Comments Add Comment

चितवनका ३ वडाको उपचुनाव : नेकपा र कांग्रेस दुवैको परीक्षा

कांग्रेसलाई दुई स्थान र नेकपालाई एक स्थान जोगाउनुपर्ने चुनौती

१६ कात्तिक, चितवन । आगामी मंसिर १४ गते चितवन दुई स्थानीय तहका तीनवटा वडामा उपनिर्वाचन हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । त्यसैगरी भरतपुर महानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचनको तयारी भइरहेको छ ।

तीनवटै वडाका वडाध्यक्षको निधन भएकोले यहाँ उपनिर्वाचन हुन लागेको हो । ०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा खैरहनी नगरपालिकाको जीपमा सवार वडा नं ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

भरतपुर महानगरपालिका वडा नं १६ वडाध्यक्ष चतुरमान गुरूङको गत असोज ४ गते क्यान्सर रोगका कारण उपचारका क्रममा निधन भएको थियो ।

उपनिर्वाचनका लागि जिल्ला निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले चितवन जिल्लामा कुल १५ पद रिक्त रहे पनि तीनवटा वडाध्यक्षका लागि मात्र मंसिर १४ गते निर्वाचन गर्न लागिएको जानकारी दिए ।

दलहरु पनि उम्मेदवार घोषणा गरेर चुनावी अभियानमा होमिएका छन् । तिहार सकिएलगत्तै चुनावी तयारीले गति लिन थालेको छ । उपनिर्वाचन हुने तीनवटा वडाका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् ।

प्रमुख दलले घोषणा गरे उम्मेदवार

उपचुनावका लागि भरतपुर महानगरपालिका वडा नं १६ मा नेकपाले भक्तराज हमाललाई उम्मेदवार बनाएको छ । यस्तै खैरहनी नगरपालिका वडा नं ४ मा बेदबहादुर अधिकारी र वडा नं ५ मा पुननारायण प्रधानलाई सर्वसम्मत रूपमा नेकपाले उम्मेदवार बनाएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

नेकपाले पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । जिल्ला नेता तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचार–प्रसार समिति गठन गरिएको छ । यस्तै सम्बन्धित वडामा समेत निर्वाचन परिचालन समिति गठन भएको अध्यक्ष परियारले जानकारी दिए । राष्ट्रियसभाकी सांसद पार्वती रावल संयोजक र अञ्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर–१६ निर्वाचन परिचालन कमिटि बनाइएको छ । त्यस्तै, खैरहनी नगरपालिका वडा नं ४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक र सोही नगरपालिकाको वडा नं ५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको नेकपाले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि उपनिर्वाचन हुने तीनवटै वडामा उम्मेदवारहरु घोषणा गरिसकेको छ । वडाबाट नै सिफारिस भएर आएका नामहरुलाई कात्तिक ३ गते बसेको बैठकले अनुमोदन गरेको कांग्रेस जिल्ला सचिव उत्तम जोशीले अनलाइनखबरलाई जानकारी दिए ।

कात्तिक ८ गते पार्टी महामन्त्री शशांक कोइरालाको उपस्थितिमा वडाध्यक्ष उम्मेदवारहरुको अनुमोदित नाम घोषणा गरिएको सचिव जोशीले बताए । जस अनुसार कांग्रेसले खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेत, वडा नं ५ मा प्रतिमा बस्नेत र भरतपुर–१६ मा अमृत हमाललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

पार्टीले तीनवटै वडामा प्रचार प्रसार समिति गठन गरेर निर्वाचनमा होमिने जिल्ला सचिव जोशीले अनलाइनखबरसँग बताए । खैरहनीका दुबै वडामा समिति गठन गरिसकिएको छ भने भरतपुर–१६ मा शनिबार भेला गरेर गठन गरिने उनले जानकारीले दिए । निर्वाचनको आवश्यक तयारी पार्टी सचिवालयले गर्ने सचिव जोशीको भनाइ छ ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले दुईवटा वडामा उम्मेदवार तय गरिसकेको छ । समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेलले भरतपुर–१६ र खैरहनी – ५ मा उम्मेदवार तय गरे पनि वडा नं ४ मा भने उम्मेदवार चयन गर्न बाँकी रहेको बताए ।

कसले जित्ला निर्वाचन ?

०७४ सालमा भएको स्थानीयको निर्वाचनमा खैरहनी नगरपालिकाका वडा नं ४ र ५ मा कांग्रेसका उम्मेदवारहरुले जितेका थिए भने, भरतपुर १६ मा एमाले उम्मेदवारले जितेका थिए ।

खैरहनी– ४ को गणित : यस वडामा कांग्रेसबाट उम्मेदवार बनेका देवबहादुर वस्नेत सोही वडाका पार्टी कार्यवाहक अध्यक्ष हुन् । नेकपाबाट उम्मेदवार बनेका बेदबहादुर अधिकारी पूर्वएमाले हुन् । अघिल्लो पटकको निर्वाचनमा कांग्रेस र एमालेको मतान्तर कम भएको र माओवादी केन्द्रको पनि मत राम्रै रहेका कारण यहाँको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ सालमा कांग्रेसका नरेन्द्रनाथ अधिकारीले ७३५ मत ल्याएर जित्दा तत्कालिन एमालेका जगतबहादुर रानाले ६७१ र माओवादीका दलबहादुर बस्नेतले ३८६ मत ल्याएका थिए । ०७४ मा २ हजार ३ सय १५ मतदाता रहेकोमा हाल बढेर २ हजार ६ सय ९२ पुगेको छ । यस वडामा मतदाता ३७७ जना थपिएका छन् । बढेको मतले निर्वाचनमा सामान्य प्रभाव पार्ने देखिन्छ ।

खैरहनी– ५ को गणित : वडा नं ५ मा कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार उठाइएकी प्रतिमा बस्नेत सोही वडाबाट निर्वाचित दिवंगत वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । नेकपाले यस वडामा नारायण प्रधानलाई उम्मेदवार बनाएको छ । प्रधान पूर्वमाओवादी केन्द्रका हुन् । ०७४ को निर्वाचनमा यस वडामा कांग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए । तत्कालीन एमाले र माओवादीको मत जोड्दा कांग्रेस उम्मेदवारभन्दा थोरै मात्र बढि देखिन्छ । यस वडामा ०७४ मा १ हजार ७८५ मतदाता रहेकोमा हाल बढेर २ हजार १११ पुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । यहाँ ३२६ मतदाता बढेका छन् । बढेका मतदाता, स्वर्गीय वडाध्यक्षकै धर्मपत्नी कांग्रेसको उम्मेदवार बन्नु र पूर्वमाओवादी केन्द्र समर्थकको उम्मेदवारी निर्वाचन परिणामलाई प्रभाव पार्ने तत्वहरु हुन् ।

भरतपुर–१६ को हिसाब : भरतपुर–१६ मा कांग्रेसबाट उम्मेदवार बनेका अमृत हमाल गत स्थानीय तहको निर्वाचनमा पनि पराजित उम्मेदवार हुन् । नेकपाले यहाँ अहिले भक्तराज हमाललाई उम्मेदवार बनाएको छ । उनी पूर्वएमाले हुन् ।

०७४ सालमा तत्कालीन एमाले उम्मेदवार चतुरमान गुरुङले कांग्रेसका उम्मेदवार हमाललाई ६४ मतको झिनो अन्तरले पराजित गरेका थिए । चतुरमानले २ हजार १३२ मत ल्याएर जित्दा कांग्रेसका हमालले २ हजार ६८ मत ल्याए । माओवादी केन्द्रका कृष्ण पुडासैनीले ९ सय ८९ मत प्राप्त गरेका थिए ।
०७४ सालमा यस वडामा कुल ७ हजार २५६ जना मतदाता रहेकोमा ५ हजार ७२३ मत खसेको थियो । हाल मतदाता संख्या बढेर ८ हजार ४८१ पुगेको छ । यस वडामा १ हजार २२५ जना नयाँ मतदाता थपिएका छन् ।

नेकपाका जिल्ला नेता रामप्रसाद न्यौपानेले जिल्लाका निर्वाचन हुने तीनवटै वडामा नेकपाका उम्मेदवारहरुले जित्ने दाबी गर्छन् । दुई कम्युनिष्ट पार्टीहरुको एकता, त्यसले बढाएको उर्जा र आत्मवल एवम् सरकारले गरेका राम्रा कामहरुका कारण नेकपा उम्मेदवारले जित्ने उनको तर्क छ । अहिले मतदाता थपिएको तथा तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेका कारण नतिजामा फरक पर्न सक्ने नेकपा नेताहरुको आँकलन छ ।

कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले खैरहनीका दुवै वडामा यसअघि कांग्रेसले जीत हासिल गरेकाले पुन जीत निश्चित रहेको दाबी गरे । साथै उनले कांग्रेसको मुख्य ध्यान भरतपुर–१६ मा केन्द्रित रहेको बताए ।

१३ हजार मतदाता, १३५ कर्मचारी परिचालन

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनको सबै तयारी तीव्र पारेको जनाएको छ । उपनिर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन १३५ जना कर्मचारीलाई खटाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । ती मध्ये ७५ जना कर्मचारी जिल्ला तहबाट र बाँकी स्थानीयस्तरबाट खटाइने ढकालको भनाइ छ । सुरक्षाकर्मी आवश्यकता अनुसार परिचालन गरिने छ ।

खैरहनी नगरपालिका वडा नं ४ मा दुई मतदानस्थल र ३ वटा केन्द्र रहने छन् । जनएकता आधारभूत विद्यालय हात्तीलेवटमा दुई केन्द्र रहने छन् । यहाँ मतदाता १ हजार ६०२ छन् । राप्रावि कुनाघारीमा एक मात्रैं मतदान केन्द्र रहनेछ । यहाँ १ हजार ९० जना मतदाता छन् । वडा नं. ५ मा राप्रावि सलौलीलाई मतदानस्थल तोकिएको छ । यहाँ रहने दुई केन्दमा २ हजार १११ मतदाताले मताधिकार प्रयोग गर्न सक्ने जिल्ला विर्नाचन कार्यालयका चितवनका प्रमुख ढकालले बताए ।

यस्तै भरतपुर– १६ मा तीनवटा मतदानस्थल र १० मतदान केन्द्र रहने छन् । वडा कार्यालयमा रहने मतदानस्थलमा दुई मतदान केन्द्र हुनेछन् । यहाँ १ हजार ४२२ मतदाता छन् । यस्तै, दुर्गा शेषकान्त मावि विजयनगर मतदानस्थलमा ४ मतदान केन्द्र रहनेछन् । यहाँ ३ हजार ५०० मतदाता छन् । मावि ढड्डाघारी मतदानस्थलमा ४ मतदान केन्द्र रहनेछन् । यहाँ ३ हजार ५५९ मतदाता छन् ।

तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३४२ जनाले मतदान गर्ने छन् । यसमध्ये भरतपुर–१६ मा ८ हजार ४८१ मतदाता छन् । खैरहनी– ४ मा २ हजार ६९२ र वडा नं ५ मा २ हजार १६१ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment