
२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ ।
आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते भएकी छिन्। उनको अस्पतालमा उपचार भइरहेको छ । (यसअघिको समाचारमा ट्रकको ठक्करबाट वालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ- सं)
स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।
आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । यद्यपि अहिले प्रहरीहरु सडकमा देखिँदैनन् । सडकमा विद्यार्थी र स्थानीयवासी मात्र छन् । प्रहरीले सडक खुलाउने प्रयास नगरेको भन्दै अलपत्र परेका यात्रुहरु निराश छन् ।
प्रहरी नै विद्यार्थी र स्थानीयवासीकाे घेराबन्दीमा परेको छ । प्रहरीमाथि उनीहरूले ढुंगामुढा गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अँश्रु ग्यास प्रहार गरेको छ ।
यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका-२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका-१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया 4