Comments Add Comment

यसरी गरियो छठको बिदाइ (फोटो फिचर)

१७ कात्तिक, काठमाडौं । यस वर्षको छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ ।

३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजनकीर्तन गर्दै जाग्राम बसेर भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । छठ पर्व चार दिनसम्म चले पनि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने दिन विशेष मानिन्छ ।

काठमाडौं उपत्यकासहित तराई–मधेसवासीले नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट आइतबार उदाउँदो सूर्यलाई अर्घ दिए घर फर्किएका छन् । घर फर्किने क्रममा व्रतालुहरुले वेदना र छठी माताको महिमा गाउने तथा छठ पूजा समापन गरी चेलीबेटीलाई टीका लगाइदिएर प्रसाद वितरण गर्ने चलन छ ।
सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ ।

विगतमा मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने छठ पर्वलाई हाल काठमाडौं उपत्यकासहित देशभरका पहाडे समुदायले पनि विशेष आस्था र भक्तिपूर्वक मनाउँदै आएका छन् ।

काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, नाग पोखरी, गुहेश्वरी, बागमती, विष्णुमतिलगायतका स्थानमा पनि छठ पर्व मनाउनेहरुको विशेष चहलपहल छ । काठमाडौं उपत्यकाका बिभिन्न नदी र पोखरीमा भेला भएर आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएकाहरुको तस्वीर हेर्नुहोस् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment