र यू–१९ मा राम्रो प्रदर्शन गरेपछि विराज २०६४ मा पहिलो पटक राष्ट्रिय टिम परेका थिए । उनको खेल जीवनले एउटा गति लियो ।

पाकिस्तानसँग पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलका लागि उनीसँगै यू–१९ फुटबल टिमबाट किरण चेम्जोङ, भरत खवास, विकाससिंह क्षेत्री र दीपक भुसाल परेका थिए । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले हारेको नेपालले भरत विराज प्लेइङ इलाभेनमा परेको खेलमा भने १–० गोलअन्तरले जितेको थियो । त्यसैले विराज आफ्नो डेब्यू खेललाई सुखद मान्छन् ।

त्यसपछि निरन्तर भने उनी राष्ट्रिय टिममा पर्दै आए । सन् २०१५ मा अनिल गुरुङ टिममा नपर्दा विराजले कप्तानको जिम्मेवारी सम्हाले । म्याच फिक्सिङ प्रकरणमा मुछिएर तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राईलगायतका खेलाडी र प्रशिक्षक निलम्बन परेर थिलथिलो भएको नेपाली फुटबलले उनकै कप्तानीमा लोभलाग्दो सफलता पायो । नेपालले बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) र एएफसी सोलिडारिटी कप जित्यो ।

तर २० वर्ष लामो खेलाडी जीवनलाई विट मार्ने समयमा भने भेट्रान डिफेण्डर दुःखी छन् । उनी थप्छन्, ‘मेरो आशा भनेको राष्ट्रिय टिमबाट खेल खेलाएर विदाई गर्छ कि भन्ने थियो । तर त्यसो हुन सकेन । म निकै दुःखी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment