+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘कृषिमा लगानी कम भयाे, नीति परिवर्तन आवश्यक छ’

रोयल आचार्य रोयल आचार्य
२०७६ मंसिर १० गते १५:१३

नेपालमा तीन दशक अघि सुरु भएको लघुवित्तको अवधारणा अहिले गाउँगाउमा अभ्यासमा छ । बिकट क्षेत्रमा ठूला बैंकहरुको अनुपस्थितिले यो अभ्यासलाई अनुकुलता दिएको छ ।

बिकटका विपन्न वर्गमा लगानी गर्नकै लागि नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजत लिएर कारोबार गरेका लघुवित्त संस्थाहरुको संख्या अहिले सय नजिक पुगेको छ ।

यी संस्थाहरुले बिकटका गाउँमा गएर लगानी गरे पनि उनीहरुको ब्याजदर आलोचित बन्दै आएको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको संख्या थपिदा यको विषय अझ पेचिलो बनेको छ । नेपाल राष्ट्र बैंकले नयाँ-नयाँ लघुवित्त संस्थाहरुलाई धमाधम लाइसेन्स दिइरहँदा लघुवित्त बैंकर्स संघ पनि चिन्तित देखिन्छ ।

लघुवित्तका सीईओहरुको छाता संस्था लघुवित्त बैंकर्स संघको नेतृत्वमा अहिले बसन्त लम्साल छन् । लघुवित्त क्षेत्रका थिति-बेथितिको बिषयमा अनलाइनखबरले अध्यक्ष लम्सालसँग गरेको कुराकानीको सम्पादित अंशः

लघुवित्त बैंकर्स संघ अब कसरी अघि बढ्छ ?

मुलुकभर लघुवित्तहरुको संख्या ९१ पुगिसकेको छ । हाम्रो संघमा सबभन्दा धेरै सदस्य छन् । लघुवित्त सस्थाहरु हिजो कै शैलीमा चलिरहेका छन् । गाउँ-गाउँ जाने र बिना धितो कर्जा दिने पुरानै शैली कायम छ । अब यसमा परिवर्तन आवश्यक छ । परिवर्तन भन्नाले विद्यमान शैलीलाई ‘अपग्रेट’ गर्ने भन्ने हो ।

३० वर्ष अघि बंगलादेशबाट आएको ‘मोडल’ नै अहिलेसम्म चलिरहेको छ । अब नियामक निकाय र अन्य सरोकारवालाहरुले पनि लघुवित्तप्रतिको परम्परागत दृष्किोणमा परिवर्तन गर्नपर्छ ।

अध्यक्ष निर्वाचित हुनु अघिदेखि नै मैले ‘कन्सोलिडेशन अफ माइक्रोफाइनान्स’को कुरा उठाएको छु । कृषी हाम्रो प्राथमिकतामा छ, यसलाई अझ बढाउनु पर्छ । कृषिमा ३३ प्रतिशत लगानीले पुग्दैन, ६६ प्रतिशतसम्म गर्नुपर्छ । कृषीमा ४-५ लाख रुपैयाँ लगानी गरेर पुग्दैन, ५०-६० लाख चाहिन्छ । यो कुरा हामीले भनेर हुने होइन, नीतिगत व्यवस्था नै हुनुपर्छ । यसका लागि अध्ययन-अनुसन्धान आवश्यक पर्छ भने साथ दिन लघुवित्त बैंकर्स संघ तयार छ ।

यसपाली संघको निर्वाचन अलि बिवादास्पद भयो हैन ?

अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदहरुमा सर्वसम्मति जुट्यो । महासचिव र सदस्यहरुको निर्वाचन भयो । सबै पद सर्वसम्मत गरौं भन्ने भएपनि आकांक्षी धेरै भएपछि मतदान गर्नु परेको हो । यसलाई कसरी बिवादास्पद भन्ने ?

महासचिव पदमा दुई कार्यकाल अघि पनि निर्वाचन भएको थियो । त्यतिबेला महासचिव होइन, सचिव पद थियो । संघमा अहिले सदस्य संस्थाहरु बढेका छन् । यो हिसाबले निर्वाचनमा धेरै आकांक्षी हुनु पनि स्वभाविकै हो । यी कारणहरुले केही नयाँपन आएको हो, बिबाद भएको होइन ।

निर्वाचनका बेला तपाईंसँग केही सीईओ असन्तुष्ट थिए । अब उनीहरुलाई कसरी समेट्नु हुन्छ ?

संघको नेतृत्व आज मैले लिए, तर यो सबैको साझा संस्था हो । नेतृत्वमा आज म आएँ, भोलि अर्को आउनु हुन्छ । जहाँसम्म मेरो सवाल छ, मैले समग्र ‘माइक्रोफाइनान्स’को हित सोचेको छु । यसमा सबै मिलेर काम गर्ने हो । संस्थामा विभिन्न जिम्बेवारीहरु हुन्छन् । त्यो लिएर, सबै मिलेर यो क्षेत्रको विकासमा एकजुट हुन्छौं ।

लगानीको ‘मोडालिटी’ पुरानो भयो भन्नुभएको छ । तपाईंले सोच्नुभएको ‘मोडालिटी’ कस्तो हो ?

अहिले हामी सामूहिक जमानीमा बिना धितो लगानी गर्छौ । ग्रामीण भेगमा पनि ग्राहकले ‘म मेरो मात्र जोखिम लिन्छु’ भन्न थाल्नु भएको छ । साक्षी बस्नै नमान्ने अवस्था छ । र पनि, ठूला वाणिज्य बैंकहरुको पहुँच बाहिर रहेकालेत् यहाँ लघुवित्त सेवा आवश्यक छ ।

यो कारणले गर्दा लघुवित्तहरुको लगानी ठूलो परिमाणमा पनि जानु पर्छ । फेरि, एक करोड पुँजी भएको संस्थाले एक करोड नै किन लगानी किन गर्नु पर्‍याे भन्ने प्रश्न आउँछ । यो कुरा तुरुन्तै गर्न पर्छ भनेको होइन, तर भविष्यबारे त अहिल्यै सोच्न पर्छ । साना उद्योग भनेर घरेलुले गरेको परिभाषा अनुसार लगानी लघुवित्तले गर्न पाउनु पर्छ ।

लघुवित्तहरुले विकास बैंकको काम गरिहेका छन् । वास्तविक बिकास बैंक भनेको लघुवित्तहरु नै हुन् । यसर्थ लघुवित्तहरुले ५० लाखसम्म कृषि कर्जा दिन पाउनु पर्छ । ठूलो मात्रामा कर्जा लगानी भए हाम्रो संचालन खर्च घट्छ ।

लघुवित्तको ब्याज महंगो भयो भन्ने छ । संचालन खर्च घटेपछि ब्याज घट्छ । हामीलाई श्रोत व्यवस्थापनको समस्या छ । राष्ट्र बैंक वा नेपाल सरकारले हाम्रा लागि एउटा कोष बनाइदिए सहज रुपमा लगानी गर्न सक्ने थियौं । लघुवित्तहरुका लागि श्रोत व्यवस्थापन स्थायी समस्या जस्तो भएको छ । यसमा अन्तर्राष्ट्रिय अभ्यास के छ ? अन्य देशहरुमा सरकारको सहयोगले लघुवित्तहरुलाई सहज भएको छ । भारतमा विकास सम्बन्धी कोषहरु लघुवित्तहरुले प्रयोग गर्छन् । हाम्रोमा भने विकास कोषहरु नै छैनन् । विपन्न वर्गमा ५ प्रतिशत लगानी गर्ने व्यवस्था त छ, तर त्यसका लागि भनेर छुट्याइएको छ रकम ‘कमर्शीयल ल्याण्डिङ’ भइरहेको छ । त्यसको ब्याजदर सवारी कर्जाभन्दा महंगो छ । अर्को कुरा, सरकारले व्यवस्था गरेको विपन्न बर्गमा लगानी गर्नुपर्ने रकम अपुग छ ।

श्रोत व्यवस्थापन कसरी हुन सक्ला त ?

१३/१४ प्रतिशतमा रिण लिएर १८/१९ प्रतिशतमा लगानी गर्दा पनि ब्याज धेरै चर्को भयो भन्ने कुरा आउँछ । हाम्रो संचालन खर्च नै धेरै भए पछि ब्याज बढ्ने नै भयो । सस्तो ब्याजदरमा रकम पाए सोहीअनुसार कर्जा लगानी गर्न सकिन्थ्यो । त्यसकारण, सरकारले यस्तो किसिमको श्रोत ल्याउनु पर्यो, जसबाट सुलभ तरिकाले विपन्न वर्गमा लगानी गर्न सकियोस् । जस्तो, सरकारले ८ प्रतिशतमा उपलब्ध गराए हामी १६ प्रतिशतमै लगानी गर्न सक्छौं ।

लघुवित्तको संख्या धेरै हुँदा ‘डुप्लिकेशन’ लगायतका समस्याहरु देखिएका छन् । कर्जा सुरक्षाको विषय पनि समस्याको रुपमा छ । कर्जा सुरक्षाको प्रभावकारी तथ्यांक नभएका कारण हामीलाई केही समस्या भएको छ । हामीसँग न्याशनल कार्ड छैन । नागरिकताको प्रमाणपत्र छ, तर त्यसको ‘प्याटर्न’ मिल्दैन । त्यसबाट मान्छेको ‘आइडेन्टीफिकेशन’ गर्न सकिदैन ।

हामीकहाँ ३३ प्रतिशत मात्र धितो राख्न सकिने व्यवस्था छ, यसलाई बढाउनपर्छ । यी विषय विस्तारै समाधान होलान् । मूख्य समस्या ‘कन्सलिडेसन’को छ । राष्ट्र बैंकको तथ्यांकले ६१ प्रतिशत नागरिकलाई बैंकिङ पहुँचमा देखाउँछ । बाँकी ३९ प्रतिशत नागरिक भनेका ग्रामिण भेगका विपन्न हुन् । हामीले गाउँ-गाउँ पुगेर उनीहरुलाई वित्तीय सेवा दिनपर्ने छ ।

तपाई‌ंलाई नेपालमा लघुवित्तहरु धेरै भए भन्ने लाग्दैन ?

यो विषयमा हामीले राष्ट्र बैंकसँग कुरा गरिरहेकै छौ । उहाँहरु हामीलाई ‘मर्जर’मा जानुस् भन्नु हुन्छ, लाइसेन्स पनि दिनु हुन्छ । यसमा हामीले प्रश्न उठाएका छौं । राष्ट्र बैंक भने ‘तपाईहरुले पाएपछि अर्कोले नपाओस् भन्ने चाहानु हुन्छ’ भन्छ ।

भित्र जति धेरै प्यासेन्जर भए पनि बाहिर भएको मान्छे बसमा चढ्छ । बसभित्र भएको मान्छेचाहिँ अरु मान्छे नहालोस् भन्ने चाहान्छ । गाडीवालाले भने मान्छे थपेकोथप्यै गर्छ । लघुवित्तमा पनि यस्तै भएको छ । राष्ट्र बैंकले लघुवित्तको संख्यासँगै पहुँच बढेको छ भन्छ । एक हिसाबले त्यो पनि ठीकै होला, तर संख्या धेरै हुँदैमा पहुँच बढ्ने होइन । भएकाले राम्रो सेवा दिए पहुँच बढी हाल्छ ।

सरकारले वाणिज्य बैंकहरुलाई सबै स्थानीय तहमा जाउ भन्यो । ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरु पुगिसकेका छन् । अब थोरैमा मात्र पुग्न बाँकी छ । यो सरकारी नीतिले भयो । २८ वटा वाणिज्य बैंकको उपस्थिति सबै स्थानीय तहमा पुग्दैछ भने लघुवित्तहरुलाई चाहिँ मुख्य कार्यालय नै मुगु, जुम्लामा खोल किन भन्नु पर्यो ?

प्रधान कार्यालय जहाँ भए पनि यो-यो ठाउँमा सेवा देउ भने हामी जसरी पनि सेवा दिइहाल्छौं । विकट क्षेत्रमै मुख्य कार्यालय राख्दा हाम्रो सञ्चालन खर्च बढेको छ । मुख्य कार्यालय काठमाडौंमा रोखेर पनि मुगुमा सेवा दिन सकिन्छ । सीईओ नै मुगुमा वस्नु पर्ने नियम भए पछि श्रोत व्यवस्थापनको समस्या हुन्छ ।

हामी आफै बसेर को, कहाँ जाने भनेर जिल्ला वा स्थानीय तह बाड्न सक्छौं । त्यो अवस्थामा ‘डुप्लिकेशन’को समस्या पनि हुने थिएन । अहिले कुनै स्थानीय तहमा १० संस्थाले शाखा खोलेका छन्, कुनैमा एउटा पनि पुगेको छैन ।

तपाईंको विचारमा नेपालमा कति लघुवित्त भए पुग्छ ?

मेरो विचारमा ३० वटा भए पुग्छ- एउटा प्रदेशमा तिनवटा र ९-१० वटा केन्द्रमा भए राम्रो हुन्छ । अहिलेको अवस्था हेर्दा ३० वटा भए उपयुक्त छ ।

लघुवित्तले बाधेको भैसी फुकाएर जफत गरेकोदेखि ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेका समाचारहरु आइरहन्छन् । यसभित्रको वास्तविकता के हो ?

यो विषयमा मेरो पनि मिडियालाई प्रश्न छ । कुनै एउटा लघुवित्तले गल्ती गरेको होला, म मान्छु । त्यो विशेष घटना राम्रो भएन, त्यो पनि म मान्छु । तर, के हामीले आत्माहत्या गराउन रकम लगानी गरेको हो ? हाम्रो उद्देश्य त विपन्न वर्गलाई उकास्ने हो । जेको लागि भनेर कर्जा लिएको हो त्यही ठाउँमा खर्च नगरेपछि हुने समस्या हो यो । कर्जा सदुपयोग नहुँदा आउने समस्याको दोष मिडियाले लघुवित्त उद्योगलाई दिन नमिल्ला ।

ठूला वाणिज्य बैंकहरुबाट ऋण लिएका ठूल्ठूला उद्यमीहरुले पनि आत्माहत्या गरेका छन् । ति आत्माहत्या बैंकको ऋण लिएर भएको भन्ने समाचार आएका छैनन् । मेरो आग्रह छ- कसैले गरेको आत्माहत्यामा कर्जा सदुपयोग वा दुरुपयोगको पाटो पनि केलाउँ । समाचार लेख्दा लघुवित्तहरुले जीवन सिध्याउन होइन, उकास्न लगानी गरेका हुन् भन्ने कुरा पनि नबिर्सौं ।

लघुवित्तहरुले धेरै ब्याज असुले भनेर राष्ट्र बैंकले लगाएको १८ प्रतिशतको ‘क्याप’ हटाएको छ । अहिले व्याजदरको अवस्था के छ ?

राष्ट्र बैंकले ‘क्याप’ लगाए पनि नलगाए पनि माइक्रो फाइनान्सहरुको ब्याजदर १८ प्रतिशत नै छ । केहिले २३/२४ प्रतिशतसम्म ब्याज लिएको भन्ने पनि सुन्छि, तर मलाई पत्यार लाग्दैन ।

नेपालमा उद्यम गर्न धितो नराखी किन ऋण किन नपाइएको ?

ऋणमा जोखिम जोडिएर आउँछ । हामी पाँचलाख रुपैयाँसम्मको रिणमा धितो लिदैनौ, तर त्यहाँ सामूहिक जमानी हुन्छ । अब त अरुको जमानी बस्दिन भन्ने दिन पनि आउन थाले । यस्तो अवस्थामा बिना धितो ठूलो कर्जा लगानी गर्न अप्ठेरै पर्ला ।

अरु मुलुकमा घर वा जमीन नभएकाहरुले पनि ठूलो रकम ऋण लिएर उद्यम गरेका उदाहरण प्रसस्त पाइन्छ । नेपालमा चाहिँ किन त्यसो गर्न नसकेको ?

यो एकदमै राम्रो कुरा हो । विकसित मुलुकहरुमा आजिवन डेरामा बसेर पनि बैंकहरुबाट ऋण लिएर धेरै राम्रो उद्यम-व्यवसाय गर्नेहरु धेरै हुन्छन् । तर, हाम्रो देशमा घर बनाउनैपर्छ भन्ने मान्यता छ । सबैको घर, जग्गा हुन्छ ।

त्यहाँ र यहाँको मूख्य फरक एउटै छ- ‘सेक्युरिटी’ । नेपालमा एउटै मान्छेले चारवटा नागरिकता बनाउन सक्छ । उसलाई ‘ट्रयाक’ गर्ने कसरी ? विकसित मुलुकहरुमा कुनै नागरिकको ‘न्याशनल आईडि कार्ड’ जाँच्यो भने उसले कहाँ, कति ऋण लिएको छ, के इलम-धन्दा छ, अहिले कहाँ छ, इत्यादी सबै विवरण आउँछ । रिण लिएर कोही लुक्न, भाग्न सक्दैन ।

तर, हाम्रो नेपालमा त्यस्तो छैन । संसारमा जहाँ भागे पनि समातेर असुल्न सक्छु भन्ने भयो भने त बिना धितो कर्जा कुन ठूलो कुरा भयो र !

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?