Comments Add Comment

विद्युतीय सवारीको चार्जिङ स्टेसनका लागि छुट्टै महसुल तोकिँदै

१७ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलोपटक विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि छुट्टै महसुल तोक्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले चार्जिङ स्टेसन सञ्चालकले सवारी धनीसँग लिन पाउने शुल्क तोक्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

प्राधिकरणको सिफारिसमा यस्तो शुल्क विद्युत् नियमन आयोगले निर्धारण गर्नुपर्छ । हालसम्म विद्युतीय सवारी चार्जिङका लागि स्टेसनले लिन पाउने शुल्क निर्धारण भएको छैन । यसअघि ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा एक समिति बनाएर सरकारले चार्जिङ स्टेसन सञ्चालकले प्राधिकरणलाई तिर्नुपर्ने शुल्कमा २० प्रतिशतभन्दा बढी थपेर सेवा शुल्क लिन नपाउने गरी कार्यविधिको मस्यौदा प्रस्ताव गरेको छ ।

चार्जिङ स्टेसन स्थापना र सञ्चालनका लागि कार्यविधि सिफारिस गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यसको प्रतिवेदन गत भदौ ११ मै दिएको थियो । हाल यातायात क्षेत्रलाई चार्जिङका लागि दिइने विद्युतमा राति प्रतियुनिट ४ रुपैयाँ शुल्क छ । दिउँसो चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ र साँझ पिक आवरमा करिब ९ रुपैयाँ शुल्क तोकिएको छ ।

निजी क्षत्रेलाई पनि चार्जिङ स्टेशनमा लगानी गर्ने वातावरण बनाउन सरकारले शुल्क तोक्न लागेको हो । अधिकांश विद्युतीय सवारी रातको समयमा चार्ज हुने गरेकाले सिफारिस अनुसार निर्णय भएमा चार्जिङ खासै महंगो पर्ने छैन । चार्जिङ स्टेसनमा चार्ज नगरी नीजि तथा आवासीय भवनमा चार्ज गर्दा भने गाह्रस्थ ग्राहकले तिर्ने महसुल नै लाग्ने गरी कार्याविधिमा प्रस्ताव गरिएको थियो ।

यो पनि पढ्नुहोस विद्युतीय सवारीका लागि चार्जर स्टेशन निर्माण गर्दै प्राधिकरण

व्यवसायिक रुपमा खुल्ने चार्जिङ स्टेशसनले भने १५ देखि २० प्रशितसम्म मात्रै सेवा शुल्क लिन पाउने सिफारिस सो समितिले गरेको थियो । सिफारिस अनुसार ढिलो हुने चार्जिङमा थप १५ प्रशितसम्म  र अत्याधुनिक तवरको छिटो हुने चार्जिङमा थप २० प्रतिशतसम्म शुल्क पाइनेछ । चार्जिङ स्टेशनको मापदण्ड भने विद्युत प्राधिकरणले तोक्नेछ । यो मापदण्ड र कार्यविधि प्राधिकरणले नै बनाएर उसकै सञ्चालक समितिले पास गर्नुपर्नेछ ।

अर्याल संयोजकत्वको समितिले चार्जिङ स्टेसनका लागि विद्युत प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा  घरमा सवारी चार्ज गर्न अनुमति लिनु नपर्ने भए पनि नियमितभन्दा बढी लोड लिनुपर्ने भए त्यसको जानकारी प्राधिकरणलाई दिनुपर्ने गरी कार्यविधि बनाउन भनिएको छ ।

प्राधिकरणले सुरुआत गर्दै

विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरण आफैंले काठमाडौंबाहिरका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्दैछ ।

राजमार्ग र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । यसमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । उपत्यका बाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतमा चार्जिङ स्टेसन राख्न खोजिएको छ ।

बिशेषगरी सवारी साधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको छ । अबको ६ महिनामा चार्जिङ स्टेसन खालिसक्ने योजना बनेको छ ।

हाल काठमाडौंमा ६ देखि ७ सय वटा विद्युतीय सवारीसाधन रहेको अनुमान छ । ती सवारीलाई घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ ।

अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले उपत्यका, राजमार्गहरु र विभिन्न शहरहरुमा सुविधा दिन लागेको हो । महसुल तोकेपछि निजी क्षेत्रले पनि यसमा चासो देखाउने विश्वास प्राधिकरणको छ ।

विजुली खपतको योजना

यस आर्थिक वर्ष अन्त्यसम्म माथिल्लो ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु हुने हुँदा देशमा विद्युतको खपत बढाउनुपर्ने अवस्था छ । यसका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनै पर्ने प्राधिकरण बताउँछ ।

अब देशभित्रै बिजुलीको खपत बढाउन आवश्यक हुने भएकाले त्यसका लागि विद्युतीय गाडीको प्रवर्द्धन योजना बनेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विजुली बढी हुने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौंका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।

पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज लगायतका स्थानमा पनि स्टेसन जडान गर्ने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्याकाभित्र बसहरुका लागि पनि ठूला स्टेसन बनाउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment