Comments Add Comment

वडाध्यक्षको चुनावमा केन्द्रीय नेताको लर्को !

११ मंसिर, विराटनगर । आगामी शनिबार मोरङको धनपालाथान गाउँपालिका– २ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई मुख्य दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

वडा अध्यक्षको निर्वाचनको प्रचार–प्रसारका लागि नेपाली कांग्रेस र नेकपाबाट केन्द्रीय तहका नेतादेखि जिल्ला तहका नेतासम्म धनपालथानमा केन्द्रित भएका छन् ।

धनपालथान–२ मा नेपाली कांग्रेसले नारायण साहलाई उम्मेद्धवार बनाएको छ । साहलाई समाजवादी पार्टीको समर्थन छ । उम्मेद्वारी घोषणापछि निर्वाचन प्रचार–प्रसारमा कांग्रेसका केन्द्रीय नेतासमेत खटिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, पूर्वसभासद अमृत अर्याल, डा. डिला संग्रौलासहित कांग्रेसका जिल्ला तहका नेतृत्व र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि चुनावी प्रचारमा पुगेका छन् ।

नेकपाबाट पंकजकुमार मण्डल वडाध्यक्षमा उम्मेदवार छन् । चुनावी प्रचारका लागि पूर्वमन्त्री शिवकुमार मण्डल, नेकपा केन्द्रीय सदस्य गोपी अछामी, महेश रेग्मीलगायतका केन्द्रीय नेताहरु धनपालथानमा केन्द्रित भएको नेकपा जिल्ला सचिव गणेश उप्रेतीले बताए । पूर्वमन्त्री मण्डलको निर्वाचन क्षेत्र भएका कारणले पनि नेकपाका नेताहरु वडामा केन्द्रित भएका छन् ।

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे पार्टीको प्रतिष्ठासँग जोडिएको विषय भएका कारण केन्द्रीय तहका नेताहरुले महत्वका साथ चुनावी प्रचारमा होमिएको बताउँछन् । समाजवादी पार्टीका नेता तथा गाउँपालिका अध्यक्षले पनि कांग्रेस उम्मेदवारलाई भोट मागिरहेको उनले बताए ।

धनपालथान २ मा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट चनरादेवी मण्डलसहित ६ जनाको उम्मेदवारी परेको छ । धनपालथान–२ मा नेकपाबाट पंकजकुमार मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पाश्वान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, राप्रपा संयुक्तबाट ज्योति पाशवान पनि चुनावी मैदानमा छन् ।

०७४ सालको गणितमा कांग्रेस कमजोर

धनपालथान– २ को वडाध्यक्षमा ०७४ सालमा तत्कालीन एमालेका बलिराम भगतले ११४६ मत ल्याएर चुनाव जितेका थिए । त्यसबेला कांग्रेसका नारायणप्रसाद साहले ८८९ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेवारले ५३१ मत ल्याएका थिए । माओवादी र एमालेबीच एकता भएका कारण तत्कालीन समयमा दुबै पार्टीले ल्याएको मत जोड्दा १६७७ पुग्छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको समाजवादी पार्टीका उम्मेदवार मदनकुमार पासवानले सो वडाबाट ५० मत मात्र ल्याएका थिए । लोकतान्त्रिक फोरमका उम्मेदवार देवनारायण मण्डलले २८ मत पाएका थिए ।

यो दुबै मत यसपटक कांग्रेसलाई जाँदैछ । तर, गतसालको गणितका आधारमा कांग्रेसलाई सघाउने समाजवादी र लोकतान्त्रिक फोरमसमेतको मत जोड्दा प्रजातान्त्रिक खेमाको मत ९६७ मात्र पुग्छ ।

तर, यसपालि केही नयाँ मतदाताहरु थपिएका छन् । नयाँ मतदाता थपिएको र कति मत खस्छ भन्ने निश्चित नभएकाले पुरानो गणित काम नलाग्ने कांग्रेसका नेताहरुको दाबी छ । नेकपाका नेताहरु चाहिँ पुरानो गणितका आधारमा जीत निश्चित भएको दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment