Comments Add Comment

गोरखामा भूकम्पले क्षति पुगेका १३ प्रहरी चौकी पुनर्निर्माण

२ मंसिर, गोरखा । जिल्लाका १३ वटा प्रहरी चौकी भवन पुनर्निर्माण भएका छन् । २०७२ सालको भूकम्पका कारण २२ वटा भवनमा क्षति पुगेको थियो । ९ वटा भवनको उद्घाटन भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार नवनिर्मित दुई भवन उद्घाटन भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेले सिरानचोक गाउँपालिका–३ को इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका–९ को रातमाटे प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।

एक करोड ९३ लाख ६९ हजार लागतमा इप्रका हर्मीको भवन निर्माण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले बताए । २०७४ साल साउन २२ गतेबाट निर्माण कार्य सुरु भएको थियो । २०७६ साल असार २१ गते काम सम्पन्न भएको उनले जानकारी दिए ।

१ करोड ५५ लाख ७४ हजार लागतमा रातमाटे प्रहरी चौकी निर्माण भएको बताउँदै एसपी अधिकारीले भने, ‘२०७४ साल बैशाख ६ गतेबाट काम शुरु भएको थियो, २०७५ माघ ५ मा सकियो ।’ चौकी निर्माणका लागी स्थानीय पदम प्रसाद अधिकारीले केही जग्गा निशुल्क दान गरेका थिए । कार्यक्रमको अवसरमा उनलाइ सम्मान गरिएको छ । स्रोत सुनिश्चित नभएका कारण क्षति पुगेका बाँकी भवनहरु पुनर्निर्माण हुन नसकेको एसपी अधिकारीले बताए । पुनर्निर्माणका लागी पहल भइरहेको उनको भनाइ छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले प्रहरी संगठनमा आवश्यक स्रोत साधन र प्रविधि नहुँदा समस्या भएको बताए ।

‘जनशक्ति बढाउनु भन्दा पनि प्रविधि बढाउनु पर्ने आवश्यक छ,’ उनले भने, ‘तर हामीसँग सवारी साधान, प्रविधि सबै अभाव छ ।’ सिमित स्रोत साधनका बावजुद पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी दिन रात खटिएको उनले बताए । प्रहरीको काम कारवाहीमा साथ दिन उनले स्थानीयलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment