+
+
Shares

देउवालाई प्रचण्डको जवाफ : राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १६:१६

९, मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् ।

सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले भने ‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’

प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए । ‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौं’, प्रचण्डले भने ‘हाम्रो एक इन्च भूमि पनि दिदैनौं भारतको एक इन्च पनि चाहिँदैन ।’

टनेल, रेल र पानीजहाज युग सुरु भयो

प्रचण्डले पाँच बर्षको स्थीर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको बताए ।

‘हामी टनेल युगमा गएका छौं, अब राजमार्गहरु सिधा हुन्छन्, नयाँ नयाँ र छोटा टनेल मार्गहरु बनाउँछौं, काम सुरु भइसकेको छ, रेल पनि आउँदैछ, पूर्वबाट सुरु हुन लाग्या छ, उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ, नारायणीमा केही दिनमा नै पानीजहाज चल्छ,’ अध्यक्ष प्रचण्डले भने ।

चितवनमा अर्बौ बजेट

चितवन निर्वाचन क्षेत्र नः ३ का सांसदसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको बताए । उनले बाँकी साँढे दुई बर्षको अवधिमा चितवनका मूल सडक र मूख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाए ।

नारायणी र राप्ती नदी नियन्त्रण गर्ने, जंगली जनावर र मानव बीचको द्वन्द्व कम गराउन तटीय क्षेत्रमा रिङरोड, ड्याम निर्माणको काम त्रीव गतिमा अघि बढेको प्रचण्डको भनाइ छ । चितवनलाई देशकै नमूना विकासको मोडलमा विकास गर्ने आफ्नो परिकल्पना रहेको भन्दै सोही अनुसार विभिन्न निकायहरुबाट बजेट तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रचण्डले बताए ।

आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडा नः १६, नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नः ३ मा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?