Comments Add Comment

महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी

१७ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । बंगलादेशकी संजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रन जोडे । ४५ बल खेलेकी सजिताले ८ चौका प्रहार गरिन् भने आयसाले २ चौका प्रहार गरेकी थिइन् । खेलको अन्तिमतिर ब्याटिङमा आएकी फरगंगा हकले अविजित रहँदै २३ रन बनाइन् । मात्रै १८ बलको सामना गरेकी उनले १ छक्का १ चौका प्रहार गरिन् ।

टस हारेर व्याटिङ सुरु गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाकी यु थिमासिनीले ५६ रनको पारी खेलिन् । ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकी थिइन् । क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन् ।

त्यस्तै एस संदिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन् ।

श्रीलंकन बलर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए । खेलमा बंगलादेशकी संजिदा प्लेयर अफ द म्याच भइन् । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफी प्रदान गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिंदै बंगलादेशी कप्तान सलमान खातुनले पहिलो खेलमा आफ्ना खेलाडीहरुको प्रदर्शन चित्त बुझ्दो भएको बताइन् । श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डिङमा अझै सुधारको खाँचो रहेको औल्याइन् ।

प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशबीच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment