Comments Add Comment

कामरेड विपी कसरी जन्मन्छन् ?

वैशालु उमेरको पूवार्द्धमा ‘हिरो बन्ने’ ह्याङओभर थियो एक मित्रलाई । नाम शरद सुब्बा । औसतभन्दा अग्ला, हलक्क हुर्केका, सुहाउँदो शारीरिक नाप-नक्सा । राजेश हमालले झै गर्जिएर डाइलग बोल्थे । अन द स्पट अभिनय गरेर देखाइदिन्थे । उनीभित्र रहर उम्लिएको थियो, ‘हिरो त बन्छु कि बन्छु ।’

तर, उनी हिरो बनेनन् ।

कार्यकर्ता बने । पार्टीको । त्यो पनि आफ्ना पिताले समातेको आस्था र आदर्शलाई भत्काउँदै । बुवा खानदानी फलानो पार्टी । छोरो कट्टर ढिस्कानो ।

हिरो बन्ने सपनाबाट ब्युझिँएर उनी किन कार्यकर्ता बने ?

निर्वाचनको माहोल थियो । गाउँमा पार्टीको भागबन्डा सुरु भयो । भित्ताहरु रंगिन थाले । घर-घरमा झन्डा फहराउन थाले । रक्सी भट्टीहरु मात्तिए । गाउँ गुल्जार भयो ।

हामी भर्खर भोट दिने उमेरका । भोट किन दिने ? कसलाई दिने ? सिद्धान्त के हो ? घोषणापत्र कस्तो छ ? थाहा पत्तो थिएन । थाहा त्यतिमात्र थियो, ‘नेताले गाउँ बनाउँछ ।’

हामीलाई गाउँ बनाउनु थियो ।

टेलिफोन ल्याउनु थियो । सडक कालोपत्रे गर्नुथियो । जसले यो सर्त मान्छ, भोट खर्लप्प उसैको पोल्टामा ।

अन्ततः एक फर्साइला उम्मेदवार राजी भए । उनले हाम्रो सर्तलाई स्वीकृति स्वरुप टाउको हल्लाएर मात्र अनुमोदन गरेनन्, तमसुक शैलीमा लिखित सम्झौता नै गरे । त्यसपछि नै हो, मित्र शरद पार्टीको कार्यकर्तामा रुपान्तरण भएको । नेताको झोला बोकेर हिँडेको । ‘मैले बुवाको पार्टी छाडेँ’ भन्दै कुर्लेका ।

आखिरमा उनै नेताले चुनाव जिते । फूलमाला र अबिरले पुरिएर उनले वाचा दोहोर्‍याए, ‘तपाईंहरुको माग पुरा गर्नेछु, पक्का ।’

***

चुनावी माहोल छ, खडेरी गाउँमा । ध्वजापतका फहराइएको छ । भित्ता-भित्तामा पोस्टर टाँसिएको छ । भोट माग्नेको लस्कर छ । एउटै आँगनका छिमेकी दलीय भागबन्डाले विभाजित छन् । गुप्त स्वार्थको खिचातानीबीच सर्वसाधारण रुमल्लिएका छन् ।

ठिक यही बेला बयस्क विपी (दीपकराज गिरी) फरक कित्तामा उभिएर उद्घोष गर्छन्, ‘भोट नगरौं ।’

पिताको राजनीतिक आस्था र आदर्शलाई शिरोधार गर्दै वैशालु उमेर गुजारेका कामरेड विपी चुनावको उत्कर्षमा किन बदलिए ?

किनभने, उनलाई गाउँ बनाउनुछ ।

खडेरी गाउँलाई सिञ्चित गर्नुछ । पानीको मुल फुटाउनुछ । र, विपीको ब्रम्हज्ञानले ठोकुवा गर्छ, ‘यो काम नेताले गर्दै, गर्दैन ।’

गर्भदेखि राजनीतिक सिद्धान्त र दर्शनमा डोहोरिएर उनको वैश खुइलियो । इच्छा-आकांक्षा खुम्चियो । जीवनको रंग उड्यो । जन्मजात पार्टीमा लालछाप लगाएर पनि उनले के पाए ?

गाउँको तिर्खा मेट्न आज्ञाकारी कार्यकर्ता भए । कहिले चन्दा उठाउँदै त, कहिले भोट माग्दै हिँडे । कर्मचारीको ढोका ढकढक्याए । नेतालाई काँधमा हाले । तर, खडेरी गाउँ तिर्खाइरहृयो । पानीका खातिर आमाहरु कष्टका श्रृंखलामा ताँती लागिरहे । काकाकुल गाउँ चरम वितृष्णाको रापमा रापिइरहृयो ।

आखिरमा विपीले विद्रोह गर्नैपर्‍यो । आफ्नो पिताको आस्था र आदर्शलाई लात मार्दै उनले गाउँका युवाहरुलाई एकबद्ध गरे । र, निडरतासाथ गर्जिए, ‘नो भोट ।’

खडेरी गाउँवासीलाई ‘पानी’को प्रलोभनमा पारेर आफ्नो ‘भोट बैंक’ बनाइराख्ने धूर्त एवं झेली नेताहरु अब निहुरिए । विपीको निर्णयक कदमले अन्ततः खडेरी गाउँमा पानीको धारा बग्न थाल्यो ।

***

‘छ माया छपक्कै’का कामरेड विपी र मेरा बालसखा शरद सम्भवतः उही कालखण्ड, उस्तै पृष्ठभूमि र उही मुद्दामा चेपिएर नेताका ‘भरौटे’ हुन पुगे ।

पिताको आस्थालाई भत्काएर, अमुक नेताको झोला बोकेर, किशोरावस्थाको रगत र जोश खर्चिएर उनले केही पाएनन् । उनका अडान र उद्देश्य अधकल्चो रहृयो ।

‘छ माया छपक्कै’मा जस्तो टि्वस्ट आएन, उनको कथामा ।

विपीले जित्यो । मित्र शरदले जितेन । खडेरी गाउँको धारामा पानी आयो । मेरो गाउँको बाटो उस्तै रहृयो ।

***

यसपाली दशैंमा गाउँ जाँदा चालकले आनाकानी गर्‍यो, ‘दाइ बाटो खत्तम छ, गाडी चिप्लेटी खेल्छ । फोरहृवील छैन ।’

पुरानो मोडलको ल्यान्डरोभरमा यात्रा गर्दा ‘एडभेन्चर गेम’ खेले बराबर । रामदेवको योगले नभ्याउने पेटको व्यायाम हुने । मानौं यो बाटो, बाटो नभएर ‘साहसिक चिप्लेटी’का लागि तयार गरिएको अफरोड ट्र्याक हो ।

हाम्रा पिता-पूर्खाको पैतलाको डोब छ त्यो बाटोमा । थाप्लोमा क्विन्टलको भारी बाकेर त्यही बाटोमा पसिना चुहाए । कुर्कुचा फुटाए । त्यो कष्ट सम्झेर उनीहरुले कामना गरे होलान्, ‘हाम्रा सन्तानले यस्तो दुःख झेल्न नपरोस् ।’

तर, बाटोको दशा बदलिए पो ?

‘यसपाली त पिच हुन्छ रे ।’ ‘पाँच करोड निकासी भयो रे ।’, ‘ठेक्का खुलाइसक्यो रे ।’ यो ‘रे’ फुर्को जोडिएको कुरा कैयौं पटक सुनियो । तर, बाटो बन्दैन । बरु यही आश्वासन नवीकरण भइरहन्छ ।

युगौंदेखि यातायात र ढुवानीको कष्ट खेपिरहेका त्यो गाउँको व्यथा अझै आलै छ । माइपोखरी-सन्दकपुर जाने त्यही बाटो आज नेताहरुको भोट फकाउने ‘इस्यु’ बनेको छ । ‘कालोपत्रे गरिदिन्छु’ भन्दै भोट माग्छन् । चुनाव जित्छन् । फर्केर आउँदैनन् ।

अब कुनैबेला चुनाव भएमा शरदहरु उम्लनेछन् । र, बाटो छेक्नेछन्, ‘नो भोट ।’

***

अब ‘छ माया छपक्कै’को कुरा ।

राजनीतिक कित्ताकाटले गाउँ-समाजलाई कसरी दीर्घरोगी, जीर्ण र रुखो बनाउँछ ?

ग्रामीण समाजलाई व्यथित बनाइरहेको एउटा कालखण्डको सद्दे तस्वीर हो, चलचित्र ‘छ माया छपक्कै’ । चलचित्र हेरिरहँदा धेरैलाई आफ्नो समाजको कष्ट र अप्ठ्याराहरु अनुभूत हुनेछ । यो एक मनोसामाजिक द्वन्द्व हो । राजनीतिक स्वार्थ घुलिएपछि सामाजिक व्यवहार साँघुरो र अनुदार बन्दै जान्छ भन्ने तथ्यको प्रष्टीकरण पनि हो यो ।

‘प्राकृतिक स्रोतको बाँडफाँड’ जस्तो आलो र जटिल मुद्धालाई मध्य रेखामा राखेर चलचित्र राजनीतिक बिकार, हाँसो-मनोरञ्जनदेखि माया-पिरतीसम्मको आयममा फैलिएको छ । चलचित्रमा राजनीतिक प्रतिशोधको कुटिल घम्साघम्सी मात्र छैन, हराभरा मनोरञ्जन पनि छ । ‘हास्य-विनोद’को भरिपूर्ण डोज छ ।

त्यसो त गहन मुद्दा उत्खनन गर्दैमा, गतिलो कथा बुन्दैमा चलचित्र ‘उत्कृष्ट/अब्बल’ हुने होइन । उक्त मुद्दा र कथालाई कति सुरुचिपूर्ण ढंगले पेश गरिएको छ भन्ने कुराले खास माने राख्छ । ‘छ माया छपक्कै’ले अढाई घण्टाको अवधिसम्म दर्शकलाई विचलित हुन दिँदैन । पटकथा-संवाद कसिलो र रसिलो छ । कथा भड्किएको छैन । सिनेम्याटोग्राफी र पाश्र्व-ध्वनिले त्यसमा थप टेवा पुर्‍याएको छ ।

यसपाली दीपक-दीपाको गठबन्धन अरु गठिलो र बलियो भएको छ । विगतमा उनीहरु जहाँ-जहाँ चुकेका थिए, त्यो भ्वाङ टालिदिएका छन् दीपेन्द्र लामाले । यद्यपि समीक्षक हुँदै निर्देशक बनेको लामाले आफ्नो ‘सिने क्राफ्ट’ भने खिप्न सकेका छैनन् ।

झिनामसिना कमी-कमजोरीलाई छाड्ने हो भने ‘छ माया छपक्कै’ हेर्नलायक चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment