+

नेपाली भलिबलमा उर्जा भर्दै डच प्रशिक्षक

२०७६ मंसिर  ९ गते १९:३६ २०७६ मंसिर ९ गते १९:३६
नेपाली भलिबलमा उर्जा भर्दै डच प्रशिक्षक

९ मंसिर, काठमाडौं । नेपालको पुरुष भलिबल टिमलाई लक्षित गरेर सामाजिक सञ्जालमा नयाँ ह्यासट्याग सुरु भएको छ, ‘गो नेपाल’ । जसलाई इनर्जी अफ नेपाल पनि भनिएको छ ।

१३ औं सागको तयारीका लागि नेपाली टोली भारत गएको थियो, जहाँ डच प्रशिक्षक लेस्ले डे जोङले नेपाली टिमलाई प्रशिक्षण दिएका थिए । भारत भ्रमणका क्रममा उनै जोङले सुरु गरेको गो नेपाल ह्यासट्यागले अहिले नेपाली भलिबललाई जगाइरहेको छ ।

यो ह्यासट्याग नेपाली भलिबलमा उर्जा भर्नका लागि सुरु गरेको जोङ बताउँछन् । ‘नेपालीमा एउटा शब्द छ नि–उर्जा, हो हामी नेपाली भलिबल टिममा उर्जा भर्ने प्रयास गरिरहेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो महिला र पुरुष दुवै टिमलाई उर्जा चाहिएको छ ।’

नेपाली भलिबलको लागि जोङ नौला व्यक्ति होइनन् । गत वर्ष इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा उनले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । सो प्रतियोगितामा नेपाल १५ औं भएको थियो । त्यतिबेला नेपालले मंगोलियालाई हराएको थियो ।

यस पटक घरमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि उनैलाई नेपाल भलिबल संघले प्रशिक्षकको रुपमा झिकाएको हो । उनको प्रशिक्षणमा नेपालले भारतमा अभ्यास गर्नुका साथै भारतीय टिमसँग तीन मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।

नेपालको पुरुष भलिबल टिमले सागमा अहिलेसम्म एउटा पनि पदक जित्न सकेको छैन ।

तर यो पटक यो खराब रेकर्डलाई सुधार्ने अभियानमा छन् प्रशिक्षक जोङ । खेलाडीहरुलाई खेल्ने टेक्निकका साथै मनोवैज्ञानिक रुपमा पनि बलियो बनाउने उनको प्रयास छ । उनको आगमनसँगै खेलाडीदेखि अफिसियल सबैजना उत्साहित छन् ।

००००

१३ औं सागको उद्घाटन हुन अब एक साता पनि बाँकी छैन । भलिबल र उसुका खेलहरु त उद्घाटन अगावै खेलाइनेछन् । त्यसमा पनि भलिबलको प्रतिस्पर्धा (पुरुष र महिला) सबैभन्दा अगाडि शुरु हुनेछ ।
११ गतेदेखि भलिबलका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।

पुरुष टिमले भारतमा ट्रेनिङ गर्दैगर्दा नेपालको महिला टिमले भने बंगलादेशमा सेन्ट्रल जोनको उपाधि जित्दै इतिहास रचेको थियो । पहिलो पटक आयोजना भएको प्रतियोगिताको विजेता बनेपछि महिला टोलीलाई सागमा पनि राम्रो नतिजा ल्याउने दबाब छ ।

महिला भलिबलले यसअघि तीनपटक कास्य जितेको थियो । यो पटक स्वर्णलाई लक्ष्य बनाएको छ ।

अन्तर्राष्ट्रिय सहभागिता थोरै भएपनि महिला टोलीले कुनै न कुनै पदक जितिरहेको छ । २०१४ मा नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो ।

तुलनात्मक रुपमा महिलाभन्दा पुरुषले अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी सहभागिता जनाएको छ । पुरुष टोलीले पाँचवटा सेन्ट्रल जोन खेलिसकेको छ । गतवर्ष एसियन गेम्स खेलेको नेपालले यसैवर्ष नेपालमा आयोजना भएको पाँचौ संस्करणको सेन्ट्रल जोन खेलेको थियो ।

एसियन गेम्सको अनुभव भएको नेपालले पुरुष भलिबलमा दक्षिण एसियामा कुनै पदक जित्न सकेको छैन । सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोन भलिबलमा कास्य जितेको थियो । त्यो नेपाली पुरुष टिमको पहिलो र एक मात्र अन्तर्राष्ट्रिय पदक हो ।

यो पटक घरेलु मैदानमा अवसर छ । गत भदौमा भएको सेन्ट्रल जोनका लागि पुरुष टिमले असारदेखि नै तयारी शुरु गरेको थियो । त्यसयता खेलाडीहरु निरन्तर अभ्यासमा छन् । यसपाली कुनै न कुनै पदकको आशा नेपाली पुरुष टिमबाट पनि राखिएको छ ।

भारतको ट्रेनिङले नेपाली टिमलाई सहयोग पुगेको प्रशिक्षक जोङले बताए । उनले भने, ‘भारतमा एकदमै राम्रो ट्रेनिङ भयो । भारतका अग्ला र बलिया खेलाडीसँग नेपाली खेलाडीले खेल्न पाए ।’
आफूभन्दा अग्ला खेलाडीसँग खेल्दा धेरै सिकिने उनको भनाइ छ । भन्छन्, ‘उनीहरुको सबैभन्दा होचा खेलाडी पनि हाम्रो अग्लो खेलाडी बराबर थिए । भारतमा भएको तयारी हाम्रो लागि पर्फेक्ट भयो ।’

समूह चरण नै कठिन

सार्कमा आवद्ध सात देशमध्ये भुटानबाहेक सबैले महिला र पुरुष भलिबलमा सहभागिता जनाउँदैछन् । पुरुष र महिला दुवैतर्फ नेपाल भारत र बंगलादेश रहेको कठिन समूहमा छ ।
महिलातर्फ नेपाललाई सेमिफाइनल पुग्न कठिन नभए पनि पुरुषतर्फ भने समूह चरणमै चुनौती छ ।

पाकिस्तान र भारत दक्षिण एसियामा बलिया टोली मानिन्छन् । नेपालले समूह चरण पार गर्न एक खेल जित्नैपर्नेछ । बंगलादेशसँग नेपालले सेन्ट्रल जोनमा खेल्दै आएको हो । बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान सुरक्षित गर्ने नेपालको दाउ हुनेछ ।

अर्को समूहमा पनि बलिया टोलीहरु छन् । पाकिस्तान, माल्दिभ्स र श्रीलंका समूह बी मा छन् । पाकिस्तान यस समूहको बलियो टोली हो । श्रीलंकासंग नेपालले गत वर्ष एसियन गेम्समा खेलेको थियो । यस्तै माल्दिभ्ससँग पनि नेपालले नियमित खेलेको छ । तर नेपालमै भएको सेन्ट्रल जोनमा नेपाल माल्दिभ्सँग पराजित भएको थियो ।

त्यसैले समूह चरण पार गरेमा नेपाललाई झन् ठूलो चुनौतीले पर्खिरहेको हुनेछ । समूहको उपविजेता बनेर सेमिफाइनल पुगे नेपालको भेट पाकिस्तानसँगै हुने सम्भावना बढी छ ।

प्रशिक्षक जोङ भन्छन्, ‘भारत सागमा स्वर्ण पदकको दाबेदार हो । हामीले भारतमा भारतसँग खेल्दा १ सेट जितेका थियौं । ३÷४ सेट २८÷२६ मा पुर्याएका थियौं । हाम्रा खेलाडी उच्च मनोबलमा छन् ।’
प्रशिक्षक जोङले भारतसँग घरेलु कवर्टमा खेल्दा छुट्टै माहोल बन्ने बताए ।

उनी भन्छन्, ‘हाम्रा घरेलु दर्शकको लागि यो विशेष अवसर हुनेछ । मलाई विश्वास छ कि खेलाडीले पनि उनीहरुलाई निराश बनाउने छैनन् ।’

नयाँ खेलाडीको प्रतिभा

सागका लागि नेपाली टिममा ३ नयाँ खेलाडी छन् । उनीहरु हुन्, सरन सामरी क्षेत्री, द्वारिका थापा र रविन चन्द ।

यसअघिको सेन्ट्रल जोनबाट राजेन्द्र विष्ट, टेक अवस्थी र दुर्गाबहादुर खड्काले डेब्यु गरेका थिए । प्रशिक्षक जोङका लागि यी ६ खेलाडी नयाँ हुनेछन् । तर नयाँ खेलाडीहरु पनि प्रतिभावान रहेको उनको विश्लेषण छ ।

गत वर्ष एसियन गेम्स खेल्दा १२ सदस्यीय टिममा रहेका ६ खेलाडी भने अहिले टिममा छैनन् ।

एसियन गेम्सको स्मरण गर्दै जोङ भन्छन्, ‘गत वर्ष र अहिले धेरै भिन्नता छ । अहिले हामी धेरै खेल खेलिरहेका छौँ । हामीसँग धेरै युवा प्रतिभावान खेलाडी छन् । म एकदमै उत्साहित छु ।’

बलियो र कमजोर पक्ष

नेपालको समस्या जहिल्यै रिसिभ र डिफेन्समा हुने गरेको छ । तर नेपालको बलियो र कमजोर पक्षको बारेमा सोध्दा जोङले कूटनीतिक जवाफ दिए ।

‘यो प्रतिस्पर्धीमा भर पर्छ,’ उनले भने, ‘यदि हाम्रो प्रतिस्पर्धी बलियो छ भने हामीलाई सर्भिस र रिसिभमा कठिनाइ हुन्छ । यदि हाम्रो विपक्षी कमजोर छ भने त्यो सहज हुन्छ । आमरुपमा भने स्पाइक हाम्रो बलियो पक्ष हो ।’

उनी थप्छन्, ‘राम्रो ब्लक भएकोसँग खेल्दा हाम्रो स्पाइक कमजोर हुन्छ, किनकी हामी त्यो लेभलमा छैनौं ।’

टिममा जहिल्यै पनि सुधार गर्नुपर्ने पक्षहरु रहने उनको भनाइ छ । आफूले रिसिभ र सर्भिसमा फोकस गरिरहेको जोङले बताए ।

यसपालि नेपालको लक्ष्यबारे सोध्दा प्रशिक्षक जोनले भने, ‘म इतिहास रच्न चाहन्छु । हामी (कुनै न कुनै) मेडल जित्न चाहन्छौं । नेपालमा भइरहेको टुर्नामेन्टमा घरेलु दर्शकको साथ हामीलाई हुनेछ ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय