+
+
Shares

पाम आयलको निर्यातमा उछाल, पहिलो चौमासिकमा ९२५ प्रतिशतले वृद्धि

अच्युत पुरी अच्युत पुरी
२०७६ मंसिर १८ गते १८:५१

१८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७६ को सुरुवातदेखि नै नेपालको आयात घटिरहेको छ भने निर्यात बढिरहेको छ । आयात घट्नुमा सरकारले लिएका नीतिहरुको प्रभाव भए पनि निर्यात बढ्नुको प्रमुख कारण चाहिँ पाम आयल हो ।

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक)मा ८ अर्ब २९ करोड रुपैयाँको पाम आयल नेपालबाट निर्यात भइसकेको छ । यो निर्यातको आंकडा गत आवको समिक्षा अवधिको तुलनामा ९२५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो ४ महिनामा ८१ करोडको पाम तेल निर्यात भएको थियो ।

पाम तेल निर्यातको अस्वाभाविक तथ्याङ्कबाट धेरै उत्साहित नहुन विज्ञहरु सरकारलाई सुझाव दिन्छन् ।

‘हाम्रो लागि ८ अर्ब धेरै हो, भारतीय अर्थतन्त्रका लागि त यो रकम केही होइन’, व्यापार विज्ञ डा. पोषराज पाण्डे भन्छन, ‘तर जुन दिन भारतलाई यो धेरै हो भन्ने महसुस हुन्छ, त्यसपछि उसले कडाई सुरु गर्छ ।’

पाम आयल नेपालको आन्तरिक उत्पादन होइन । इन्डोनेसिया, थाइल्याण्ड, मलेसियालगायत मुलुकबाट नेपालमा आयात हुने गरेको छ । सोही तेल भारतमा निर्यात हुन्छ । व्यवसायीहरु यसलाई ‘भ्यालू एड’ गरेको भन्छन् । तर, एकसाथ ठूलो परिणाममा नेपालमा आयात गरी त्यसलाई प्याकेजिङ गरी भारत निर्यात गर्ने गरिएको छ । यसले गर्दा नै आंकडामा निर्यातको हिस्सा धेरै देखिएको हो ।

यो नेपालमा कच्चा पदार्थ तथा रिफाईनरी प्रडक्टका रुपमा भित्रिन्छ । सोही पदार्थलाई नेपालमा प्रशोधन गरेर भारत निर्यात गरिन्छ । अघिल्लो आर्थिक वर्षको पछिल्लो महिनामा यस तेलको निर्यात आकाशिएको थियो, चालु आवको पनि शुरुवाती महिनाबाटै निर्यात बढेको छ । यसको मतलव २०७६ सालमा नेपालबाट निर्यात हुने पाम आयलको माग भारतमा बढिरहेको छ । आर्थिक वर्ष ०७४/७५ मा पाम आयल १२ करोड ५८ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।

सूर्यमूखी र सोयाविन तेल जस्तै पाम आयलको प्रयोग दक्षिण एसियाली र अफ्रिकी मुलुकमा बढी छ । परिकारलाई लामो समयसम्म ताजा राख्न यसको प्रयोग गरिन्छ । यसको प्रयोग पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टीकलगायत सामाग्री बनाउन हुने गरेको छ ।

नेपालमा प्रतिलिटर एक सय रुपैयाँ भन्दा बढी पर्ने उक्त तेल विभिन्न खाद्य तेल उत्पादक कम्पनीले आयात गरी भारतमा निर्यात हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । भारतले आसियान मुलुकबाट पाम आयलको आयात घटाउने नीति लिएपछि भारतमा नेपालबाट पाम आयल निर्यात हुन शुरु गरेको हो ।

अघिल्लो वर्ष पुसमा भारतले आसियान मुलुकबाट भइरहेको आयात घटाउने नीति लिएको थियो । सोही कारण व्यवसायीले ती मुलुकबाट नेपालमा कच्चा पदार्थ आयात गरी यहाँबाट भारतमा निर्यात गर्न लागेका हुन् । भारतमा पाम आयलको उच्च माग रहेपछि त्यहाँ उत्पादन कम हुन्छ । सोही कारण भारतले पाम आयल आयात गरिरहनु परेको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?