Comments Add Comment

भूकम्पपछि घोषित अमेरिकी अनुदानको दुई ‘स्काई ट्रक’ काठमाडौंमा

२२ मंसिर, काठमाडौं । २०७२ सालको भूकम्पपछि अमेरिकाले घोषणा गरेको सैन्य सहयोगमध्ये दुई वटा ‘एम–२८ स्काई ट्रक’ आइतबार बिहान काठमाडौं आइपुगेको छ ।

अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले नेपाल भ्रमण गरेर उच्च स्तरीय भेटवार्ता गरेलगत्तै ‘स्काई ट्रक’ आइपुगेको हो । यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक आइपुगेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विमानका केही स्पेयर पार्टसहरु पनि आएका छन् ।’

पहिले विमानसँगै मर्मतसम्भार तालिमका लागि प्राविधिक जनशक्ति पनि नेपालमा पठाउने जनाइएको थियो । हाल सेनाको हवाई सेवा निर्देशनालयमा कार्यरत सैनिक अधिकृतलाई पछि अमेरिकामै बोलाएर पनि तालिम दिन सकिने बताइएको छ ।

सबैभन्दा ठूलो विमान उत्पादक कम्पनी पोल्याण्डको पोलस्की ज्याकलेडी लोट्निच्ज (पीजेडएल मियलेक) सँग अमेरिकाले ती विमान खरिद गरेर नेपाललाई पठाएको हो । दुई विमानको खरिदका लागि एक करोड ८० लाख डलरको वैदेशिक सैन्य विक्री (एफएमएस) सम्झौता भएको जनाइएको थियो ।

दोस्रो चरणमा थप दुई वटा विमान पठाउने अमेरिकी अधिकारीको तयारी छ । थप विमान सन् २०२२ को अन्त्यसम्ममा आइपुग्ने जंगीअड्डाले जनाएको छ ।

तेस्रो चरणमा अमेरिकाले एयर एम्बुलेन्स समेत दिने जनाइएको छ । जसमा आवश्यकता अनुसार विमानभित्रै पनि शल्यक्रिया गर्न मिल्ने व्यवस्था हुनेछ ।

सबै विमान विपतको समयमा उपयोगी हुने विश्वास सेनाले लिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस चीनले बढायो सैन्य सहयोग

अत्यावश्यक सामाग्री ढुवानीमा उपयोगी

यातायात र पैदलबाट समेत कठिन स्थानमा हवाई सेवाको माध्यमबाट अत्यावश्यक वस्तु ढुवानी गर्ने जहाजलाई ‘स्काई ट्रक’ भनिन्छ । यसलाई कार्गो विमान पनि भन्ने गरिन्छ । हाल नेपाली सेनासँग पोल्याण्डमै बनेको एम २८ ‘स्काई ट्रक’ पनि छ ।

यसअघि तीन वटा ‘स्काई ट्रक’ भए पनि अहिले एउटा मात्रै चालू अवस्थामा छ । ती ‘स्काई ट्रक’ले मुस्ताङ, मनाङ, जुम्लालगायतका हिमाली जिल्लामा विभिन्न सामाग्री लिएर उडान गरेका छन् । ढुवानीका अलवा विशिष्ट पाहुना बोक्न पनि यो जहाज प्रयोग हुने गर्छ ।

डबल इञ्जिन भएको यो जहाजको सिट क्षमता १८ जनाको रहेको सैनिक मुख्यालयले जनाएको छ ।

विमान अझै अपर्याप्त

सेनाले यही वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिका लागि भनेर अगुस्टा वेस्टल्यान्ड हेलिकप्टर र सीएन २३५–२२० विमान पनि ल्याएको छ । तर, अझै विमान अपुग भएको सैनिक अधिकृतहरु बताउँछन् ।

हाल सेनासँग १३ हेलिकप्टर र ६ वटा जहाज छन् । तीमध्ये ५ हेलिकप्टर र ४ वटा जहाज मात्रै सञ्चालनमा छन् । सेनाले विपद उद्दार र अति विशिष्ट पदाधिकारीको सुरक्षाका लागि विमानको प्रयोग गर्दै आएको छ ।

सेनाले हवाइ सेवा विस्तार गर्दै हरेक प्रदेशमा एयर वेस सञ्चालन गर्ने लक्ष्य राखेको छ । हाल पश्चिम एयर वेस सुर्खेतमा र मध्यएयर वेस काठमाडौंमा सञ्चालनमा छन् ।

पूर्व एयरवेस इटहरी वा विराटनगरमा स्थापनामा गर्ने सेनाको योजना छ । यद्यपि, जग्गा प्राप्त भइनसकेकाले टुंगो लाग्न नसकेको जनाइएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले तयार पारेको आर्मी भिजन २०२० मा एयरवेश पिच्छे ५ वटा हवाई साधन राख्ने लक्ष्य लिइएको छ । सेनाको हेलिकप्टर गृह मन्त्रालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै अन्य अत्यावश्यक अवस्थामा प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment