Comments Add Comment

कानूनमन्त्री यादवलाई पदभार ग्रहणमा ९ प्रश्न

९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको थियो । मन्त्रालय हेरफेर गर्दा मन्त्री यादव भने भारतमा थिए ।

शुक्रबार स्वदेश फर्किएका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादव आइतबार उपनिर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कास्की गए । सोमबार भने कानून मन्त्रालयमा पदभार ग्रहण गरे ।

निजी गाडी चढेर कानून मन्त्रालय पुगेका मन्त्री यादव हाँसीहाँसी कार्यभार सम्हाले । कानून मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले पत्रकारमार्फत यसबीचमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।

मन्त्री यादवले करिब तीन मिनेट पत्रकारहरुसँग बिताए । त्यसक्रममा सोधिएको नौ वटा प्रश्न र उनको जवाफ यस्तो छः

पत्रकार – मन्त्रीज्यू, कानून मन्त्रालय आइपुग्नुभयो ?

मन्त्री – विधिसँग सरोकार राख्ने ठाउँमा आइपुगेको छु ।

पत्रकार – संविधान संशोधनको कुरा उठाउँदै आउनुभएको थियो । कानून मन्त्रालयको जिम्मेवारी नै पाउनुभयो ?

मन्त्री- त्यो त राजनीतिक कुरा हो । राजनीतिक निर्णय भएर अगाडि बढ्ने कुरा हो । संविधान संशोधन गर्ने भन्नेमा दुई बर्ष अगाडि नै हस्ताक्षर भइसकेको हो । अब कार्यान्वयन गर्ने बेला आएको छ ।

पत्रकार- त्यसका लागि सही ठाउँमा आइपुग्नुभयो …?

मन्त्री- त्यो त समयले देखाउँछ । तर, बेला आएको छ ।

पत्रकार- मन्त्रालय हेरफेर अघि तपााईसँग परामर्श भएन भन्ने पनि थियो ?

मन्त्री- परामर्श गरिराख्नु पर्दैन । यो सामान्य विषय हो, प्रधानमन्त्रीले गर्न सक्छन् । मन्त्रालयहरु हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार हो । अनुभवी नेता बनोस भनेर यहाँ पठाएको हुनसक्छ । मिल्ने मन्त्रालयमा पठाइदिउँ भनेर पनि हुनसक्छ । उहाँले अली बढी नै माया गरेर पनि हुनसक्छ ।

पत्रकार- सरकार नै छाड्ने कि भन्ने चर्चा पनि थियो ?

मन्त्री- नआउँदा आउने चर्चा हुन्छ । आइसकेपछि जाने चर्चा हुन्छ । चर्चा गर्ने बाहक यहाँ (मिडिया)हरु नै छ र । तर अहिले सरकार छोडिहाल्ने निर्णय पार्टीले गरिहालेको छैन ।

पत्रकार- निजी गाडीमा आउनुभएछ ?

मन्त्री- मेरो गाडी नै त्यही हो ।

पत्रकार- निजी गाडी नै चढ्ने निर्णय गर्नुभएको हो कि !

मन्त्री- निजी गाडी नै चढ्ने निर्णय गरेको होइन । स्वास्थ्यको गाडी लगिहाल्यो । यताको गाडी जान बाँकी छ । बीचको समयमा के गर्ने ? हिँडेर आउन त भएन । हिँडेर आउँदा पनि हुन्थ्यो हुन त । ट्याक्सीमा चढेर आउनुभन्दा आफ्नै गाडीमा चढेर आएँ । यो नराम्रो हो र ? होइन ।

पत्रकार- पदभार ग्रहण अलि ढिलो भयो नि मन्त्रीज्यू ?

मन्त्री- ढिलो भएन नि राम्रै होस भनेर ।

पत्रकार- बहस राम्रै होस भनेर हो कि ?

मन्त्री- अँ बहस राम्रै होस भनेर ।

तस्वीरहरू : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment