
हेलो ! बुवा नमस्ते ।
मंगलमान महर्जनको नम्बर डायल गर्दा दिनको त्यस्तै दुई बजेको हुँदो हो ।
मंगलमान बोले, ‘कहाँ हुनुहुन्छ ?’
‘पठाओ चढ्नका लागि होइन बुवा । बसेर कुरा गरौँ भनेर फोन गरेको ।’
मंंगलमान बोल्छन् : ‘ट्रिपमा छु । पाँच मिनेटमा कालिकास्थान पुग्छु । व्यस्त हुन्छु, कसरी कुरा गर्नु ?’
हामीले भन्यौं, ‘केही छैन, हामी पनि तपाईंकै ‘पठाओ’ चढौला नि !’
०००
मंगलमान पाँच मिनेटमै आइसकेका रहेछन् । हामी १० मिनेटमा पुग्दा चुरोट पिउँदै थिए ।
कपाल फुलिसकेको छ । तर, मंगलमानलाई जवान देखिन मन लागेर होला, कालो हालेका छन् । हेल्मेटले कपाल अस्तव्यस्त । दाँत एउटै सद्दे छैन ।
अनुहारमा भने चमक छ ।
‘कति वर्ष हुनुभयो बुवा ?’, प्रश्नै गर्न त गएका थियौं ।
‘पाँच साल मंसिरले हिसाब गर्नुस् न !’, वर्ष निकाल्ने जिम्मा मंगलमानले हामीलाई नै छोडिदिए ।
फेरि मोबाइलमा घण्टी ! उनले हतार–हतार रातो कटाइजको पाइन्टबाट स्मार्ट फोन झिक्दै भने, ‘उ म्यासेज आइहाल्यो ।’
मंगलमान ठूलो फ्रेमको पावरवाला चश्मा मिलाउँदै गुगल म्यापमा लोकेसन खोज्न थाले । उनले पठाओ एपमा आएको नम्बर डायल गरे, ‘कहाँ हुनुहुन्छ ?’
उता कुरा सकिएपछि मैले कुरा शुरु गरेँ, ‘एप र स्मार्ट फोन चलाउनचाहिँ कसले सिकायो ?’
उनले रातो हेल्मेट समाउँदै भने, ‘पहिला त नम्बर थिच्ने मोवाइल थियो । यसमा त फोन उठाउन पनि जान्ने थिइनँ । नातिले सहयोग गर्यो । आफूसँग सामान भएपछि जानिँदोरहेछ । हा हा हा… ।’
मंगलमानले सल्काइरहेको चुरोट फ्याँके र रातै रङको साइन मोटरसाइकल स्टार्ट गरे । अनि हुइँकिए ।
वाह ! ७२ वर्षको उमेरमा पनि कस्तो उर्जा ! चिया पसलमा गफ लडाएर बस्ने, बेरोजगार हुनुमा देशलाई सराप्ने युवाहरुका लागि चुनौती हुन् उनी ।
हामी पनि मंगलमानकै पछिपछि लाग्यौं । ट्रिनिटी कलेजको गेटअघि उनको मोटरसाइकल रोकियो । गेटमै थिइन् एक युवती । रोकेको देख्नेवित्तिकै उनी मोटरसाइकलमा चढिन् ।
मंगलमान उसै गरी हुँइकिए । हामीले उनलाई पछ्यायौं ।
डिल्लीबजारमा जाम, ज्ञानेश्वरमा, नक्सालमा जाम । महाराजगञ्जमा जाम । हामी पनि घचक–घचक जाममा । काठमाडौंको अर्को नाम जाममाण्डु हो ।
तर, मंगलमानलाई अर्को जाममा फस्नु छैन । महाराजगञ्जबाट राष्ट्रपति भवनलाई दाहिने पार्दै अघि बढे । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताललाई देब्रे पार्दै सानो बाटोतर्फ ह्यण्डल सोझ्याए । बडो सावधानीपूर्वक निस्किए सामाखुशी चोक ।
चोकबाट सिधै अघि गल्लीमा छिरे र एउटा घरअगाडि रोकिए । उनले मोवाइल झिके र भने, ‘हेर्नुस् त ११० रुपैयाँ ।’
पठाओको फाइदा यही छ कि ग्राहकलाई बार्गेनिङ गर्ने झण्झट हुँदैन । ट्याक्सी पनि मिटरमै हिँडिदिए यात्रुलाई फसिन्छ कि भन्ने झण्झट नै हुँदैनथ्यो ।
मंगलमानले एप बन्द गर्न थाले ।
फेरि किन नि !
‘चार बजेसम्म मात्र ट्रिप गर्छु’, उनले मोवाइल गोजीमा राखे । र, रित्तै घर फर्किए ।
लाग्यो, स्वनियममा पक्का छन् मंगलमान ।
उनकै भाषामा भन्दा ‘ट्रिप नलिई’ खाली नै मंगलमान फेरि कालिकास्थान आइपुगे । कालिकास्थानको पिपलबोट घुमेर घट्टेकुलोतर्फ बढे । गल्ली आयो, फेरि आयो । फेरि अर्को गल्ली, फेरि, फेरि गल्ली । झन् सानो साँघुरो गल्ली छिरेर मंगलमान आफ्नो घरभित्र छिरे ।
यो गल्लीमा दोहोरो मोटरसाइकल अट्दैनन् ।
काठमाडौं अलिअलि गल्लीमाण्डु पनि हो ।
००००
घरमा मंगलमानका दुई बुहारी छन् । जेठो छोरो दुबईमा । कान्छो छोरो पनि काममा जान्छन् ।
‘यो बुढ्यौलीमा के त्यस्तै आपत आइपर्यो र यसरी पठाओ चलाउनुपर्ने ?’ घरको तीन तलामाथि सोफामा बस्दै हामीले जिज्ञासा राख्यौं ।
‘जागिर छोडेर तीन दिन सुतेपछि शरीर दुख्न थाल्यो । छट्पटी भयो । घरमा भनें– होइन, पठाओ पो दर्ता गर्न जानुपर्यो क्यारे ! यसरी पठाओ चलाएपछि दुई–चार पैसा गोजीमा पनि हुने, शरीर पनि नदुख्ने । यी, यतिबेला घरमा आयो । खायो । राति झ्याप्प निद्रा लाग्छ । आनन्द ! पाँच महिना हुँदैछ पठाओ चलाउन थालेको’, मंगलमानले आनन्दसँग भने ।
कारण यति मात्र छैन ।
मंगलमानले १७ वर्ष ट्रक चलाए । दुई वर्ष नाइट बस । त्यसपछि सर्वोच्चमा प्रधानन्यायाधीशको गाडी चलाउने जागिर थाले । ‘करारमै भए पनि जागिर थियो, तर हाकिमनीले आफैंले पालेजस्तो, आफ्नै पैसा दिएजस्तो किचकिच गर्न थालिन् । त्यसपछि जागिर छोडिदिएँ’, उनी सुनाउँछन् ।
त्यसपछिका तीनवर्ष आफ्नै ट्याक्सी चलाए । ट्याक्सी चलाइरहन मन लागेन । ट्याक्सी बेचे । एक महिना यत्तिकै हल्लिए । तर, सधैं हल्लिएर के गर्नु ?
रङ पसलमा काम गरे । एक दिन ट्राफिकले गाडी समायो । पाँच सय रुपैयाँको चिट काट्नुपर्ने । चिट देखेपछि मालिकले भने, ‘नेक्स्ट टाइम हम नहीँ देंगे ।’
मंगलमानलाई चित्त बुझेन । उनले भने, ‘राजन दाइ ! नेक्स्ट टाइम हम काम करने वाला नहीँ है ।’
त्यसपछि मंगलमानले डाक्टरको गाडी चलाउन थाले । एकदिन डाक्टरको अँध्यारो मुख देखेपछि अर्को दिनदेखि मंगलमानले जागिर छाडे । मंगलमानको प्रतिप्रश्न, ‘मालिकको अँध्यारो मुख भएपछि मैले काम गर्नुको के अर्थ ?’
अस्थायी जागिरको मजा नै यही हो । जहाँ मन लाग्यो, त्यहीँ काम गर्यो । जति समयसम्म चित्त बुझ्यो, त्यति नै समयसम्म काम गर्यो ।
त्यसपछि मंगलमानलाई दिन कटाउन गाह्रो पर्न थाल्यो ।
घरमा एउटा चरो पालेका छन् मंगलमानले– जुरेली । त्यही चरालाई खुवाएर समय कटाउने प्रयास गर्न थाले । भोक लाग्यो भने चराले मंगलमानको हातमा चुच्चो गाडेर संकेत दिन्छ । टीभी खोल्दियो, टीभी हेर्दै आफ्नै भाषामा गीत गाउँछ ।
श्रीमतीलाई १२ वर्षअघि नै गुमाइसकेका छन् । एक नाति छन्, उनी पनि स्कुल जान्छन् । ‘कति सुत्नु ? जति सुत्यो, त्यति जीउ दुख्ने’, मंगलमान सुनाउँदैछन् ।
अन्ततः नाति (छोरीको छोरा) सँग पुगेर मंगलमानले पठाओ दर्ता गरे, जसबारे उनलाई सामान्य पूर्वजानकारी थियो ।
त्यसपछि मंगलमानको दैनिकी फेरियो ।
बिहान चार बजे उठ्ने । सुजीको हलुवा, अण्डा र चिया खाने । चरालाई पनि खानेकुरा राखिदिने । अनि चुरोट तान्ने । त्यतिबेलासम्म मोवाइलमा ट्रिपको घण्टी आइसकेको हुन्छ । अनि फोन गर्ने– कहाँ हुनुहुन्छ ?
साढे ६/७ बजेतिर घरबाट साइन मोटरसाइकलमा निस्किएपछि उनको व्यस्त दैनिकी सुरु हुन्छ ।
मंगलमान कुराकानी गरिरहेका थिए, ढोकामा स्कुलबाट नाति टुप्लुक्क आइपुगे, ‘हजुरबा…..।’
मंगलमानले नातितर्फ हेरे । हामीसँगै कुरा गरे, ‘यसकै लागि पनि हो, मैले पठाओ चलाउने । अनेक डिमाण्ड पूरा गरिदिनुपर्छ ।’ बुढ्यौलीमा छोराभन्दा नाति प्यारो !
०००
मंगलमान दिनभर साइनसँगै हुन्छन् । यात्रुले उनलाई अझै उर्जा थपिदिन्छन् ।
धेरैले सोध्ने प्रश्न एउटै हुन्छ, ‘कति वर्षको हुनुभयो ?’
कसैले भन्छन्, मेरो बुवा पनि तपाईंकै उमेरको हुनुहुन्छ । तर रोगले थलिएर हस्पिटलमा । अर्काले भन्छन्– मेरा बुवा त काम गर्नै सक्नुहुन्न । तपाई त कस्तो मजाले ड्राइभिङ गर्न सकेको । कतिले फोटो खिचेर लैजान्छन् । जति चढ्छन्, उनलाई सम्मान गर्छन् । माया वर्षाएर छुट्छन् ।
हेर्नुहोस् भिडियो
मंगलमानले छोराबुहारीको सुझाव सम्झिए, ‘छोराबुहारी भन्छन्, खाउ बस । तर, बसेर के गर्नु ? मलाई काम गर्नमै आनन्द छ । जति दिन सक्छु, यही चलाउँछु ।’
कुराकानी टुंग्याउँदै गर्दा हामीले सोध्यौं, ‘पैसा कति कमाउनुहुन्छ त ?’
‘खर्च कटाएर दिनमा ८/९ सय बच्छ । कहिलेकाहीँ दुई हजार, २२ सय पनि हुन्छ’, ७२ वर्षे हजुरबाले सन्तोषको सास फेर्दै भने, ‘यति भए मेरो नातिलाई पुग्छ ।’
तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4