Comments Add Comment

काठमाडौं नटेकेका भक्तपुरे आमा–बाको कथा: ९६ वर्षसम्म देखिएन, अब रहर छैन

भक्तपुरबाट काठमाडौंको दूरी कति छ ? पैदल हिँडेरै एकाध घण्टामा काठमाडौं–भक्तपुर आउजाउ गर्न सकिन्छ । भक्तपुर र काठमाडौं सीमा जोडिएको छ । कचौरा जस्तो यो उपत्यकामा एक कुनादेखि अर्को कुनासम्म पुग्न कठिन छैन, त्यो पनि हिँडेरै ।

तर, भक्तपुरमा यस्ता पात्र समेत भेटिन्छन्, जसले आजको मितिसम्म काठमडौं टेकेका छैनन् । वर्षौं–वर्षसम्म पनि । अचम्म लाग्नु स्वभाविक हो, भक्तपुरमै जन्मिएर, हुर्किएर, बुढ्यौली जीवन विताइरहेका कतिपयले काठमाडौंको मुहार देखेकै छैनन् ।

भक्तपुरबाट काठमाडौं कति टाढा ?

जतिबेला पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हाँसिल गरे र बिस्तारै विशाल नेपालको मानचित्र बदलिँदै गयो । त्यतिबेलादेखि नै काठमाडौं नेपालको राजधानी हो । युवा पुस्तामा काठमाडौं धेरै अवसर भएको शहरको रुपमा धेरै पहिलेदेखि नै आकर्षण थियो भने बुढाबुढी भएपछि धार्मिक रुपले आकर्षण थियो । बुढ्यौली लागेपछि धेरैको एउटै धोको पनि हुन्छ पशुपतिको दर्शन गरेर मात्रै मर्ने । अझ काठमाडौंमा रहेका सयौं धार्मिक मन्दिरहरुले धेरैलाई यहाँ नआई बस्न मनैले मान्दैन ।

यति धेरै आकर्षण हुँदा पनि जीवनको उत्तरार्धमा पुगिसकेका एउटा शताब्दी पूरा हुन लागेका भक्तपुरे आमाबाहरु समेत अहिलेसम्म काठमाडौं आएका छैनन् भन्दा साँच्चै अचम्म लाग्न सक्छ । तर, यो कुनै अचम्मको कुरा नभएर यथार्थ हो ।

भक्तपुरको दत्तात्रय मन्दिरबाट पूर्वतर्फ केही अगाडि जाँदा पाटीमा खचाखच रुपमा भक्तपुरे बृद्ध बाआमाहरुलाई देख्न सकिन्छ । तीमध्ये एकाएक गरेर सोध्ने हो भने त्यहाँ नै भेटिन्छन् बुढेशकालसम्म पनि काठमाडौं नआएका आमाबाहरु ।

उनीहरु बाहिरी मानिसले बोल्ने नेपाली भाषामा कुराकानी गर्न सक्दैनन् । नेपाली बुझ्दैनन् पनि । उनीहरुमा आधुनिकताले अझै छोएको छैन । प्रायः सबै जना पूर्ण रुपमा नेवारी कला झल्झिने पहिरनमा आफ्नै सुरमा बसिरहेका हुन्छन् । सोही पाटीमा केही बाआमाहरु मुस्किलले नेपाली बोल्न सक्ने पनि भेटिन्छन् । तर, भक्तपुरलाई एकै क्षणपनि नछाडी मर्ने रहर पालेर बसेका ती बाआमाहरुसँग उनीहरुको जीवनशैली र काठमाडौं नआउनुको कारण भने आ–आफ्नै छ ।

त्यतिमात्रै होइन । यो पाटीमा बस्ने सबै बाआमाहरु एकै थरीका छैनन् । स्थानीयको कुरालाई आधार मान्ने हो भने त्यही पाटीमा बस्नेहरु मध्ये आधाभन्दा बढी अमेरिका पुगिसकेका छन् । सोही पाटीमा बस्नेहरु अहिलेसम्म काठमाडौं नटेकेका पनि छन् । छोराछोरी अमेरिका र युरोपियन मुलुकमा पुगेकाहरुले नाति–नातिना स्याहार्नको लागि पनि धेरैजना अमेरिका पुगिसकेका छन् । तर, केहीलाई भने काठमाडौं पनि ‘दूरको तीर्थ’ भएको छ ।

कठमाडौं पुग्नुपर्छ भन्ने लागेन

भक्तपुरको विष्णुभक्त कुसीले दत्तात्रय मन्दिरको केही तल पुगेपछि आइपुग्ने वाकुपाटीमा दिन गुजार्न थालेको १२ वर्ष जति भयो । उनी उमेरले ८५ वर्षका भए । काठमाडौंको रत्नपार्कबाट उनको बस्ती रहेको ठाउँसम्म जानको लागि लगभग १५ किलोमिटरको दुरी छ । समयको हिसाबले यो आधा घण्टाको दूरी हो । तर, ८५ वर्षीय उनी अहिलेसम्म पनि काठमाडौं आएका छैनन् । यति छोटो दुरीको ठाउँ काठमाडौं आउन उनलाई फुर्सद नभएको पनि होइन । उनलाई काठमाडौं जानुपर्छ भन्ने पनि भएन र काठमाडौं आउनै पर्ने आवश्यकता पनि रहेन

दत्तात्रय मन्दिर छेउमा एउटा चियाको पसलसँगै लस्करै दुई\तीन पाटीहरु छन् । त्यसैको छेउमा चिया खान आउनेहरु जो कोहीलाई थाहा हुन्छ कहिलै पनि काठमाडौं नआएकी विष्णुमाया ज्याख्वाको बारेमा । हँसिली स्वभावकी, कहिलै पनि रिसाउन नजानेकी ज्वाख्वालाई निरन्तर एक दशकदेखि सबैले त्यही पाटीमा देख्दै आएका छन् ।

उनी जाउन् पनि कहाँ ? उनको भन्नु नै यही पाटी हो । घरमाभन्दा धेरै समय त उनले यही पाटीमा बिताउने गरेकी छिन् । अहिले उनको घर पनि छैन । परिवार पनि । त्यसैले त एक शताब्दी पूरा हुने बेलामा भूकम्पको राहत संकलन गरेर घर बनाउने सोच पनि राखिनन् उनले । पहिले पनि एउटा टहरामा दिन बिताएकी उनलाई राती ९–१० घण्टाको लागि मात्रै आवश्यक हो त्यो टहरा । त्यसैले टहरा जस्तै त्यो पाटी र पाटीमासँगै बस्ने दौतरीहरुसँग नै उनको बढी प्रेम छ ।

उनको आफ्नो छुट्टै दैनिकी छ । पाटीबाट झण्डै १० मिनेटको बाटोमा रहेको घरमा बिहान उठेर चिया पकाउने । चिया पिएर एकछिन बाहिर घाम तापेर बस्ने । बुढेशकालको ज्यानलाई बचाउनको लागि नौ बजेतिर २ गाँस टिपेपछि उनी पुगिहाल्छिन् आफ्नै पुरानो फल्चामा । उनलाई त्यसबाहेक बेलुका खाना खाने बेलासम्म केही पनि खाजा खानु पर्दैन । उनको सो फल्चामा उनीमात्रै होइनन् । उनीभन्दा उमेरले साना धेरै बुढाबुढीहरु त्यसरी नै दिन बिताउने गरेका छन् ।

के पाइन्छ काठमाडौंमा ? 

पाखुरामा दम हुँदासम्म उनको दैनिकी आफ्नै पुख्र्याैली खेतमा खेती गरेर नै बित्ने गर्दथ्यो । त्यो समयमा पाटीका दौतरीको मायाले पनि उनलाई खासै तानेन । त्यतिबेला उनलाई धेरै कुरा भ्याउनु छ जस्तो पनि लाग्थ्यो । तर, उमेर ढल्किँदै गएपछि उनमा दार्शनिक सोच आउन थालेको छ । पहिले कहिलै नसकिने खेतको काम उनलाई बेतुकको लाग्न थालेको छ । साथमा बुढेशकालमा मन्दिर धाएर गर्ने पुजा पनि । भगवान पशुपति नाथ, पाटनको मत्स्येन्द्रनाथको मन्दिर, स्वयम्भु जान मन लाग्दैन ? भन्ने प्रश्नमा उनले सबै भगवानहरु आफ्नै मनमा भएपछि मन्दिर धाएर नाटक गरिरहनु आवश्यक नरहेको जवाफ दिए । उनी भन्छन् ‘किन जाने काठमाडौं ? के पाईन्छ र काठमाडौंमा ? कामकेही छैन । पैसाको मात्रै खर्च गर्न किन जाने ? मनैमा भगवानको बास भएपछि मन्दिर धाइरहनु पर्दैन ।’

बुढेशकालले छोपेपछि उनको माया खेतसँग होइन, दिनभरी दुख सुखको कुरा गर्ने दौतरीहरुसँग गासिन थालेको छ । उनी कहिले आफू मिठो मसिनो ल्याएर पाटीका साथीहरुलाई खुवाउँछन् त कहिले अरुले ल्याएको कुरा खान्छन् । पाँच सन्तानका पिता उनी अहिले घरमा एक्लै छन् । उनका ४ छोरा र एक छोरी छन् । तर, बुढेशकालका बाबुलाई हेर्नको लागि भनेर छोराछोरीले आफ्नो भविष्य बिगार्न चाहेनन् । सँगै बसेको भएपनि आखिर दिउँसो त यही पाटीमा बिताउनै पथ्र्याे । तरपनि, अहिले घरमा राति पनि विष्णुभक्त एक्लै छन् ।

काठमाडौं घुमाउने को छ र ? 

नानी मैयाँ ख्याबोले पनि वाकुपाटीसँगै जोडिएको अर्काे पाटीकी नियमित बासिन्दा हुन् । उनी कुसी र ज्याख्वा जस्तो काठमाडौं नै नटेकेकी पात्र भने होइनन् । तर, उनको चेतनाले काम गर्न सक्ने भएपछि उनी काठमाडौं टेकेकी छैनन् । हिसाब गर्दा उनी काठमाडौं नआएको ७२ वर्ष भयो । उनी पनि नेवारी भाषा बाहेक अरु भाषामा कुरा गर्न सक्दिनन् । नेवारी भाषामा नै उनले सात वर्षको उमेरमा एक पटक भजन मण्डलीसँगै ललितपुरको मत्स्येन्द्रनाथ दर्शन गर्न गएको सुनाईन् । त्यसपछि उनलाई काठमाडौं ल्याईदिने कोही पनि भएनन् ।

अब त उनलाई काठमाडौं आउन पनि मन मरिसक्यो । उनी भन्छिन् ‘आफन्त पनि छैनन्, सन्तान पनि छैनन् । कसले लगिदिने ? त्यहाँ गएर पनि बस्ने ठाउँ छैन ।’ उनलाई काठमाडौंको विकासले होइन । धेरै पहिले नै भगवानको आस्थाले एकपटक जान मन थियो तर, अहिले त्यो पनि मन मरिसक्यो । ख्याबोलेले अहिलेसम्म विवाह गरेकी छैनन् । त्यसैले उनको बुढेशकालको साहारा पनि छैनन् । ‘आफन्तको नाममा भदाहरु छन् । उनीहरु पनि आफ्नै काममा व्यस्त छन् । हाम्रो साहारा यही पाटी मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment