Comments Add Comment

श्रीमानको तानाशाही शैली

प्रतिमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । उनको व्यवहार कुशल पनि छ । उनी आफन्त, छिमेकी तथा साथी-भाइबीचमा लोकप्रिय छिन् । तर, उनका श्रीमानको लागि उनी कहिले कुशल भइनन् ।

यो प्रसंग केवल प्रतिमाको लागि मात्र होइन, त्यस्ता धेरै महिलाहरुको हो । जसको बानी, तौर-तरिका, रहन-सहन उनका श्रीमानको लागि स्वीकार योग्य हुँदैन । सधैं आफ्नी श्रीमतीको कमी-कमजोरी खोज्ने अथवा निकाल्ने श्रीमानआफूहरु स्वयं चाहिँ परफेक्ट हुन्छन् ?

हरेक व्यक्तिको आ-आफ्नो स्वभाव, हेर्ने दृष्टिकोण तथा रुचि हुन्छ । त्यस्तो अवस्थामा हामी अरुलाई ‘म जस्तो नभएको भएर उत्कृष्ट छैन’ भन्ने सोच्छौं भने यो ज्यादती हुन्छ । हामीले कमी-कमजोरी निकालिरहेका व्यक्तिहरुमा समेत विभिन्न गुणहरु हुन्छन् भन्ने कुरा पनि सोच्नुपर्छ ।

प्रतिमाको बारेमा भन्नुपर्दा उनी मिठो खाना बनाउँछिन् । उनको व्यवहार पनि कुशल छ । त्यसको ठिक विपरित उनका श्रीमानको न त व्यवहार कुशल छ । कुनै बौद्धिक प्रतिभा छ, जसले उनी अरुको अगाडि आफूलाई फरक प्रमाणित गर्न सक्छन् । उनको एउटा राम्रो पक्ष भनेको उनी कमाउँछन् भन्ने मात्र हो । कमाउन त एउटा ठेलागाडावालाले पनि कमाउँछ । प्रतिमा स्वयं घरमा ट्यूशन पढाएर महिलाको ८-१० हजार रुपैयाँ कमाउँछिन् ।

बिहान ६ बजे उठ्छिन् । बच्चाका लागि टिफिन तयार गर्ने, उनीहरुलाई स्कूलका लागि तयार पार्ने, श्रीमान अफिसबाट घरलाई र्फकँदा घरलाई हरेक किसिमले व्यवस्थित गर्नु, साँझमा बच्चाहरुलाई आफैं पढाउनु आदि-आदि । यदि कहिलेकाहीँ श्रीमानले बच्चाहरुलाई पढाउन थाले भने पढाई कम पिटाईमा धेरै ध्यान दिन्छन् ।

अत्यधिक अपेक्षा

प्रायः श्रीमानहरु बिहान ७ बजेभन्दा अगाडि उठ्दैनन् । उनीहरु ढिला उठ्नुको कारण म कमाउँछु भन्ने दम्भ रहेको हुन्छ । बिहान सुरुमा उठ्नु र राति सबैभन्दा ढिला सुत्नु प्रतिमाको दिनचर्या भएको छ । तर, पनि उनका श्रीमानले प्रत्यक दिन उनमा केही न केही कमी निकाल्ने गर्छन् ।दिनभरी घरको कामकाजमा व्यस्त रहने प्रतिमा साँझ श्रीमानघर आउने समयमा भयभित हुन्छिन् । उनको मनमा आज श्रीमान्ले कुन-कुन कुरामा कमी देखाउने हो भन्ने चिन्ता बढ्न थाल्छ । श्रीमानघर भित्र प्रवेश गर्दा-गर्दै कराउन थाल्छन् । तिमी दिनभरी के गर्छौ ? बच्चाको लुगाहरु ओछ्यानमा नै छन् । दराज खुल्लै छ । आज तरकारीमा पनि नुुन धेरै थियो, फ्याकी दिउँ जस्तो लागेको थियो आदि-आदि ।

श्रीमान्ले घर पस्दा-पस्दै यस्तो भनेको सुनेपछि प्रतिमाको मन उदास हुने नै भयो । प्रतिमाका लागि त्यो हरेक दिनको नियति नै थियो । उनले घरको पूरा काम गर्न सकिनन् । किनभने दिउँसो उनकी छिमेकी आएकी थिइन्, बच्चाको लुगा ओछ्यानमा हुनुको कारण सर्टमा टाँक लगाउनु पर्ने थियो ।

प्रतिमा त्यस्ता कुराहरुमा सफाई दिँदा-दिँदा थाकिसकेकी थिइन् । तर, उनका श्रीमानको बानीमा कुनै सुधार आएको थिएन । उनलाई आफ्ना श्रीमानले  आफ्नो भावनाहरुप्रति कुनै वास्ता नभएकाले प्रतिमा कहिलेकाहीँ रुने गर्थिन् । उनका श्रीमानलाई उनीबाट सबै कुरा उत्कृष्ट चाहिन्थ्यो ।

श्रीमानको तानाशाही शैली

परफेेक्ट अर्थात् उत्कृष्टको परिभाषा के हो भन्ने प्रश्न उठ्छ ? तरकारीमा नून धेरै छ कि थोरै भन्ने कुरामा कसरी उत्कृष्ट हुने ? हुन सक्छ जति प्रतिमाको श्रीमानलाई मनपर्छ त्यति प्रतिमालाई मन पर्दैन । प्रतिमा मात्र होइन, उनको घरमा आउने सबै पाहुनालाई प्रतिमाले बनाएको खाना अति नै मिठो लाग्छ । तर, श्रीमानको परफेक्सनको परिभाषालाई कुन रुपमा लिने ? जे श्रीमानले भन्छन् त्यहि परफेक्ट हुन्छ, के यो श्रीमानको तानाशाही शैली हैन त ?

कमी-कमजोरी निकाल्ने बानी एउटा मनोबिकारको रोग हो । कुनै-कुनै व्यक्तिहरु मनोबिकारले ग्रस्त हुन्छन् । शान्तिले बस्ने उनीहरुको बानी हुँदैन । उनीहरु जहाँ गए पनि केही न केही कमी देख्छन् । उनीहरुको आँखा कमी-कमजोरीमा नै टिकिरहेको हुन्छ । कसैको आईब्रो बिग्रिएको देख्छन्, कसैको लिपस्टिक फैलिएको देख्छन् त कसैको साडीमा कमेन्ट गर्न थाल्छन् ।

हरेक पुरुष एकै प्रकारका हुँदैन । प्रतिमाका श्रीमानलाई हरेक कुरा परफेक्ट चाहिन्थ्यो तर उसले एक्ली प्रतिमाबाट कहिलेकाहीँ केही कुरामा कमी रहन्छ भन्ने कुरा सोच्नु आवश्यक हुन्छ । अफिस र घरमा फरक हुन्छ । अफिसमा सफाईका लागि कर्मचारी राखिएको हुन्छ । तर, घरमा श्रीमतीले गर्नुपर्ने विभिन्न कामहरु हुन्छन् । हरेक काममा उनले समान रुचि देखाउन सम्भव हुँदैन । त्यसैले परफेक्शनका लागि श्रीमान्ले पनि श्रीमतीको काममा  सहयोग गर्नुपर्छ ।

कलहको सुरुवात

कुनै पनि कुरा अति भयो भने नराम्रो हुन्छ । परफेक्शनका कारण घर जेल जस्तो लाग्न थाल्छ । त्यस्तो व्यक्तिको घरमा हत्तपत्त कोही पनि जान मन पराउँदैनन् । यदि श्रीमतीको माइतबाट कोही व्यक्तिहरु आए भने श्रीमानले अगाडि त केही पनि भन्दैनन् । तर, उनीहरु जानासाथ विभिन्न कुराहरुमा कमी-कमजोरी देखाएर कराउन थाल्छन् । माइतका व्यक्तिहरुको प्रसंगमा हरेक नारी कठोर हुन्छन् । हंसमुख स्वभावकी प्रतिभाको समेत रिसाउँछिन् । त्यसपछि पुनः कलह प्रारम्भ हुन्छ ।

श्रीमानबाट औंल्याइएको कमी-कमजोरीको रिस श्रीमतीहरुले आफ्ना छोरा-छोरीमा निकाल्ने गर्दछन् । श्रीमतीहरुले बिनाकारण बच्चाहरुलाई पिट्छन् । जसबाट बच्चाको लालन-पालनमै नकारात्मक प्रभाव पर्छ । बिस्तारै श्रीमतीहरुको स्वभावमा चिडचिडापन समेत आउन थाल्छ । आउनीहरुले आफ्ना खुबीहरु समेत बिर्सन थाल्छन् ।  त्यस्ता महिलाहरु डिप्रेसनको शिकार हुन पुग्छन् । जुन घर-परिवारका लागि घातक हुनसक्छ । के श्रीमानले  यसबारेमा सोच्ने बेला भएन र ?

श्रीमानको कमी-कमजोरी निकाल्ने बानीका कारण जब-जब प्रतिमा माइत जान्छिन् । उनलाई फर्केर श्रीमान्को घर जानै मन लाग्दैन । श्रीमानको घर पुगेपछि पुनः त्यही दिनचर्या प्रारम्भ हुन्छ । जहाँ उनलाई श्रीमानले कहिले पनि राम्रो भन्न जान्दैनन् । जबसम्म श्रीमान अफिस जाँदैनन्, तबसम्म उनलाई घरमा बाँच्नै गाह्रो परिरहेको हुन्छ । उनी दिनभरी घरलाई सम्हाल्नमै व्यस्त भइरहन्छिन् । श्रीमानले साँझ घर आएर कुनै गुनासो नगरुन् । तर, उनका श्रीमान अर्कै माटोले बनेका छन् । साँझमा घर आउने बित्तिकै उनले श्रीमतीको कमी-कमजोरीको लिस्ट नै बनाइदिन्छन् ।

सम्झौता गर्नै पर्छ

कमी-कमजोरीहरु मात्र औंल्यारहने व्यक्तिको व्यवहार कुशल हुँदैन । उनीहरुका एक जना पनि शुभ चिन्तक हुँदैनन् । नकारात्मक सोचका कारण उनीहरु  सबैमाझ अलोकपि्रय हुन्छन् । मानौं, श्रीमान पर्फेक्ट छन् । त्यसो भए के उनी बाहेक सबैजना अयोग्य हुन् त ? प्रतिमाको बहिनीकै कुरा गरौं न । उनले पनि एमएस्सी गरेकी छिन् । उनी स्कुलमा अध्यापन गराउँछिन् । तलब पनि राम्रो छ । उनका श्रीमानपनि सरकारी कर्मचारी हुन् ।

उनको घर पुग्ने हो भने कुनै पनि कुरा सिस्टमेटिक भेटिंँदैन । त्यति हुँदाहुँदै पनि उनीहरु दुबैले एक-अर्कालाई कहिले पनि गुनासो गर्दैनन् । उनीहरु केवल कामको प्राथमिकतालाई ध्यान दिन्छन् । जुन कुरा अनिवार्य छ, त्यसैका बारेमा मात्र सोच्दछन् । घरलाई राम्रो बनाउने प्रसंगको कुरा गर्ने हो भने त्यो समयमा निर्भर गर्छ । काममा पर्फेक्ट हुनु राम्रो कुरा हो । तर, त्यसमा टर्चर दिने जस्तो कुरा हुनु हुँदैन । हरेक श्रीमान्-श्रीमतीहरुको सम्बन्ध पर्फेक्ट हुनै पर्छ भन्ने छैन । कहिलेकाहीँ सम्झौता पनि गर्नुपर्ने हुन्छ । प्रतिमाले साडीको सप्को कसरी ओढ्नुपर्छ ? त्यो उनको विषय हो ।

उनी कोहीसँग कसरी बोल्छिन्, त्यो पनि उनको व्यक्तिगत कुरा हो । उनका श्रीमान आफ्नो हातले आफ्नै जुत्तामा पोलिस समेत लगाउँदैनन् । त्यो काम पनि प्रतिभाले नै गर्नुपर्छ । त्यो काममा समेत प्रतिमालाई उनका श्रीमानले गुनासो गर्दै भन्छन्-‘तिमीलाई राम्ररी जुत्ता चम्काउनै आउँदैन ।’ वास्तविकता के हो भने जुत्तामा पोलिस लगाउने काम श्रीमान आफैंले गर्नुपर्छ ।

श्रीमतीको मात्र होइन, श्रीमानलाई आफ्नो बच्चाहरुको बानी-व्यहोराप्रति पनि आपत्ति हुन्छ । बच्चाहरुले कुनै पनि गल्ती नगरुन् भन्ने कुराप्रति कमी-कमजोरी निकाल्ने श्रीमानका श्रीमतीहरु सधैं भयभित भइरहन्छन् ।

के श्रीमान्हरुले चांहिँ कहिले पनि कुनै गल्ती गर्दैनन् ? श्रीमानको काममा कुनै पनि कमी-कमजोरी हुँदैन ? स्वयं उनका हाकिमले उनको काममा कुनै न कुनै कमजोरी त निकाल्छन् नै होला । श्रीमान त्यसकारण चुप लागेर बस्छन् होला, किनभने उनले जागिर खानु छ । ठिक त्यसैगरी प्रतिमा पनि त्यसकारण चुप थिईन् । किनभने भने उनलाई आम्दानी गर्ने श्रीमानसँगै जीवन बताउनु पर्नेछ ।

आफैंले पहल गर्नुपर्छ

अभिनेता आमिर खानको एउटा फिल्म ‘धोबीघाट’ व्यवसायिक रुपमा असफल भयो । गल्ती उसैले गर्छ, जसले काम गर्छ । खाना खाने क्रममा भातको सिता भुईंमा खस्यो भन्दैमा उसलाई खाना खानै आउँदैन भन्नु गलत हो । कमी-कमजोरीमात्र खोजिरहने श्रीमान यदि श्रीमतीसँगै खाना खान बसे भने उनले श्रीमतीलाई शान्तिसँग खाना खान समेत दिने छैनन् ।

त्यसक्रममा उनले कहिले खाने तरिकाको बारेमा टिप्पणी गर्न सक्छन् भने कहिले पानीको गिलास नभएको कुरामा कराउन थाल्छन् । उनी आफैंले पानीको गिलास राखेर श्रीमतीको काम घटाउने प्रयास समेत गर्दैनन् । गृहस्थ जीवनमा यी सबै कुराहरु हुनु अति सामान्य कुरा हो । यसलाई कमी-कमजोरी निकालिएको भन्न मिल्दैन । एउटी महिलाले के-के कुरामा ध्यान दिनु ? काहीँ न काहीँ, केही न केही कमजोरी त भइहाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment