Comments Add Comment

फेसन डिजाइनिङमा युवतीलाई अवसर छ –फूपु तेन्जिङ शेर्पा

लामो समय इभेन्ट म्यानेज्मेन्टको क्षेत्रमा सक्रिय रहेका इभेन्ट मेनेजर, फेसन डिजाइनर, मोडल तथा केही म्युजिक भिडियो तथा फिल्ममा समेत अभिनय गरिसकेका व्यक्तित्व हुन् फूपु तेन्जिङ शेर्पा । फेसन तथा मोडलिङको क्षेत्रमा झण्डै डेढ दशक लामो अनुभवलाई शेर्पाले यतिबेला फेसनका बारेमा अध्ययन–अध्यापन गराउने संस्थातर्फ केन्द्रित गरेका छन् । हुन त उनी अहिले पनि प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरिरहेका छन्, यद्यपि पछिल्लो दुई वर्षदेखि उनी अत्याधुनिक फेसन स्कूल समेत सञ्चालन गरिरहेका छन् ।

दुई वर्षअघि बागबजारस्थित बागबजार प्लाजामा उनले सञ्चालन गरिरहेको ईन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी (आईआईएफीटी स्कूल अफ फेसन) मा उनले पाँच सय भन्दा बढि युवा–युवतीहरुलाई फेसन डिजाइनिङको प्रशिक्षण दिलाइसकेका छन् । व्यवसायिक फेसन डिजाइनरहरुले अध्यापन गराउने उक्त फेसन स्कूल, युवापुस्तामा फेसनको क्रेज, फेसनेवल बन्ने प्रतिस्पर्धाका सम्बन्धमा केन्द्रित भएर शेर्पासंग गरिएको कुराकानीको सम्पादित अंशः

फेशनलाई कसरी परिभाषित गर्न चाहनु हुन्छ ?

कुनै पनि डिजाइनरले उत्पादन अथवा तयार परेको बस्तुलाई उपभोक्ताले सामाजिक, भौगोलिक, सांस्कृतिक तथा आर्थिक दृष्टिकोणले ठिक छ भनि स्वीकारेर प्रयोगमा ल्याउँछ भने त्यसैलाई फेसन भनिन्छ ।

फेसन डिजाइनिङको अध्यापन गर्ने विद्यार्थीहरु मध्ये यसैमा करियर बनाउनेहरुको संख्या कस्तो रहन्छ ?

जनमानसमा यो विषय अध्ययन गरेपछि बुटिक खोल्ने भन्ने मात्र बुझ्नु भएको छ । वास्तवमा फेसन डिजाइनिङको पूर्ण रुपले ज्ञान लिनु भएका डिजाइनरहरुले ठूलो परिणाममा पोशाक निर्माण गर्ने गार्मेन्ट फ्याक्ट्रि खोलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ती पोशाकहरु विक्रि–वितरण गर्न सक्छन् । कतिपय डिजाइनरहरु चलचित्रदेखि म्युजिक भिडियोहरुमा ड्रेस डिजाइनरको रुपमा काम गर्न सक्छन् । भिजुअल मर्चेन्डाइजरको रुपमा काम गर्न सक्छन् । गार्मेन्ट उद्योगमा प्रोडक्सन तथा क्वालिटी कन्ट्रोलर जस्ता अन्य अनेक भूमिकामा काम गर्न सक्छन् ।

फेसन डिजाइनिङको अध्ययन गर्नेहरुमा पुरुषको तुलनामा महिलाहरुको संख्या बढि हुने कारण के होला ?

केही अध्ययनहरुमा पुरुषभन्दा महिलाहरु फेसनप्रति बढी लगाब र झुकाव रहने पाइएको छ । यसका साथै फेसन डिजाइनिको करियरमा शारीरिक परिश्रम धेरै नहुने भएकोले पनि होला, यसप्रति धेरै महिलाहरुको झुकाव देखिन्छ ।

फेसन डिजाइनिङको अध्ययन गरेर तथा अध्ययन नै नगरी बुटिक खोलेर बस्ने फेसन डिजाइनरहरुमा के फरक छ ?

सबैभन्दा पहिले बुटिक भनेको के हो भन्ने कुरा बुझ्नु जरुरी छ । एउटा डिजानरले बनाएको आफ्नो मौलिक उत्पादनलाई सम्भावित उपभोक्ताहरुलाई देखाउने हेतुले खोलिएको आकर्षक शो रूमलाई बुटिक भनिन्छ । मौलिक वस्तुको उत्पादन गर्नको लागि त्यससंग सम्बन्धि पूर्ण ज्ञान हुनै पर्छ । तसर्थ पसलको बाहिर बुटिक लेख्दैमा त्यो बुटिक हुन्न । किनभने मौलिक रुपले आफ्नो कलालाई लामो समयसम्म त्यो शो रूममा परिपूर्ति गरि राख्नको लागि एउटा दक्ष्य डिजाइनरबाट मात्र सम्भव छ ।

फूपु तेन्जिङ शेर्पा ।

जसरी हिजो सुन तथा फलामजन्यवस्तु उत्पादन गर्ने जनशक्ति अर्कै ढंगको थियो र आज मेसिनको आविस्कारसंगै ती जनशक्तिहरु लगभग पलायन भई रहेको अवस्था छ, त्यसैगरी यदि दक्षताबिना नै यस्तो व्यवसायमा होमिएको हो भने ब्यानरमा मात्र बुटिक लेखेर पुग्दैन । उहाँहरु पनि बिस्तारै यो फेसनको दुनियाँबाट पलायन हुनु पर्ने अवस्था आउँछ ।

फेसन डिजाइनिङको अध्यापन गराइने एकेडेमीहरुले फेसनको दुनिया“मा कस्तो किसिमको फाइदा पु¥याउ“छ ?

आधुनिक युगको विकाससंगै नेपाली फेसनको दुनियाँ पनि अन्तर्राष्ट्रियस्तरको ट्रेण्डमा चल्न थालेको छ । त्यसैले त्यो ट्रेण्डलाई पछ्याउन फेसन डिजाइन सम्बन्धि पूर्ण ज्ञान भएका जनशक्ति आवश्यकता पर्दछ, जुन दक्ष जनशक्तिले नेपाली बजारको लुगाको मागलाई परिपूर्ति गरि फेसनको दुनियाँलाई मात्र फाइदा नदिई देशको अर्थतन्त्रमा पनि योगदान दिन्छन् र विकसित देशहरुको जनशक्तिको दाँजोमा हाम्रो जनशक्ति केही सस्तो रहेकोले सरकारको तथा सम्बन्धित निकायको पहलमा बंगलादेश भेतनाम जस्ता देशहरुले गरेझैं ठुला–ठुला पोशाकका ब्रान्डहरुको उद्योग स्थापना नेपालमै गर्न सकिए, त्यस्ता एकडेमीहरुले दक्ष जनशक्तिहरुको आपूर्ति गर्न सक्नेछ साथै यस्ता संस्थाहरुबाट उत्पादित जनशक्तिहरुले ठुला–ठुला पोशाक उद्योग खोलेर विदेशी बजारमा ठुलो परिणाममा पोसाक निर्यात समेत गर्दै आईरहेको छ ।

आईआईएफटी स्कूल अफ फेसन टेक्नोलोजीमा के–के कुरा सिकाउनु हुन्छ ?

यो एकडेमीको स्थापना सन् २०१७ मा भएको हो । प्रारम्भिक चरणमा हामीले २१ जना विद्यार्थीबाट यसको थालनी गरेका थियौं । यहाँ हामी १३ महिनाको फेसन डिजाइनिङको डिप्लोमा कोर्षको अध्यापन गराउँछौं । त्यसपछि एड्भान्स कोर्ष लिन चाहने विद्यार्थीहरुका लागि तीन महिनाको विशेष कक्षा पनि सञ्चालन गर्छौं, जहाँ विद्यार्थीहरुले फेसन डिजाइनिङका थप शैलीका बारेमा सिक्ने मौका पाउ“छन् ।

यो फेसन स्कूलमा विशेषगरी कस्ता पहिरनहरुको डिजाईनिङ सिकाउनु हुन्छ ?

फेसन डिजाइनिङ विषयको अध्ययन–अध्यापन गर्ने आफ्नै विधिहरु हुन्छन्, तर हाम्रो एकडेमीमा विश्व बजारभित्र प्रतिस्पर्धामक वातावरणमा व्यवसाय गर्न सक्ने योग्य फेसन डिजाइनर उत्पादन गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको पाठशाला हो, त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चल्ने कुनै पनि किसिमका डिजाईनहरु उत्पादन गर्नु सक्ने योग्यता प्रदान गर्न सम्पूर्ण किसिमका पहिरनका डिजाईनहरु सिकाइरहेका छौं ।

अन्य फेसन एकडेमी र आईआईएफटी स्कूल अफ फेसनमा के फरक छ ?

सबै फेसन एकडेमीहरुले सकेसम्म राम्रो पठन–पाठन गराउने हेतुले नै आफ्नो दैनिक क्रियाकलापहरु सञ्चालन गरिरहेका हुन्छौं । अब अरु एकडेमीहरुले कस्तो किसिमले आफ्नो कोर्स सञ्चालन गरेका छन्, त्यो मलाई जानकारी भएन, तर आईआईएफटीले एउटा व्यवसायिक फेसन डिजाइनरको व्यवसायिक जीवनमा आउने हरेक चुनौतीहरुलाई सजिलै सामना गर्न सक्ने सम्पूर्ण विषयहरुको अध्यापन गराउँछौ । जस अन्तर्गत फेसन डिजाईनको अध्यापन मात्र नगरी योसंगै मोडलिङ, फेसन शो म्यानेज्मेन्ट, मिडिया प्लानिङ, मेकअप, व्यक्तित्व विकास, फेसन मार्केटिङ, बुटिक म्यानेजमेन्ट, डिजिटल फेसन मार्केटिङजस्ता अत्यावश्यक विषयहरुको पनि अध्यापन गराउँछौ ।

यस एकडेमीमा १० वर्षमाथि अनुभव भएका तथा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गर्नु भएका अध्यापन गराउने प्रशिक्षकहरुको समुह छ, जुन समुहले तोकिएको अवधिमा सम्पूर्ण फेसन डिजाइनिङका विद्यार्थीहरुलाई एउटा दक्ष्य अन्तर्राष्ट्रियस्तरको फेसन डिजाइनर तयार गर्दछ । यसका साथै आईआईएफटीबाट अध्ययन पुरा गरेका फेसन डिजाइनिङका विद्यार्थीहरुले कुनै व्यवसाय सञ्चालन गर्ने योजनामा त्यसमा हाम्रो बिजनेस सेटअप टिमले सबै विषयमा सहयोग गर्दछ । त्यसले गर्दा नयाँ व्यवसायलाई स्थापना गर्न गाह्रो हुन्न । आईआईएफीटी पास आउट भएका सम्पूर्ण विद्यार्थीहरुलाई उहाँहरुको व्यवसायिक यात्राको सुरुवातमा हरेक किसिमको सहयोग गर्दै आएको छ ।

आईआईएफटी फेसन स्कूललाई कसरी फैलाउँदै हुनुहुन्छ ?

काठमाडौंको बागबजारबाट प्रारम्भ भएको हाम्रो फेसन डिजाइनिङ स्कूल ललितपुरको कुमारीपाटीसम्म फैलिएको छ । निकट भविष्यमै हामी भक्तपुरमा समेत आफ्नो उपस्थिती जनाउँदैछौ । देशका अन्य भेगहरुबाट पनि शाखाहरुको माग आइरहेको छ । चाँडो हामी काठमाडौं बाहिर पनि पुग्दैछौं ।

फेसन डिजाइनिङको अध्ययन गर्नका लागि उमेरको कुनै हदबन्दी पो छ कि ?

यो विषय अध्ययन गर्नका लागि उमेरको कुनै हदबन्दी छैन । न्युनतम एसएलसी अथवा एसईई उत्तिर्ण भए पुग्छ ।

तपाई इभेन्ट म्यानेजमेन्टमा लामो समय काम गर्नु भएको व्यक्ति, कसरी फेसन डिजाइनिङको क्षेत्रमा लाग्नु भयो ?

सर्वप्रथम त थोरैले मात्र थाहा छ, मैले मेरो एसएलसी सकिनासाथ दुई वर्षको फेसन डिजाइनिङको कोर्ष अध्ययन गरेको थिएँ । कक्षा ९ मा अध्ययनरत छँदा गार्मेन्ट फ्याक्ट्री खोल्ने सपना भएकोले कक्षा ११ को अध्ययनसंगै यो विषयको पनि अध्ययन गरें । तर, त्यो बेलाको गार्मेन्ट बिजिनेस एकदम खस्क“दो अवस्थामा रहेकोले म इभेन्ट म्यानेजमेन्ट व्यवसायमा लागें र इभेन्ट म्यानेजमेन्टको व्यवसायिक यात्रामा रह“दा–रहँदै पनि मेरो मनमा फेसन डिजाइनिङ सम्बन्धि काम गर्ने इच्छा त तिव्र गतिमै थियो, तर समय अनुकुल नहु“दा यो संस्थाको स्थापनाको लागि केही समय लाग्यो ।

तपाईंले कस्ता किसिमका इभेन्टहरु आयोजना गर्नु भएको छ ?

विशेषतः मैले सौन्दर्य प्रतियोगिताहरु नै आयोजना गरें । सन् २००३ ताका नेपालमा सौन्दर्य प्रतियोगिताहरु निकै कम आयोजना हुन्थे । वर्षभरीमा त्यस्तो सौन्दर्य प्रतियोगिताहरु हातको औंलामा गन्न सकिने मात्र आयोजना हुन्थे । सन् २००४ मा आएर एउटा अनौठो सौन्दर्य प्रतियोगिता आयोजना गर्ने योजना बन्यो, जसको शीर्षक थियो—मिस टिन शेर्पा २००४ ।

त्यो कार्यक्रमलाई समर्थन दिनका लागि मैले नेपाल शेर्पा संघलाई गुहारें । तत्कालिन अध्यक्ष तथा महासचिवले आयोजककै रुपमा सहयोग गर्ने वचन दिनु भएको थियो । सम्भवतः त्यो नेपालको सौन्दर्य प्रतियोगिताको इतिहासमा पहिलो जातीय सौन्दर्य प्रतियोगिता हुनु पर्छ । त्यसपछि मिस टिन गुरुङ लगायतका अन्य जातीय सौन्दर्य प्रतियोगिता गर्ने क्रममै थुप्रै आयोजकहरुले अन्य जातजातिको कार्यक्रमहरु पनि गर्नु थाल्नु भयो । करिब ३ सय भन्दा बढी सौन्दर्य प्रतियोगिताहरु र म्युजिकल इभेन्टहरु गरि सकेपछि फेरी आफुले अध्ययन गरेको विषयमा काम गर्ने अवसर जु¥यो ।

कहिलेकाहिं तपाईं म्युजिक भिडियो, फिल्म तथा गायनतिर पनि देखिनु हुन्छ नि ?

हेर्नुस हरेक मान्छे कलाकार हो जस्तो लाग्छ । हरेक मान्छेमा कला हुन्छ । त्यही सोचेर मैले पनि आफुलाई परिक्षणमात्र गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment