Comments Add Comment

वीरगञ्ज बजारमा छठ पर्वको रौनक

१६ कात्तिक, वीरगञ्ज । छठ पर्वका कारण आर्थिक नगरी वीरगञ्जमा अन्य दिनको तुलनामा चहल पहल बढेको छ । छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु वीरगञ्ज बजार आएका हुन् । वीरगञ्जको मुख्य बजार क्षेत्र घण्टाघर र माईस्थान क्षेत्रका सडकमा छठका समान किनबेच गर्नेको घुँईचो छ ।

वीरगञ्ज लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् ।  वीरगञ्ज लगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ ।

कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा छठ शुरु हुने गर्दछ । सप्तमी तिथीका दिनको बिहानसम्म गरि चार दिन छठ मनाइन्छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।

छठपूजामा छठी मातालाई चढाइ मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चीनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, अदुवाको बोट लगायतका फलफुल र हरियो तरकारीहरु हुन् ।

यी फलफुल र तरकारीको पसल वीरगञ्ज बजारको मुख्य सडकका फुटपाथ र सडक छेउमै थापिएका छन् । छठ शुरु भएसँगै थापिएका पसलहरुमा दिनभर ग्राहकहरु भिड देखिन्छ ।

छठ पर्व नजिकिएसँगै आवश्यक सामाग्री सहित वीरगञ्ज – १६ नगवाकी शिव कुमारी माईस्थानको सडकमा पसल लगाईहाल्छिन् । अन्य समयमा तरकारीको व्यापार गर्ने उनी छठमा आवश्यक पर्ने सुथनी, अरुनी, बोडी, आदि (अदुवा), हर्दि (बेसार), निम्बु (कागती), मुरही (मुला) पसलमा राख्छिन् ।

उनले छठका लागि आवश्यक समाग्रीको व्यापार बढ्दा आफूलाई फाईदा हुने बताईन् । ‘यसपाली अदुवा धेरै महंगो भयो, अरु समान त उस्तै उस्तै हो,’ उनले भनिन् ‘रक्सौलमै २ सय ५० रुपैयाँ भारु तिरेर ल्याउनुपर्‍यो । सबै मिलाएर २ सय रुपैयाँ प्रतिकिलोमा बिक्रि गरिरहेको छु ।’

वीरगञ्जको माईस्थान, घण्टाघर लगायतका क्षेत्रका सडक किनार छठ पर्वमा ‘कोशी भर्न’का लागि आवश्यक सामग्रीले ढाकिएका छन् । जसमा अदुवा, पिडालु, मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरा लगायतका कृषिजन्य उपज हुने गर्छ ।

अर्घपातका लागि कसैली (सुपारी), ईलाईची, ल्वाङ, सिन्दुर लगायतका समान चाहिन्छ । बजारमा नरिवल ३०-४० रुपैयाँ प्रति गोटा, अदुवा ४ सय रुपैयाँ प्रतिकिलो, मुला ४० देखि १ सय रुपैयाँ किलो, सुथनी १ सय रुपैयाँ किलो, केरा १ सय रुपैयाँ दर्जनसम्म किनबेच भईरहेको व्यापारीहरुले बताएका छन् । छठमा आफ्नै खेतबारीमा पाईने बस्तुहरुको प्रयोग गर्ने चलन भएपनि पछिल्लो समयमा सबैकुरा किन्ने चलन बढेको छ ।

वीरगञ्ज-१६ नगवाका राम प्रसाद चौरसिया सबै कुरा घरमा उपलब्ध नहुने भएकोले किन्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘कुनै कुनै समान घरमा हुन्छ, तर अधिकांश हुँदैन, नभएका समान किन्नैपर्छ,’ उनले भने ‘समान धेरै महंगो भईसकेको छ ।’

वीरगञ्जमा व्यापार गर्न आउनेमा आसपासका जिल्लाबाट मात्रै नभएर सीमावर्ती भारतीय राज्य बिहारका नागरिक पनि भेटिन्छन् । सर्लाही बलरा-९ नरहरगञ्जका हिरालाल दास १० वर्षदेखि वीरगञ्जमा अर्घपातको समान बेच्न आईपुग्छन् ।

‘छठका लागि खर्च निस्कन्छ, त्यही भएर यहाँ व्यापार गर्न आउने गरेको छु,’ उनले भने । मुख्य छठको दिन समेत आधा दिन व्यापार हुने गरेको भएपनि उनी घरमा छठ मनाउन भारतको बाटो हुँदै घर फर्किसकेका छन् ।

यसवर्ष कात्तिक १६ गते शनिबार सँझिया घाट अर्थात मुख्य छठको दिन हो । आईतबार बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

डोम समुदाय भन्छन्ः बाँसको समान शुद्ध, बनाउने मान्छे कसरी अशुद्ध ?

छठ पर्वमा दलित विपन्न समुदायको रुपमा परिचित डोम समुदायको सक्रियता बढ्छ । बाँस र बेतका चोयाबाट बनाईने सुपली, छ्रैटी, दउरा, नाङ्लो बनाएर बिक्री गर्नमा व्यस्त भएका छन् । उनीहरुले यही सामग्री बेचेर छठ पर्वमा मनग्य आम्दानी लिन्छन् ।

डोम समुदायले प्रत्येक छठ पूजामा  बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने गरेका छन् । कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले बिहान देखि बेलुकासम्म दउरा, छैटा, सुफली बनाउनमा तल्लिन हुन्छन् । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका सुफली, छउरा र छैटामा अर्घ दिनु अनिवार्य मानिन्छ ।

वीरगञ्ज गण्डक बहुअरीका नन्दु मल्लीले विगतका वर्षमा जस्तै बाँसका दउरा, छैटी, नाङ्ग्लो लगायतका समान बनाएर बजारमा बिक्री गर्न ल्याए । रंगीचंगी दउरा २ सय देखि २ सय ५० रुपैयाँमा, नांङग्लो आकार हेरेर २ सय देखि ३ सय रुपैयाँमा बिक्री भयो । एउटा राम्रो बाँसको ५-६ वटा दउरा बन्ने गरेको उनको अनुभव छ ।

तर उनलाई आफूले बनाएको समान किनेर पूजा गर्नेहरुले ‘दलित’ भनेर हेपेको पटक्कै मन पर्दैन । ‘ हामीले बनाएको समान पुजापाठमा नभई हुन्न, अनि हामीलाई नै तल्लो जात दलित भनेर हेला गर्छन, त्यतिबेला साह्रै दुःख लाग्छ,’ उनले गुनासो गरे ।

यसपाली छठमा नगवाका कन्हैया मल्लीले बाँसबाट बनाएका समान २० हजार मुल्य बराबरको बिक्रि गरे ।  ‘समान बनाउन डेढ महिना खटेको थिँए, ५/६ हजार बच्छ होला ।’ उनी भन्छन् । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा सफाई कर्मचारीको रुपमा कार्यरत उनको दिमागमा एउटै प्रश्न घुमिरहन्छ, ‘हामीले बनाएको बाँसको समान लगेर पुजामा प्रयोग गर्छन, शुद्ध हुन्छ अनि हामी मान्छे कसरी अशुद्ध ?’  तर ठूला जात भनाउँदाहरुको डरले उनी यो प्रश्न खुलेर बाहिर गर्ने आँट गर्न सक्दैनन् ।

बाँसले बनाएका जस्तै माटोले बनाएका समान छठमा अनिवार्य मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment