Comments Add Comment

तेल चोरी प्रकरण : जीपीआरएस र कल डिटेल्स केलाउँदै प्रहरी

१३ मंसिर, काठमाडौं । मंसिर १ गते राति कब्जामा लिइएको डिजेल ट्याङ्करको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । नेपाल आयल निगम प्रदेश १ का प्राविधिक र प्रहरीको संयुक्त टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा कब्जामा लिइएको ट्याङ्करले पम्पमा तेल खन्याएको खुलेको छ ।

ट्याङ्करका चालक र सहचालकसहित थप एक जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।

‘तेल खन्याएको देखिए पनि पुष्ट्याइँको वैज्ञानिक विधि जीपीआरएस ट्र्याकिङ र टावरअनुसारको बिस्तृत फोन लोकेसनको नतिजा कुरेका छौं,’ प्रवक्ता यादवले भने ।

नेपाल आयल निगमले ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न गठित समितिका अध्यक्ष एवं निगमको प्रदेश १ प्रमुख अशोक साहले अनुसन्धान निष्कर्षतर्फ पुगेको बताए । ट्याङ्कर चालक र सहचालक बाहेक घटनामा संलग्न थप अर्का एक व्यक्ति पक्राउ परेको पनि उनले बताए ।

यो पनि पढ्नुस्–ट्या‌ंकर अपहरणको छानबिन गर्न सप्तरी र सिराहाका पम्पमा तेल वितरण बन्द

मंसिर १ गते दिउँसो २० हजार लिटर डिजेल भरेर बाराको अम्लखेगञ्जबाट विराटनगरका लागि छुटेको ट्याङ्कर कब्जामा लिएर गायब पारिएको थियो ।

आइतबार राती १ बजेे सिराहाको लाहान मुख्य बजारस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना४ख ४१६३ नम्बरको ट्यांकर अपहरणकारीले लगेको भन्दै मंसिर ३ गते ट्याकंर चालक रामदेव यादव, सहचालक उमेश यादव र ट्याकंर मालिकले आयल निगमको प्रदेश १ डिपोमा जानकारी गराएका थिए ।

नेपाल आयल निगमले डिजेलसहित ट्याङ्कर हराएको सूचनालगत्तै अपहरण प्रकरण छानबिन गर्न विराटनगर डीपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो । मंसिर १ गते रातीदेखि हराइरहेको ट्यांकर ४ गते प्रहरीले धनुषामा रित्तो अवस्थामा फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment