Comments Add Comment

दुगडको इन्ट्री, गोकर्णको बहिगर्मन

लामो बहस, हल्ला र चर्चाका बीच अन्ततः संघीय सरकारको मन्त्रिपरिषद पुनर्गठन भएको छ । कामको समीक्षा गर्दै गति प्रदान गर्नका लागि गरिएको पुनर्गठनसँगै नेकपाका कतिपय कार्यकर्ताहरु पुनर्गठनबाट उत्साहित हुन सकेका छैनन् ।

हल्ला चलेदेखि उत्साहित बनेका कार्यकर्ताहरुको औपचारिक र अनौपचारिक प्रतिकृयाहरुले त्यति राम्रो संकेत गरेको छैन । धेरै आएका र गएका मन्त्रीहरुको विषयमा त्यति समीक्षा गरिहाल्ने परिस्थितिमा म छैन । तर, मन्त्रिपरिषदमा आएका एक पात्र मोति दुगड र बहिर्गमन भएका गोकर्ण विष्ट यी दुई पात्रका विषयमा कुनै न कुनै रुपमा चर्चा गर्न सकियो भने आगामी दिनमा सम्वृद्धिको यात्रामा कुनै न कुनै रुपमा सहयोग पुग्छ नै ।

खास गरेर गोकर्ण विष्टको बहिर्गमनलाई सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेरै प्रतिकृया आएका छन् । भित्रीरुपमा जे भए पनि बाहिरी रुपमा आम विदेशिन बाध्य नेपालीहरुको हकमा भने उनले कुनै न कुनै रुपमा काम गर्न खोजेको र उनले श्रमजीवीको पक्षमा बोलेको सन्देश दिन सकेका थिए । कतिपय काम गर्ने सन्दर्भमा ढंग पुग्यो पुगेन, समीक्षा हुँदै जाला ।

नेकपाभित्रका एउटा आशालाग्दा नेता पनि हुन् विष्ट । सञ्जालमा व्यक्त प्रतिकृया हेर्दा उनी विचौलियाहरुको मारमा परेको देखिन्छ । कतिपय सन्दर्भमा उनका आक्रमक शैलीले उनीमाथि नै प्रहार गरेको अनुभुति कुनै न कुनै रुपमा व्यक्त भइरहेका छन् ।

मन्त्रिमण्डलमा छिरेका अर्का पात्र हुन् मोति दुगड । कुनै समयमा मधेसवादी दलबाट सांसद हुँदै नवनिर्माण पार्टी खोलेर चुनाव लडेका उनले समानुपातिकमा देशभरिबाट १५ हजार पनि मत ल्याउन सकेनन् । व्यवसायिक घराना भएकाले अर्थको राम्रो परिचालन गर्दा पनि उनले १ सिट पाएनन् र तत्कालिन एमालेमा पार्टी विलय गरे । गत चुनावमा समानुपातिकमा पनि पर्छन कि पर्दैनन् भन्ने अनुमानका बीच दुगड सांसद भए ।

विक्रम लुइँटेल

राजनीतिको उर्वर भूमि बिराटनगरका दुगड यहाँका धेरै दिग्गज राजनीतिज्ञलाई पछि पार्दै दुई तिहाई सरकारको राज्यमन्त्री हुन सफल भएका छन् । उनी राज्यमन्त्री भएको सन्देश प्रवाह हुनेवित्तिकै यस क्षेत्रका थुप्रै नेकपा कार्यकर्ताहरुले असन्तुष्टि जाहेर गरेका छन् ।

राजनीतिमा लामो समयसम्म लाग्नेले अब के गर्ने भन्ने प्रश्न गर्दै असन्तुष्टि बाहिर आएको छ । मूलतः दुगडको इन्ट्रीले केही प्रश्नहरु उब्जाएको छ । त्यसको उत्तर कार्यकर्ताले मात्र हैन, सम्वृद्धिको आशा गरेका जनताले पनि खोजेका छन् ।

सवाल एक : वामपन्थी राजनीतिमा कुनै योगदान नगरेका दुगडलाई मन्त्री बनाउँदा लामो समयसम्म पार्टीमा बिताएका कार्यकर्ताको मनोवललाई कसरी उच्च बनाउने भन्ने सवाल गम्भीररुपमा आएको छ । यसले नेकपाका कार्यकर्ताहरुलाई कसरी पचाउने भन्ने सकस परेको अनुभूति हुन्छ ।

सवाल दुई : श्रमजीवी र गरीबको पक्षमा काम गर्ने तथा समाजवादउन्मूख अर्थतन्त्रबाट सम्वृद्ध नेपालको सपनामा दौडिरहेका आम नेपालीले दुगडका विगतका कृयाकलापबाट के आशा गर्ने ? गत वर्षमात्रै विराटनगरको श्रम कार्यालयले उनले नेतृत्व गरेर सञ्चालन गरिरहेको एक उद्योगमा मजदूरलाई न्यूनतम तलब नदिएको, श्रम सम्झौता नगरेको भनेर कारवाहीको प्रकृया अगाडि बढायो । अहिले पनि उनी मन्त्री हुँदा उनले सञ्चालन गरेका उद्योगमा मजदुरको नियुक्ति पत्र छ कि छैन्, श्रम सम्झौता छ कि छैन ? यो प्रश्नको उत्तर जनताले खोजिरहेका छन् ।

सवाल तीन : बिराटनगरको सडक विस्तार हुने क्रममा दुगडको घरले मिचिएको सडक फराकिलो बनाउने सन्दर्भमा उनले अवरोध सिर्जना गरे । सबै दबावलाई चिरेर बिराटनगरका तत्कालीन कार्यकारी प्रमुख गोपाल रेग्मीले उनको घर भत्काएर सडक विस्तार गरे । समाजमा खासै सकारात्मक छवि नबनाएका उनीबाट अब के आशा गर्ने भन्ने सवाल बिराटनगरमा व्याप्त छ ।

सवाल चार : दुगडले मन्त्री पद ग्रहण गरिरहँदा त्यो पदको गरिमा राख्छन् कि राख्दैनन् ? उनले सञ्चालन गरेका उद्योगहरुको पारदर्शिता र मजदुरमाथि गर्ने कतिपय सवाल प्रष्ट पार्न सक्नुपर्छ । उनले गरेका कतिपय सामाजिक गतिविधिका विषयमा पनि प्रश्न उठ्ने गरेका छन् । आफू नैतिक धरातलमा रहेर मात्र उनको मन्त्री पदको गरिमा रहन सक्छ । एकपटक मन्त्री हुनका लागि हुने र आम नेकपाका कार्यकर्ताको मन दुखाउनका लागि मन्त्री हुनुकोे कुनै तुक छैन । पार्टी जीवनमा लागेका धेरै यस क्षेत्रका नेता कार्यकर्ताहरुले यो विषयमा नेतृत्वले बोल्नुपर्‍यो, तर कसले बोल्ने भनेर पनि प्रश्न गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment