Comments Add Comment

नेकपाको चुनावी समीक्षा : जनताको असन्तुष्टि स्थानीय जनप्रतिनिधिसँग

'स्थानीय जनप्रतिनिधिमाथि पार्टीको निगरानी अत्यावश्यक'

१८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा आए पनि स्थानीय तहका कामकारबाहीमा पार्टीको निगरानी र नीति निर्देशन कमजोर भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

बुधबार बसेको सचिवालय बैठकमा उपचुनावको सामान्य समीक्षा भए पनि तल्ला कमिटीबाटै वस्तुगत रिपोर्ट मगाउने भन्दै मंसिर २३ गते अर्को बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो बैठकमा पनि केही स्थानका चुनावी परिणामको चर्चा भएको थियो ।

उपचुनाव भएका करीव दुई तिहाई स्थान जितेर पनि नेकपाभित्र यसका परिणामलाई लिएर समीक्षा तथा विश्लेषणको दबाव बढिरहेको छ । सोही दबावकै कारण सचिवाले सम्बिन्ध कमिटीबाट लिखित रिपोर्ट मागेको छ । चुनाव हारेका ठाउँमा त्यसको कारण समेत मागिएको छ ।

नेकपामा एउटा बलियो मत छ कि, उपचुनावले सरकारको विरुद्ध विपक्ष र मिडियाले चलाएको प्रचारलाई जनताले अश्वीकार गरे । सरकारका काम कारबाहीका कारण नेकपाले उपचुनावमा ठूलो पराजय भोग्नुपर्ने अनुमान फेल खाएको भन्ने तर्क विशेषतः संस्थापन पक्षको छ ।

स्थानीय तहका काम कारबाहीका कारण विगतमा कांग्रेसले जितेको ठाउँमा नेकपा जितेको र नेकपाले जितेका केही वडा गुमाउनुपरेको संस्थापन पक्षको विश्लेषण रहेको छ । तर नेकपाभित्रै अर्को पक्षले भने चुनावको समीक्षा गर्दा केन्द्र,प्रदेश र स्थानीय तीनै तहका सरकारका कामप्रति जनताको असन्तुष्टि घटाउने उपाय खोजेर गर्नुपर्ने बताइरहेको छ ।

पार्टीले समग्रमा चुनावी नतिजामा घाटा नबेहोरे पनि केही ठाउँका चुनावले खतराको घण्टी दिएको छ ।

प्रारम्भिक विश्लेषण : आशा र चेतावनी दुवै

नेकपाले ३७ जिल्लाका ५२ स्थानमा भएको उपचुनावको समग्र समीक्षा गर्दैछ । विभिन्न जिल्लाबाट प्राप्त अनौपचारिक सूचनाहरुका आधारमा नेताहरुबीच समीक्षा हुँदा पार्टीको जनमत नघटेको तर तत्काल जनताका असन्तुष्टि सम्बोधन गर्नुपर्ने चेतावनी उपचुनावले दिएको एक सचिवालय सदस्यले बताए ।

उनले भने- हामीले तलबाट वस्तुगत र संस्थागत रिपोर्ट आएपछि थप समीक्षा गर्ने भनेका छौं । तर, प्रारम्भिक सूचना र उपचुनावका परिणामलाई विश्लेषण गर्दा जनताले नेकपालाई चेतावनी दिएका छन् । तर, हाम्रो विकल्प अहिलेन कांग्रेस हो भनेर जनताले रोज्न पनि चाहेका छैनन् । अहिलेको अभिमत आशा र चेतावनी दुवैको मिश्रति परिणाम हो ।

उपचुनावको समग्र परिणाममा आधा भन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपा नेताहरु बताउँछन् । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक-एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।
त्यस्तै नेकपाकै समर्थनमा बाग्लुङको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले जितेको तथा प्युठानमा नेकपाकै स्थानीय कमिटीको समर्थनमा उठेका वडाध्यक्षले जितेको सहित ५२ मध्ये ३२ स्थानमा जित भएको नेकपाले जनाएको छ ।

अन्तर्घात कि असन्तुष्टि ?

उपचुनावले पार्टीको शक्ति अहिले पनि दुइतिहाईकै अवस्थामा देखाए पनि धरान, भक्तपुर र भरतपुरको एक वडाको चुनावी परिणाम समीक्षाको विषय बनेको ती नेताले बताए । यद्यपि नेकपाले हारेका ठाउँमा अन्तर्घात भएको रिपोर्ट भने अहिलेसम्म नआएको बैठकमा छलफल भएको थियो ।

प्रचण्डले कार्यकारी अध्यक्षको हैसियत प्राप्त गरेपछि बसेको पहिलो बैठकमा अन्तर्घातले भक्तपुर र धरान हारेको भन्ने हल्लालाई भने नेताहरुले खारेज गरेका छन् । घोराहीको एउटा वडामा बागी उम्मेदवारले हराएको बाहेक अन्यत्र अन्तर्घातका कारण हारेको आधार नभेटिएको प्रवक्ता श्रेष्ठले बताए ।

हुन त उपचुनावको परिणाममा कांग्रेसभन्दा नेकपाल दोब्बर बढी स्थानमा जित निकालेको छ । तर, भक्तपुर प्रदेशसभा र धरान उपहानगरपालिकाको पराजयका कारण ५२ मध्ये ३२ स्थान जितेर पनि जितको उत्साह नेकपा पंक्तिमा छैन ।

यसका साथै वडाध्यक्ष विगतमा भन्दा बढी जित्न सफल भए पनि पहिले जितेका वडा किन गुमे भन्नेमा पनि नेकपाले समीक्षा गर्ने भएको छ । घोराही लगायतका केही ठाउँमा उम्मेदवारी चयनमै समस्या भएको बाहेक अन्यत्र अन्तर्घात भएको जानकारी नआएको पार्टीले जनाएको छ ।

नेकपाभित्र भक्तपुरको प्रदेशसभामा पूर्वएमालेपक्षबाट डीपी ढकालमाथि अन्तर्घात भएको चर्चा चले पनि उम्मेदवार स्वयंले आफूलाई पार्टीबाट पूरै मत पाएको जानकारी नेतृत्वलाई गराएका छन् । यसअघि एमालेबाट निर्वाचित हरिशरण लामिछाने स्थानीय बासिन्दा भएका कारण उनले व्यक्तिगत मत समेत पाएर त्यहाँ जितेका थिए ।

यसपटक पनि चाँगुनारायणकै स्थानीयलाई दिएको भए एक हजार १५ सय मत स्थानीय भएका कारण प्राप्त गर्दा अहिले पनि सो क्षेत्र फुत्किने थिएन भन्ने विश्लेषण पार्टीले गरेको नेकपा स्रोतले जनाएको छ । उम्मेदवारले व्यक्तिगत लोकपि्रयताका मत पाउन नसक्दा पार्टीको संगठित मत जित्नका लागि अपुग भएको ठहर नेकपाको छ ।

सचिवालय बैठकपछि एक नेताले भने, भक्तपुरमा हाम्रो उम्मेदवारले पार्टीको पूरै मत पाएका छन् । प्रत्यक्ष चुनावमा उम्मेदवारको व्यक्तिगत जनसम्पर्क र स्थानीयताले पनि काम गर्छ । डिपीजी पार्टीको जिल्ला सचिव र युवा नेता हुन् तर त्यहाँका स्थानीय तटस्थ मत तान्न सकेनन् ।

नेकपाविरुद्ध घेराबन्दी

नेकपाले यसपटकको उपचुनावमा विपक्षी पार्टीहरु सत्तापक्षलाई हराउन एकजुट देखिएको विश्लेषण गरेका छन् । भक्तपुर, कास्की, धरान लगायतका ठाउँमा नेकपा बाहेक सबै शक्ति एकैठाउँमा उभिएको भन्दै सचिवालय बैठकमा पनि छलफलको विषय बनेको छ ।

उदाहरणका लागि ८ हजार मत भएको नेपाल मजदूर किसान पार्टीले भक्तपुरमा ५ हजार पनि भोट नल्याउनु, राप्रपाले घोषित रुपमै कांग्रेसलाई मत दिनु र धरान तथा पोखराजस्ता ठाउँमा समाजवादी पार्टीले कांग्रेसलाई भोट हाल्नुले कतिपय ठाउँमा चुनावी परिणाम तलमाथि भएको नेकपाको ठम्याइ छ ।

धरानमा गत प्रतिनिधिसभा चुनावमा कांग्रेसको समर्थनमा समाजवादीका नेता अशोक राई उम्मेदवार थिए । त्यहाँ समाजवादीको कम्तिमा ४ हजार मत अनुमान गरिएकोमा यसपटक मेयरका उम्मेदवारले एक हजार पनि कटाएनन् । नेकपा हराउने शर्तमा धरानमा सबै पार्टीले कांग्रेसलाई मत हालेको नेकपाको प्रारम्भिक रिपोर्ट छ ।

नेकपा विरुद्ध प्रायः सबै ठाउँमा घेराबन्दी भएको र साना दल आफ्नो मत सुरक्षित गर्नेभन्दा पनि नेकपा उम्मेदवार हराउने रणनीतिमा कांग्रेसको सहयोगी बनेपछि केही ठाउँका मत तलमाथि भएको ठम्याई नेकपाको छ । विपक्षी दलहरुमात्र होइन सत्ता सहयात्री समाजवादी पार्टी झनै नेकपा विरुद्ध उपचुनावमा नेकपा हराउन कांग्रेससँग मिलेको सूचना नेकपा नेताहरुले सुनाएका छन् ।

‘कास्कीमा चुनावको अघिल्लो राति कांग्रेस नेताहरुले पोखराबाटै बाबुराम भट्टराईसँग फोन गरेर नेकपा हराउन कुनै पनि हालतमा समाजवादीले कांग्रेसलाई सघाउनुपर्ने प्रस्ताव राखेका थिए’ बुधवार सचिवालय बैठकपछि नेकपाका एक नेताले भने ‘धरानमा त घोषितरुपमै समाजवादीले कांग्रेसलाई भोट हाले । कास्कीमा पनि बाबुराम पक्षका मत कांग्रेसमा गए ।

चितवनमा विशेष गरी प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष चुनावको परिणामबारे पनि नेकपाले समीक्षा गर्दैछ । जिल्लाले के रिपोर्ट पठाउँछ भन्ने अलग पाटो हो, तर त्यहाँ क्रिकेट रंगशालामा डोजर चलाउने व्यक्ति नै चुनावी अगुवा बनेर हिँडेकोमा नकारात्मक असर परेको जिल्ला नेताहरु बताउँछन् ।

यसअघि जितेका स्वर्गीय वडाध्यक्ष चतुरमान गुरुङका परिवारलाई अघि नलाइनु, जिल्लामा पूर्व माओवादी पंक्तिले पार्टी कमाण्डमा एकलौटी गर्नु र यसअघि मतपत्र च्यात्ने व्यक्तिलाई युवा संघको अध्यक्ष बनाएर हिँडाइनुजस्ता कारणले पनि भरतपुरको चुनावमा असर गरेको बताइन्छ । यद्यपि जिल्लाले यसबारेमा समीक्षा गरिसकेको छैन ।

धरानको हकमा भने बहुआयामिक कारण रहेको नेकपा नेताहरु बताउँछन् । उम्मेदवार सिफारिसदेखिको विवाद,उपमेयर सहित वडाध्यक्षहरुप्रति जनताको चरम अशन्तुष्टि, अश्वाभाविक करबृद्धि र पूर्व एमालेभित्रको किचलो तथा दम्भ जस्ता कारणहरु चुनाव हारका कारक बनेको विश्लेषण भएको छ ।

स्थानीय तह : जित्ने हारे, हार्नेले जिते

नेकपा नेताहरुबीच स्थानीय तहका कामकारवाहीका कारण पहिले जितेका ठाउँ हारेर नयाँ ठाउँमा जितिएको विश्लेषण भएको छ । यसअघि नेकपाले जितेका वडामा कांग्रेसले जित्नु र कांग्रेसले जितेका वडामा नेकपा जित्नुले स्थानीय तहका कामप्रति जनतामा अशन्तुष्टि रहेको बुझ्नुपर्ने विश्लेषण भएको छ ।

नेकपाले जितेका २३ वडामा उपचुनाव भएको थियो । तीमध्ये ६ वडा नेकपाले गुमायो तर कांग्रेसले जितेका ७ वडा जितेर उसले कुल २४ वडामा जित निकालेको छ । पहिले जितेका ठाउँमा हारेर नयाँ ठाउँमा जित्नु भनेको स्थानीय सबै पार्टीका लागि समीक्षाको विषय हुनुपर्ने नेकपाको ठम्याइ छ ।

उदाहरणका पाँचथरलाई नमूना बनाउन सकिन्छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष यसअघि कांग्रेसले जितेको थियो । उपचुनाव नेकपाले जित्यो । पाँचथरकै फिदिम नगरपालिकाको वडा नम्बर १ मा यसअघि कांग्रेसले जितेको थियो त्यहाँ उपुचनाव नेकपाले जित्यो ।

पाँचथरकै हिलिहाङ गाउँपालिका वडानम्बर ७ मा यसअघि नेकपाले जितेको थियो,उपचुनावमा भने कांग्रेस उम्मेदवार बिजयी भए । स्थानीय तहमा यसअघि जसले जितेको थियो त्यस पार्टीका जनप्रतिनिधिप्रति जनता सन्तुष्ट हुन नसकेको अर्थमा समीक्षा गर्नुपर्ने नेकपा नेताहरु बताउँछन् ।

स्थानीय तहका चुनावी परिणामले नेकपा नेताहरुको यो विश्लेषणलाई अश्वीकार गरेका छैनन् । यसपटक धरान उपमहानगरपालिकाको मेयर सहित चार गाउँपालिकाका तीन अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

तीमध्ये अधिकांशको नतिजा उल्टिएको छ । धरानमा नेकपाका गढ तोडेर कांग्रेसले जित्दा फाल्गुनन्दमा कांग्रेसको गढ नेकपाले भत्कायो । त्यस्तै महोत्तरीमा राजपाले जितेको मधेश आन्दोलन प्रभावित पिपरा गाउँपालिका अध्यक्षमा नेकपाले जित्यो । हुम्लामा कांग्रेसको गढमा नेकपाले गाउँपालिका उपाध्यक्ष जित्यो ।

संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष बाहेक स्थानीय तहमा पहिले जितेको पार्टी हार्नुमा स्थानीय तहको कामकारबाहीमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा नेकपा बैठकमा समेत उठेको छ । मकालु गाउँपालिकामा भने नेकपाले जितलाई निरन्तरता दिएको छ । वडाहरुमा पनि धेरै ठाउँमा परिणाम उल्टिएको छ ।

पार्टीमा लगाम लगाउने तयारी

को विधानमा हरेक स्थानीय तहमा समेत संसदीय दलको परिकल्पना गरेको छ । सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई नीति निर्देशन दिने, उनीहरुका कामको अनुगमन तथा निगरानी गर्ने र गल्ति गरेमा कारबाही गर्नेसम्मको अधिकार स्थानीय कमिटी र संसदीय दललाई छ ।

पार्टी एकता प्रक्रिया सुस्त रहेको र तलसम्म पार्टीका कमिटीहरुनै बनि नसक्दा जनतासँग पार्टीको सम्पर्कनै टुट्न थालेकोमा नेकपा बैठकमा चिन्ता व्यक्त भएको छ । तत्कालै सबै तहका पार्टी कमिटीहरु गठन गरेर लार्खौं कार्यकर्तालाई एकैपटक परिचालन गर्ने कार्यक्रम ल्याउन अध्यक्ष प्रचण्डले कार्ययोजना बनाइरहेको नेकपा स्रोतले जनाएको छ ।

उपचुनावको परिणामले बाहिर हल्ला भएजस्तो र मिडियामा आएजस्तो नेकपा तथा सरकारप्रति जनता चरम अशन्तुष्ट रहेको भन्ने तर्कलाई खारेज गरेको नेताहरुले प्रारम्भिक समीक्षा गरेका छन् । जनताले अहिले पनि नेकपालाई नै रोजेको हुनाले केही ठाउँका परिणामको बस्तुतिष्ठ समीक्षा गर्दै सच्चिनुको विकल्प नरहेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।

कांग्रेस र राजपाले जितेका स्थानीय तहमा नेकपाले जित्नुले जनताको अशन्तुष्टि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग बढी देखिएको नेकपा नेताहरुको ठम्याइ छ । अब स्थानीय तहका काममा पार्टीले नेतृत्व लिनुपर्ने र स्थानीय तहहरुले लिएका करका नीतिमा ब्यापक समीक्षा आवश्यक रहेको समेत विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment