Comments Add Comment

लक्ष्मी बैंकद्वारा बालबालिकामा हुने आँखाको क्यान्सरको उपचारमा सहयोग

२२ कात्तिक, काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनो ब्लाष्टोमा)को पहिचान र उपचारका लागि रु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।

रटिनो ब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँचवर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यानमात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकि थेरापि, शल्यक्रिया लगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।

सुस्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारकालागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment