Comments Add Comment

‘बगैंचे शहर’ बैङ्लोरबाट काठमाडौंले के सिक्ने ?

'विकासको लागि विनास अनिवार्य छैन'

काठमाडौंमा अन्धधुन्द रुख-बिरुवा काटिदैछ । कतै बाटो विस्तारको लागि त, कतै शहरी विकासका लागि । एकातिर काठमाडौं विश्वकै प्रदूषित शहरको रुपमा बदनाम हुँदैछ भने अर्कोतिर विकासे योजनाले काठमाडौंलाई रुखो र उजाड बनाउँदै गएको छ ।

जबकि विकास निर्माणका लागि रुख-बिरुवा काट्नैपर्छ, मास्नैपर्छ भन्ने छैन । यस्ता थुप्रै उदाहरण छन्, जहाँ रुख बिरुवा विनास नगरी रहरलाग्दा विकास-निर्माणका काम भएका छन् । धेरै पर पुग्न पर्दैन, छिमेकी भारतको शहर बैङ्लोरलाई हेरे पुग्छ । बैङ्लोर, जसलाई बगैंचे शहर भनिन्छ ।

भनिन्छ, विकास निर्माण रुख विरुवाको लागि पहिलो दूर्घटना हो । जहाँ विकासको नाम नाम आउँछ रुख विरुवाको विनासको सुरुवात त्यही सोचसँगै विकास हुन थाल्छ । यसैको एउटा उदाहरण हो काठमाडौंको चक्रपथ विस्तार आयोजना । काठमाडौंको कूल २७.३ किलोमिटरको चक्रपथमध्ये पहिलो चरणमा विस्तार गर्न लागिएको कलंकीदेखि कोटेश्वरसम्मको १० किलोमिटरको सडक विस्तार गर्दा १२०० भन्दा धेरै रुखहरु काटियो । दोस्रो चरणको चक्रपथ विस्तारको क्रममा कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको क्रममा २००० भन्दा धेरै रुख काट्ने स्वीकृति चक्रपथ विस्तार परियोजनाले पाइसकेको छ । त्यसको फडानी कार्य पनि तीब्र रुपमा भइरहेको छ । चक्रपथ विस्तार गर्ने बेलामा ती रुखहरुलाई कुनै हिसाबले जोगाउन सकिन्थ्यो कि ? भनेर परियोजनाले एकपटक पनि सोचेन ।

योसँगै के विकासको लागि यस्ता विनासहरु आवश्यक छन् ? भन्ने प्रश्नहरु पनि आउने गर्छ । यही प्रश्नमा चक्रपथ विस्तार परियोजनाका प्रमुख अमृतमणि रिमाल विकासको क्रममा केही रुख फडानी हुनु सामान्य रहेको बताउँछन् । ‘यो चिनियाँ लगानीमा बन्न लागेको सडक हो । उनीहरुले काटिदिनु भनेको जति हामीले काट्नैपर्छ ।’ उनले भने ‘प्रदूषणको बाहानामा विकास रोक्न सकिँदैन, विकास गर्ने क्रममा यस्ता सानातिना समस्यालाई ठूलो मान्नु हुँदैन ।’

विकासको लागि विनास अनिवार्य छैन

रिमालले भनेजस्तै विकासको लागि विनास अनिवार्य चाहिँ छैन भन्ने उदाहरण हामीहरु धेरै तिरबाट पाउन सक्छौं । सन् २००९ मा भारतको ‘गार्डेन सिटी’ भनेर चिनिने बैंङलुरुमा सिटी मेट्रोको विस्तार परियोजना चल्दै थियो । सोही समयमा सन् १७६० मा बनेको लाल बाग उद्यानलाई भत्काएर त्यही बाटोबाट मेट्रो लैजाने प्रस्ताव आयो । त्यतिबेला त्यहाँ पनि यस्तै बहस चलेको थियो । लाल बाग उद्यानसँगै सडक विस्तारको लागि धेरै रुखहरु कटान गर्ने प्रस्ताव गरिएको थियो ।

विकासको लागि केही विनास सहनुपर्ने तर्क त्यतिबेला स्वघोषित बुद्धिजीवीहरुले गरेकै हुन् । तर, त्यतिबेला त्यहाँको सरकारले गरेको सुझबुझपूर्ण निर्णयले त्यो ऐतिहासिक उद्यान जोगियो । त्यो उद्यानसँगै सडक छेउका धेरै रुखहरु जोगिए । त्यही बेलामा विनासबाट जोगिएको उद्यानले अहिले सयौं बैङ्लोरबासीहरुलाई सुस्ताउने ठाउँ दिएको छ । यस्तै यस्ता कैयौं झमेलाबाट जोगिएर आएको बैंङ्लोर अहिले भारतको ‘सिलिकन भ्याली’ जस्ता अनेक उपनामबाट चर्चित छ ।

बैंङलोर आफैंमा सूचना-प्रविधि, उद्योग आदि क्षेत्रमा विकसित शहर हो । यो शहरमा कैयौं पटक जतात्यतै बाटो विस्तार हुँदै गए । तर, पुराना पुराना रुखहरु पनि कहिलै काटिएनन् । सडक विस्तारको क्रममा सडकमा पर्ने रुखलाई बीचमा पारेर सडक विस्तार गरिएका उदाहरणहरु धेरै तिर देख्न सकिन्छ । तर, कहिलै पनि रुख काटेर विकास गर्ने सोच कर्नाटकबासीले गरेनन् । त्यसैले अहिले प्रदूषणले दिल्ली ‘ग्यास च्याम्बर’ बनिसक्दापनि बैङ्लोर यो झण्झटबाट मुक्त छ ।

टर्कीबाट के सिक्ने ?

गत वर्ष टर्कीले संसारकै सबैभन्दा ठूलो विमानस्थल निर्माणको लागि ठूलो मात्रामा रुख काट्यो । ७ हजार ६ सय हेक्टर समुन्ऽको जमिन समेत प्रयोग गरेर बनाइएको विमानस्थल निर्माणको लागि २५ लाख रुख काटिएको थियो । तर, सो एयरपोर्ट तयार गर्नको लागि विनाविवाद काटिएका रुखहरु टर्की सरकारले पुरानो सर्त अनुसार परियोजना सम्पन्न हुनुभन्दा पहिले नै रोप्यो । साना रुख ठूला हुन केही समय लाग्ला तर, विकाससँगै पर्यावरणलाई व्यवस्थापन गर्न चाल्न सकिने कदमको यो अर्काे उदाहरण हो । सोमबार मात्रै टर्की सरकारले सोही क्षेत्र वरिपरी एक करोडभन्दा धेरै रुख एकैदिन रोपेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

माथिका दुई उदाहरणसँग काठमाडौंलाई तुलना गर्दा हामीहरुको उल्टोबाटो प्रष्ट देखिन्छ । यी दुई शहरसँग तुलना गर्दा काठमाडौंले विकासको क्रममा पर्यावरणीय महत्वका वस्तुहरु जोगाउनेतर्फ ध्यान दिएको देखिन्छ न त सर्त अनुसार त्यस्ता रुख विरुवाहरु रोप्ने नै गरेको छ ।

विसं २०४२ सालदेखि एउटा विरुवा बराबर २५ वटा रुख रोप्छु भनेर फडानी गरिएका वन क्षेत्रमा अहिलेसम्म रुख रोपिएको छैन । गत असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केही बिरुवा विस्तारित चक्रपथको आसपासमा रोप्ने बाहेक अरु योजना पूरा भएनन् । वृक्षारोपण दिवसको दिन रोपिएका रुखहरु पनि अधिकांश मरिसकेका छन् । राम्रोसँग स्याहार सुसार गर्दा पनि पहिलेको जस्तो ठूलो रुख बन्नको लागि अर्काे ३० दशक कुर्नुपथ्र्याे ।

सिक्न भनेर विदेशजाने कर्मचारीहरुको भ्रमण उपलब्धीहीन

सरकारले विदेशमा प्रयोगगरिएका सिप र आधुनिकता सिकेर नेपालमा पनि राम्रो शैली भित्र्याउन सफल होस् भनेर हरेक वर्ष सायौं कर्मचारीहरुलाई विदेश पठाउने गरेको छ । कोही सेमिनार त कोही विभिन्न बाहानामा विदेश जाने गर्छन् । तर, ती कर्मचारीहरुले विदेशमा सिकेको सिप नेपालमा अरुलाई सुनाउने त परै जाओस् ती भ्रमणका प्रतिवेदनहरु समेत बुझाउने गरेका छैनन् ।

अझ स्थानीय तहको निर्वाचन पछि त झनै विभिन्न महानगरपालिकाका जनप्रतिनिधिहरु नै आफैं भ्रमणमा जाने गरेका छन् । जुनसुकै सरकारी भ्रमणको उद्देश्य अवश्य पनि त्यहाँको ज्ञान र सिप सिकेर व्यवहारमा लागू गर्नु हुन्छ । तर, सरकारी कर्मचारीका अधिकांश भ्रमणहरु निरर्थक हुने गरेको पाइन्छ ।

बैङलोरबाट के सिक्न सकिन्छ ?

वातावरण संरक्षणको हिसाबले बैङलोरबाट काठमाडौंल विकासका लागि विनास नै अनिवार्य सर्त होइन भन्ने सिक्न सकिन्छ । सडकलाई नै छेकेर बसेका ठूला ठूला रुखहरुले पनि अहिलेसम्म त्यो शहरमा दूर्घटना गराएको देखिँदैन । बरु विकासको गतिमा उल्टै ब्याङ्लोर तीब्र रुपमा अघि बढिरहेको छ ।

भारतको सबैभन्दा हरियाली शहरको रुपमा चिनिने बैङलोरले सन् १९७६ देखि नै कानूनी रुपमा कुनैपनि व्यक्तिले सरकारी स्वीकृति नलिई रुख विरुवा काट्न नपाउने व्यवस्था गरेको छ । चाहे विकासको लागि होस् या आफूखुशी । अत्यावश्यक नभएसम्म निजी या सरकारी विरुवा समेत काट्न अनुमती दिने गरिएको छैन ।

अनलाइनखबरको जिज्ञासामा वृहद् बैङलोर महानगरपालिकाले ‘कर्नाटक रुख संरक्षण अधिनियम-१९७६’ को सीमा बाहिर गएर कुनैपनि रुख काट्नेलाई जरिवानाको व्यवस्था गरिएको र त्यसको सफल कार्यान्वयनका कारण नै शहरमा हरियाली फैलिएको जानकारी दिएको छ । वैज्ञानिक दृष्टिले हेर्दा शहरी भेगमा एक व्यक्तिको भागमा १.१५ वटा रुख आवश्यक पर्छ । तीब्र जनसंख्या बृद्धिका कारण अहिले ब्याङ्लोरमा पनि आवश्यक रुख भने छैन । तर, पुराना रुखको संरक्षणको साथै नयाँ वृक्षारोपण समेत चलिरहेको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment