Comments Add Comment

बुहारी र सासुको पेलाइमा परेका आमा पुस्ता

बेला वसन्तको पर्ख, जिन्दगीको हठी बनी

सहु सहु सहु बाबु सहनै नसकेपनि

-बालकृष्ण सम

यो कविता ध्रुव नाटकमा नाट्यसम्राट बालकृष्ण समले आफ्नै जीवन कथासँग दाँजेर लेखेका हुन् । आफू दोस्रो श्रेणीको राणा भएको कारणले उनीहरूलाई पहिलो श्रेणीका राणाहरूले ठूलो भेदभाव गर्दथे । त्यही पीडालाई व्यक्त गर्नको लागि उनले यो नाटक लेखेका थिए । यो उक्तिमा वसन्त भनेर प्रजातन्त्रलाई स्मरण गरिएको समालोचकहरू बताउँछन् ।

मेरी आमा यसरी नाटक लेख्न त सक्नुहुँदैन’थ्यो, त्यसैले अर्काे ध्रुव जन्मिएन । तर, बालकृष्ण समले सहेकोभन्दा निकै गुणा धेरै पीडा मेरी आमाले सहनु भएको छ । त्यो पुरातनवादी सोचको समाजमा बुहारी बनेर भित्रिएकी आमाले नयाँ पुस्ताका बुहारीहरू भित्र्याउनु भएको छ । न त उहाँले पुरातनवादी सोच भएकी सासुलाई आधुनिक बनेर परिवर्तन गराउन सक्नुभयो । न त आधुनिक सोच भएका आफ्ना बुहारीहरूलाई पुरातनवादी बनेर आफ्नो खटनमा राख्न नै सक्नुभयो । जसको परिणाम उहाँ सासु र बुहारी दुवैबाट हेपिएको आमा पुस्ताको एक पात्र बन्नु भएको छ ।

तीन बुहारीमध्ये कान्छी बुहारी भएकोले मेरी आमा अरू बुहारीभन्दा अपरिपक्व हुनुहुन्थ्यो । बालापनमा आमाले दिएको केही उपदेशबाहेक उहाँलाई घर गृहस्थी चलाउने बारेमा केही पनि थाहा थिएन । देउरानी जेठानीबीचको देखासिखीले त्यतिबेलाको समाज पनि आक्रान्त थियो । त्यसैले सानो कमजोरीलाई पनि ठूलो बनाउने जेठानी मण्डलको पनि खाँचो थिएन । एउटा कमजोरीलाई वर्षौंसम्म हतियार बनाउने सासु जमातको पनि कमी थिएन । त्यस्तो अवस्थामा एउटी बुहारी बनेर गृहस्थी चलाएको पीडाको कहानी कुनै चलचित्रकोभन्दा कम छैन ।

समले भनेजस्तै छोरीलाई बिदाइ गर्ने बेलामा हजुरआमाले आमालाई तीन मन्त्र दिनु भएको थियो रे । ‘कसैसँग नरिसाउनू, जसले जे भनेपनि मुख नफर्काउनू, सहन सकेसम्म कुरालाई सहेर बस्नू’। आमाले उहाँलाई दिएको यो मन्त्र केवल सासुको हेपाइमा मात्रै काम लागेन । बुहारी पुस्ताको बेवास्ताको समयमा पनि काम गरेको छ । ७० वर्ष पुगेकी मेरी आमा सम्भवतः अन्तिम पुस्ता हुनुहुन्थो । जो सासुको निर्देशन अनुसार चल्ने मात्रै होइन, सासुसँग शिर उठाएर कुरा गर्ने अनुमती समेत थिएन । त्यस्तै, हाम्रै आमा पुस्ता सम्भवतः पहिलो पुस्ता हुनुहुन्छ, जसलाई बुहारीले मान्दैनन् र बुहारीकै थिचोमिचो सहनुपर्छ ।

त्यसैले उहाँ सम्झनुहुन्छ ‘आमाले दिएको सकेसम्म सहनू भन्ने सुझाव जीवनभर लागु हुनेवाला छ ।’ पुरातन समाजदेखि आधुनिक समाजसम्मको परिवर्तन देख्नु भएकी मेरी आमाले आफूले आफैँलाई अभागी पुस्ताको रुपमा चित्रण गर्नुहुन्छ । उहाँको तर्कलाई सुन्दा लाग्छ पक्कै पनि उहाँहरू अभागी पुस्ताकै मान्छे हो ।

२००६ सालमा जन्मिनु भएकी उहाँको ७ वर्षको उमेरमा २०१३ सालमा घरकाले खोजिदिएको मेरो बुबासँग विवाह भयो । त्यसको सात वर्षपछि मात्रै उहाँ माइती छाडेर घर जानुभयो । जुन दिन उहाँले माइती छाडेर घर जानुभयो । त्यही दिनदेखि उहाँको दुःखको दिन सुरु भएको उहाँ सुनाउनुहुन्छ । सासुको निर्देशन अनुसार काममा जानु पर्ने १४ वर्षको उमेरमा २३/२४ वर्षे जेठानीहरूको जत्ति काम गर्नुपर्ने पीडाले कहिलै पनि उहाँलाई सुख दिएन । त्यही दुःखका कारण नै उहाँ अहिले धेरैको रोलमोडल बन्नु भएको छ । मेरी आमा मात्रै होइन, अहिलेका सबै आमा पुस्ताहरू अभागी पुस्ता हुन् र धेरैका रोल मोडलहरू हुन् ।

मेरी आमाले जन्माएका आधा दर्जन सन्तानमध्ये ४ जना त खेत र बारीमा नै जन्माउनु भएको रे । प्रशव वेदनामा एउटा राम्रो बिस्तरा समेत पाउनुभएन । सुत्केरी चोखिएको तेस्रो चौथो दिनबाट खेत रोप्न गएको अनुभव पनि उहाँसँग छ । त्यो पीडा सुनिदिने कोही थिएन । पीडा सम्झिएर रोयो फेरि आफ्नै कर्मलाई धिक्कार्‍यो, फेरि लाग्यो काममा ।

अहिले ७० वर्षको उमेरमा पनि उहाँलाई कुनै किसिमको रोग छैन । यो उमेरमा गरेको परिश्रम र खानपानको परिणाम हो । शरीरले जति दु:ख पाएपनि उहाँले सधैं एक पेट पौष्टिक युक्त खाना खानुभयो । उहाँलाई मात्रै होइन । म र मेरा दाजुभाइ कसैलाई पनि कुनै रोग छैन । त्यो आमाकै पौष्टिक युक्त खानाको नतिजा हो ।

त्यतिबेला उहाँहरूमाथि काममा मात्रै विभेद होइन । खानामा पनि त्यस्तै विभेद हुने गरेको थियो । त्यतिबेला पनि चामलको भात नपाक्ने होइन । पाक्न त पाक्थ्यो । तर, त्यो मेरा हजुरबुबा र हजुरआमाको लागि मात्रै थियो । आमा र बुबाको पुस्ताले चामलको खाना खानको लागि पूजा, पर्व या श्राद्ध नै कुर्नुपर्ने हुन्थ्यो ।

यो पीडा केवल मेरी आमाको मात्रै होइन । गाउँमा हुने सबै आमा पुस्ताहरुको पीडा हो । गर्भ बोकेको ९ महिनासम्म नियमित भारी बोक्ने आमाहरूको कति गर्भ पेटभित्रै मर्दा पनि अहिलेसम्म पाठेघर झर्ने समस्या देखिएको छैन । न त अरू कुनै समस्या नै देखियो । त्यसैले त मानिसहरू १०० वर्षसम्म पनि फुर्तिला हुने गर्छन् । त्यसैले मेरा आमा पुस्ताहरू अहिलेका मानिसको लागि रोल मोडल हुन् । उहाँहरूले उमेरमा भोगेको पीडाले बुढेशकालमा पीडालाई कम गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment