+
+

अर्थमन्त्रीले व्यवसायीलाई भने- निर्यात बढाउने प्रस्ताव ल्याउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १९:५८

२५ कात्तिक, काठमाडौं । सरकारले दिगो निर्यात वृद्धिका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थासहितको कार्ययोजना बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो निर्यात वृद्धिका लागि चाल्नुपर्ने थप कदमका सम्बन्धमा कार्ययोजना बनिरहेको जानकारी दिएका हुन् ।

सोमबार नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा उनले कार्ययोजना निर्माण गर्न मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेको जानकारी गराए ।

‘कार्ययोजनामा सरोकारवालाको सुझाव आवश्यक पर्छ । हामीले देखेको र तपाईंहरुले भोगेको कुरा फरक पर्न सक्छ’, उनले भने, ‘केवल सुविधा, कर छुट, अनुदान मात्र होइन, त्यसभन्दा एक कदम अगाडि उठेर दिगो व्यवसायका प्रस्ताव ल्याउनुस्, सँगै बसेर एउटा निर्णयमा पुगौं ।’

निर्यात प्रवर्द्धन गर्न निर्यातमुलक उद्योगको संरक्षणमा सरकार गम्भीर रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको समेत मन्त्री खतिवडाले बताए । अब तयारी पोशाक, गलैंचालगायत नेपाली उत्पादनको कच्चा पर्दा कपास, धागो, ऊनको स्वदेशमै पर्याप्त उत्पादनको आवश्यकता रहेको उनको भनाइ थियो ।

‘यसमा के गर्न सकिन्छ, तपईंहरु नै प्रस्ताव ल्याउनुस्,’ उनले व्यवसायीसँग आग्रह गरे । सम्भाव्य, व्यवहारिक, सरकारले धान्न सक्ने र व्यवसायीले पनि जोखिम लिन सक्ने प्रस्ताव हुनुपर्ने उनको भनाइ थियो । निकट भविश्यमा निर्यात प्रवर्द्धनसँग सम्बन्धित मन्त्रालयका सचिव, वित्त व्यवस्थापन गर्न ऋण दिने संस्थाका प्रमुख र अर्थ मन्त्रालयबीच छलफलको तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।

अर्थमन्त्रीले स्वदेशमा उत्पादन नै नभएका वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी नगर्न व्यवसायीलाई सचेत गराउँदै त्यसले राज्य र व्यवसायकै समेत बदनाम भइरहेको बताए । स्वच्छ र पारदर्शी व्यवसायलाई सरकारले पनि सहयोग गर्ने उनको आश्वासन छ ।

उनले कार्पेटको भ्यालू एड गरी निर्यात गर्न सक्ने व्यवसायीलाई अनुदानको समेत व्यवस्था गर्न सकिने बताएका छन् । निर्यातमुलक उद्योगलाई चर्को ब्याज लिने बैंकहरुसँग छलफल गर्न सकिने भन्दै उनले श्रमिकको हकमा भने उद्योगहरु नै सचेत हुनुपर्ने बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिका धेरै विषय समेटेको भन्दै यसलाई पालना गर्न व्यवसायीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?