
२५ कात्तिक, काठमाडौं । पोखराको भास्कर स्कुलमा पढिरहेका दैलेखका सुनील, विकास र रवीन्द्र वादी सोमबार विहान स्कुलबाट भागेका छन् ।
सडकमा गीत गाएर गुजारा चलाएका दैलेखका तीन बालकबारे अनलाइनखबरमा समाचार प्रकाशन भएपछि भास्कर स्कुलले १२ कक्षासम्म आवासीय सुविधासहित पढाउने जिम्मा लिएको थियो । अनलाइनखवरसँगको कुराकानीमा उनीहरुले पढ्ने इच्छा व्यक्त गरेका थिए ।
तर, आज विहान ३ बजेर ३६ मिनेटमा यी तीन बालक स्कुलबाट भागेको स्कुलका अध्यक्ष विश्वराज बास्तोलाले बताए । उनका अनुसार सुनील र विकास दुई र रवीन्द्र तीन कक्षामा पढ्दै थिए । बास्तोलाले अनलाइनखवरसँग भने, ‘सिसी टिभीको फुटेजमा विहान ३:३६ मा पछाडिको पर्खालबाट निस्किएको देखियो । प्रहरीलाई समेत खबर गरेर हामीले निरन्तर खोजी रहेका छौँ तर, भेटेका छैनौँ ।’ कसैले देखेमा स्कुलसम्म ल्याइदिन पनि उनले आग्रह गरे ।
फागुन २०७५ मा विश्वराज दम्पत्तिले सुनील, विकास र रविन्द्रको परिवारसँग कुरा गरी जिम्मा लिएका थिए । ‘उनीहरुको पढाइमा निकै सुधार आएको थियो । हामीसँग पनि अहिलेसम्म कुनै गुनासो गरेका थिएनन्’, विश्वराजले भने, ‘केही समय संगीत पनि सिकाएका थियौँ । स्कुलमै टिचर लिएर संगीत सिकाउने तयारी गरेका थियौँ ।’ उनीहरु दशैँ तिहारमा एक महिना घर बसेर एक हप्ताअघि मात्र फर्किएका थिए ।
गरीब परिवारका सुनील, विकास र रवीन्द्रले सडकमा गीत गाएर पैसा संकलन गर्थे । उनीहरुले स्कुल जाने र कापीकलम किन्ने पैसासम्म नहुने बताएका थिए । उनीहरुले गाएको ‘काफल खान्या कुइया…’सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
प्रतिक्रिया 4