+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रहरीविरुद्ध उत्रियो तरुण दल, आज नेपालगञ्जमा विरोध सभा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते ८:३७
Photo Credit : File Photo

२५ कात्तिक, नेपालगञ्ज । आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध तरुण दलले बाँकेको नेपालगञ्जमा प्रहरीविरुद्ध प्रदर्शन गर्दैछ । बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहितका नेताहरुलाई हतियारसहित पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको हो ।

प्रदर्शनका लागि गाउँ-गाउँबाट कांग्रेस कार्यकर्ताहरुलाई नेपालगञ्जमा उतार्ने तयारी गरिएको छ ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँका अनुसार नेपालगञ्ज पार्टी कार्यालयबाट निस्किने विरोध जुलुश नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि सभामा परिणत हुने छ । सो सभालाई कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस केन्द्रीय सदस्य रञ्जितसिंह राठौर, कांग्रेस बाँकेकी सभापति किरण कोइराला, तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहलगायतले सम्बोधन गर्नेछन् ।

केन्द्रीय उपाध्यक्ष चापागाइँले तरुण दलका नेताहरूलाई जालझेल गरेर फसाउन थालेपछि बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले १४ कात्तिकमा जानकी गाउँपालिका-६, गनापुरस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरुले प्रयोग गरेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोलीसमेत बरामद भएको प्रहरीको भनाइ छ ।

तर, सो हतियार तरुण नेताहरुको नभएको र प्रहरीले आफ्नै हतियार राखेर झुठ्ठा मुद्दामा फसाएको दाबी तरुण दलको छ । कोहलपुर प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले दशैंमा खसी मागेको तर नदिएको झोंकमा तरुण नेताहरुको साथबाट हतियार बरामद भएको भनेर झुठ्ठा मुद्दामा फसाएको तरुण दलको भनाइ छ ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग दशैंमा खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरी कार्यालयले अलग-अलग समिति गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?