Comments Add Comment

नेपालमा होटल–रेष्टुराँ खोल्न चिनियाँ लगानीकर्ताको आकर्षण

२१ कात्तिक, काठमाडौं । नेपालमा होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको छ । आर्थिक वर्षको सुरुवाती तीन महिनामै सात अर्ब लगानी गरेर ३६ वटा होटल तथा रेष्टुराँ स्थापनाका लागि चिनियाँ व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

प्रारम्भिक लगानी प्रतिबद्धतामा जनाइएअनुसार चिनियाँ लगानीका होटल दुईतारे हुनेछन् । चिनियाँ व्यवसायीले काठमाडौं तथा पोखरामा होटल तथा रेष्टुराँ सञ्चालन गर्न चाहेको उद्योग विभागले जनाएको छ । विभागमा चालू आर्थिक वर्षको तीन महिनामा प्रतिबद्धता लिएका यस क्षेत्रका ३९ वैदेशिक लगानीका उद्योगमध्ये ३६ वटा चिनियाँ होटल तथा रेष्टुराँ छन् ।

प्रतिबद्धता अनुसार, ५ करोड लगानीमा १६० सिटको रेष्टुरेन्ट चिनियाँ लगानीकर्ताले चितवनमा सञ्चालन गर्ने छन् । यस्तै एसडब्लू होटल नेपाल पोखरामा ३० बेडको होटल र ६० सिटको रेष्टुराँमा चिनियाँ लगानीकर्ताकै ५ करोड लगानी रहनेछ । पोखरामै ३६ वेडको होटल र ५० सिटको रेष्टुराँ सञ्चालन गर्न पनि चिनियाँ लगानीकर्ताले १० करोड रुपैयाँ लगानी ल्याउनेछन् । बाँकी ३३ वटा होटल रेष्टुराँ भने काठमाडौंमा खुल्नेछन् ।

प्रतिबद्धता अनुसार चिनियाँ लगानीका होटल रेष्टुराँ सञ्चालनमा आए नेपालमा १३ सय ३६ वटा होटलका कोठा थप हुनेछन् भने रेष्टुराँको सिट संख्या २५ सय २५ ले बढ्ने छ ।
इलाम र काठमाडौंमा भारतीय लगानीका दुई वटा रेष्टुराँ खोल्न विभागबाट स्वीकृति लिइएको छ । यस्तै काठमाडौंमा रेष्टुराँ खोल्न एउटा जापानी लगानी प्रतिबद्धता पनि आएको छ । करिब ५० करोड रुपैयाँ लगानी गरेर मङ्लोरी नेपालले पूर्ण भारतीय लगानीको ४० बेडको होटल र ८० सिटको रेष्टुराँ खोल्दैछ । यस्तै इलाममा ३० बेडको होटल र ५० सिटको रेष्टुराँ पनि भारतीय लगानीमा खुल्दैछ । यसमा पूर्ण भारतीय स्वमित्वको १० करोड खर्च हुने प्रारम्भिक आकलन छ ।

काठमाडौंमा १४० सिटको रेष्टुराँ खोल्न जापानी लगानीकर्ताले पनि उद्योग विभागबाट लगानी प्रतिबद्धता गराएका छन् । उक्त क्षमताको रेष्टुराँ खोल्नका लागि सुरुवाती ५ करोड रुपैयाँ लगानी भित्रिने विभागले जनाएको छ ।

होटल–रेष्टुराँ मात्रै नभएर सबै क्षेत्रमा लगानी बढ्दो क्रममा भएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौला बताउँछन् ।

‘मुलुकमा स्थायीत्वसँगै पर्यटनको सम्भावना बढेकाले पनि आतिथ्य क्षेत्रमा लगानी बढेको छ,’ महानिर्देशक सिटौलाले भने ।

मुलुकमा स्थायीत्वको वातावरण बनेसँगै पर्यटनको सम्भावना बढेको र त्यसले सेवा क्षेत्रमा लगानी बढ्दो क्रममा रहेको विभागका निर्देशक प्रेम लुइँटेल बताउँछन् । होटल र रेष्टुराँ क्षेत्रमा नेपालमा विदेशी लगानी भित्रिनु राम्रो भए पनि लगानीको विकेन्द्रीकरण उपयुक्त ढंगले हुन नसके समस्या पैदा हुन सक्ने नेपाल होटल एशोसिएसनका पूर्वअध्यक्ष अमरमान शाक्य बताउँछन् ।

‘लगानीको सकारात्मक सूचकसँगै पर्यटक आगमनको वातावरण बढाउन राज्यले धेरैका काम गर्न जरुरी छ,’ शाक्यले भने । पर्यटकीय सिजनमै काठमाडौंका होटल आधी खाली रहने अवस्थामा शहर केन्द्रित लगानी थुप्रिने अवस्थाले व्यवसायको हित नगर्ने शाक्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment