Comments Add Comment

तपाईं पनि धेरै सोच्नुहुन्छ कि ?

३७ वर्षीया  विद्या स्कूलकी प्रिन्सिपल हुन् । उनकी छोरी आठ कक्षामा अध्ययनरत छिन् र श्रीमान् एउटा निजी कम्पनीका म्यानेजर हुन् । भन्नका लागि उनको जीवन निकै व्यवस्थित छ । उनलाई कुनै पनि चिन्ता छैन । जसका पछाडि उनले आफ्नो दिमाग लगाउनुपरोस् । यद्यपि, वास्तविकता के छ भने उनी मनदेखि निकै चिन्तित छिन् । कहिले स्कूलको पर्फमेन्स त कहिले सम्बन्धसँग जोडिएका अपेक्षाहरु, कहिले छोरीको चिन्ता त कहिले श्रीमान्प्रति नै शंका । अर्थात् उनी सधैं कुनै न कुनै उल्झनमा डुबिरहेकी हुन्छिन् ।

उनको दिमागमा विचारहरु सल्बलाइ रहन्छन् । जसको नतिजा के हुन्छ भने उनी सधैं तनावमा हुन्छिन् । चिडचिडापन उनको स्वभावको अंग बनिसकेको छ । त्यसैकारण उनले धेरै पटक निकै समस्याहरुको सामना समेत गर्नु परेको छ । उनको अनुहारबाट स्वभाविक मुस्कान गायब भइसकेको छ । पारिवारिक नाता-गोतामा समेत असमझदारी प्रारम्भ हुन थालिसकेको छ । नतिजा, जीवन खुशीयाली भएपनि उनी खुशी छैनन्, स्वस्थ देखिएपनि उनी स्वस्थ छैनन् ।

आज हामीले जीवनका हरेक क्षेत्रमा सफलता हाँसिल गरिरहेका छौं । स्वास्थ्य तथा विज्ञानको क्षेत्रमा भएको प्रगतिको साथले हामीले विकासको पराकाष्ठालाई पनि हाँसिल गरिरहेका छौं । हामी हरेक अर्थमा आधुनिक भइसकेका छौं । सुविधाका हरेक सामानहरु हामीसँग छन् । जसलाई जति बेला चाहृयो, त्यति नै बेला सम्पर्क गर्न सक्छौं । जहाँ जान मन लाग्यो त्यहाँ जान सक्छौं । आफूलाई मन लागेको काम गर्न सक्छौं । त्यही पनि काहीँ न काहीँ चिन्तित छौं, दुःखी छौं । हाम्रो दिमागमा कुनै न कुनै कुरा चलिरहेको हुन्छ । फलस्वरुप हामी तनावमा पर्छाैं ।

विश्वका १० मध्ये हरेक चौथो व्यक्ति आफ्नो सोच्ने क्षमताभन्दा बढी सोच्दछ र ती कुरालाई लिएर उल्झिन्छन् । जुन उसको क्षमतामा छँदै छैन । यसैलाई बढी सोच्ने बिमारी भनिन्छ ।

के हो अत्यधिक सोच्नु ?

सबैभन्दा पहिला के कुरा अनिवार्य छ भने हामीले ओभर थिङ्किङलाई एउटा बिमारीको रुपमा लिनुपर्छ । त्यसो त हामीलाई लाग्न सक्छ, यसबाट कुनै हानि हुँदैन । तर वास्तविकता के छ भने आवश्यकताभन्दा बढी सोच्नाले हाम्रो क्षमतामै अवरोध हुन सक्छ । यस सन्दर्भमा कोलम्बिया एशिया हस्पिटलकी डा.श्वेता शर्माले व्यक्त गरेको केही विचारहरु उल्लेख गरिएको छ ।

ओभर थिङ्किङका केही लक्षणहरु

-कुराकानीको क्रममा तालमेल बनाइराख्नमा कठिनाई हुनु ।

-मन मनै लगातार तुलना गरिरहनु ।

-हरेक चिजको नकारात्मक पक्षका बारेमा सोच्नु ।

-पछिल्लो असफलताहरु तथा कमीको बारेमा लगातार विचार गरिरहनु ।

-भविष्यका कार्यहरु तथा लक्ष्यहरुलाई लिएर अत्यधिक निराश हुनु ।

-कुनै दुःखद् अनुभवको बारेमा हरेक समय कुरा गरिरहनु ।

-आफ्नो भयलाई कम गर्नका लागि असमर्थ महसुस गर्नु ।

यो बिमारीको परिणाम

जो व्यक्ति ओभर थिङ्किङको समस्यासँग जुधिरहेको छ । उनीहरुले गम्भीर मानसिक समस्याहरुको समेत सामना गर्नुपर्छ । उनीहरु नकारात्मक विचारहरुमा नियन्त्रण राख्नका लागि असमर्थ महसुस गर्दछन् । बारम्बार आउने नराम्रो विचार तथा भयको कारणले त्यस्ता व्यक्तिहरु सामाजिक जमघट तथा कार्यस्थलमा राम्रो प्रदर्शन गर्न सक्दैनन् । साना-साना कार्यहरुमा समेत उनीहरु पछि पर्छन् । यसबाट ठूलो उर्जाको ह्रास समेत हुन्छ । किनभने त्यस्ता मानिसहरुको दिमाग बिना अर्थका कुराको बारेमा सोच्दा-सोच्दा थाकिसकेको हुन्छ । यो समस्याबाट पीडित व्यक्तिहरु यसरी नकारात्मकताको शिकार हुन्छन् कि अन्य सामान्य भावनाहरुलाई समेत महसुस गर्न पाउँदैनन् ।

त्यस्ता व्यक्तिहरुको सामाजिक जीवन पनि प्रभावित हुन्छ । ती व्यक्तिहरु आफ्ना साथी, प्रेमीदेखि जागिरसम्म गुमाउन पुग्छन् । किनभने यो समस्याले बिस्तारै एउटा मानसिक स्वास्थ्य समस्याको रुप लिन सक्छ । यसको परिणामस्वरुप यो समस्या व्यक्तिको दिमागमा अझ बढी हावी हुन्छ । यो स्थितिबाट टाढा जानका लागि जुन टे्रण्ड देखिएको छ, त्यो पनि निकै खतरनाक छ । मानिसहरु प्रायः अत्यधिक भोजन तथा अल्कोहल जस्ता वस्तुको साहारा लिएर समस्याबाट बच्ने प्रयास गर्छन् । जसले उनीहरुको स्वास्थमै नराम्रो प्रभाव पार्न सक्छ ।

ओभर थिङ्किङबाट बच्नका लागि

यो समस्याबाट छुटकारा पाउन सम्भव छ । त्यसका लागि हामीले आफ्नो मन-मस्तिष्कमा नियन्त्रण कायम गर्नुपर्छ र सकारात्मकताले आफ्नो जीवनबाट यो बिमारीलाई बाहिर निकाल्नुपर्छ । त्यसका लागि यी प्रयासहरु गर्न सकिन्छ ।

-ती वाक्यहरु तथा विषयहरुको बारेमा एउटा नोट बनाउनुपर्छ । जसको बारेमा सोचेर तपाईं प्रायः हराउने गर्नुहुन्छ । ती कुराहरुलाई गौण गर्नुपर्छ र विचारहरुको अध्ययन गर्न थाल्नु हुन्छ ।

-जुुन कुराहरुको बारेमा तपाईं सोचिरहनु हुन्छ । तीसँग सम्बन्धित एक्सन ओरियन्टेड जवाफको खोजी गर्नुपर्छ । त्यसो त जिज्ञासाहरुमै उल्झिरहनु तपाईंलाई अझै रोचक लाग्न सक्छ । तर, तपाईंको लक्ष्य त्यस्तो समाधान खोज्नेतर्फ हुनुपर्छ । जसको केही परिणाम निस्कियोस् ।

-आफैंले आफैंलाई के सोध्नुपर्छ भने तपाईंले गल्तीहरुबाट के सिक्ने ? ताकि भविष्यमा तपाईर्ंले समस्याहरुलाई सामना गर्नु नपरोस् ।

-आफ्नो लागि थोरै समय निकाल्नुपर्छ । एकान्तमा बसेर तपाईंका समस्याहरुको सही समाधान के हुनसक्छ भन्ने बारेमा सोच्नुपर्छ ।

-तपाईंलाई आवश्यकता परेको बेला कसैसँग सहयोग लिन हिच्किचाउनु हुँदैन ।

यदि तपाईंको दिमाग तपाईंको पूर्ण नियन्त्रणमा छ भने योभन्दा सुन्दर सम्पत्ति अरु केही हुन सक्दैन । विचारहरुलाई यदि सही ढंगले व्यवस्थापन गरियो भने आफ्ना हरेक इच्छालाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ । सही उपायहरुद्वारा तपाईंले ओभर थिङ्किङबाट आफैंलाई बचाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment