Comments Add Comment
आठौं सागका प्लेयर अफ टुर्नामेन्ट वसन्त गौचनको वयान :

त्यसपछि दशरथ रंगशालामा सन्नाटा छायो…

नेपाली फुटबलमा केही देन गर्न सकेँ मेरो अहोभाग्य : गौचन

२३ मंसिर, काठमाडौं । आठौं सागमा पुरुष फुटबलतर्फ नेपाललाई रजत पदक जिताउँदा टिमका महत्त्वपूर्ण सदस्य थिए, वसन्त गौचन । त्यतिबेला ‘प्लेयर अफ टुर्नामेन्ट’ भएर मोटरसाइकल पुरस्कार पाएका गौचन दुई हप्तादेखि काठमाडौंमा छन् । तर ‘ए क्लास’ प्रशिक्षक लाइसेन्सको तयारीका कारण राम्रोसँग साग हेर्न भने पाएका छैनन् ।

१७ वर्षमै दर्शकहरूको प्यारो बनेका पोखरेली ठिटोमा त्यस्तो के जादु थियो त ? ‘उनी क्रिएटिभ पासमा माहिर थिए’, राष्ट्रिय टीमका सर्वाधिक गोलकर्ता हरि खड्का भन्छन्, ‘वसन्तको अर्को कौशल भनेको विथ बल (बलसँग कुद्न सक्नु) हो ।’

गत १० वर्षयता जापान बसेका उनी विद्यालय जानबाट वञ्चित बालबालिकालाई फुटबलमार्फत औपचारिक शिक्षामा प्रेरित गर्न लागिपरेका छन् । यसअन्तर्गत जापानमा हुने कोपा पुमा टोरेरस कपमा नेपाली टिम पनि सहभागी हुन थालेको तीन वर्ष भयो ।

स्वर्णपदक जित्ने सपना चक्नाचुर भएपछि म मैदानको बीचमा बसेर धरधरी रोइरहेको थिएँ । कोही बोल्न सक्ने अवस्थामा थिएनन् । प्रशिक्षक आएर खेलमा जित–हार त भइहाल्छ भनेर सम्झाउँदै मलाई उठाउनुभयो । जसोतसो चेन्जिङ रुममा पुग्दा सिनियर दाइहरू पनि रोइरहनुभएको रहेछ

नेपाल युथ सकर प्रोजेक्टका अध्यक्षसमेत रहेका गौचनसँग अनलाइनखबरले आठौं सागको नेपाल–बंगलादेश पुरुष फुटबल फाइनलको सन्दर्भ कोट्याउँदा निकै भावुक बने । उनले २० वर्ष पहिले दशरथ रंगशालामा भएको त्यो भिडन्तलाई यसरी सम्झिए :

यसपटकको सागमा अहिलेसम्मकै सर्वाधिक पदक जितेर नेपालले इतिहास रचिसकेको छ । जब साग नजिक आउँछ मलाई भने आठौं साफको याद आउँछ । दशौं संस्करणअघिसम्म सागलाई साफ भनिन्थ्यो ।

सन् १९८४ मा साग सुरु गरेको नेपाल १९९९ मा दोस्रोपटक साग आयोजक बन्यो । आठौं सागमा ३१ स्वर्ण जितेर नेपाल पहिलोपटक दोस्रो क्षेत्रीय खेल शक्ति बनेको थियो ।

त्यतिबेला म १७ वर्षको थिएँ । उमेर सानो भए पनि राष्ट्रिय फुटबल टिमको सदस्य भएकाले मेरो काँधमा जिम्मेवारी भने ठूलो थियो । बंगलादेशको बंगबन्धु गोल्ड कपबाट राष्ट्रिय टिममा परिसकेको भए पनि साफमा पहिलोपटक खेल्दै थिएँ ।

समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश, श्रीलंका र समूह ‘बी’ मा नेपाल, भारत, भुटान र पाकिस्तान थियो । पहिलो खेलमा भुटानलाई ७–० गोलले जित्यौं । पाकिस्तानलाई ३–१ ले हराएपछि समूह ‘बी’बाट उपविजेता भएर सेमिफाइनलमा प्रवेश गर्‍याै‌ं । समूह चरणको अन्तिम खेलमा भने भारतसँग ४–० गोलले पराजित भयौं ।

सेमीफाइनल समूह ‘ए’ विजेता माल्दिभ्ससँग पर्‍यो। यो खेल हाम्रा लागि एकदमै महत्त्वपूर्ण थियो । हरि खड्का र नरेश जोशीको गोलले माल्दिभ्सलाई २–१ ले हरायौं ।

सेमिफाइनल जितको माहोल कस्तो थियो भने युवराज दीपेन्द्रले मैदानमै ओर्लेर हामीलाई उत्साहित बनाइदिनुभयो । प्रशिक्षकले त्यसअघि नै टिमसँग परिचय गराएकाले दीपेन्द्रसँग व्यक्तिगत चिनचान थियो ।

२० वर्ष पहिलेको त्यो घटना मलाई हालसालैको जस्तो लाग्छ । सम्झिँदा रंगशालामै छु जस्तो लाग्छ । त्यतिबेलाको सानोभन्दा सानो कुरा पनि सम्झिन पुग्छु ।

उपाधिको प्रमुख दाबेदार भारत बंगलादेशसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो । समूह ‘ए’ विजेता माल्दिभ्सलाई हराएर आएका हाम्रो मनोबल उच्च थियो । जुनसुकै टिमलाई जित्छौं भन्नेमा थियौं, हामी ।

शारीरिक तथा मानसिक रूपमा स्वर्ण जित्न तयार र आतुर हामीलाई घरेलु मैदानको ‘एड्भान्टेज’ पनि थियो । हाम्रा प्रशिक्षक स्टेफन कन्स्टेनटाइनले सेमिफाइनल जित्यौ भने तिमीहरूको राष्ट्रिय पोशाक लगाएर फाइनलको ‘कोचिङ’ गर्छु भन्नुभएको थियो । हामी फाइनल पुगेको खुसीमा उहाँले दौरा सुरुवाल र टोपी लगाउनु पनि भयो ।

तिमीहरू आफ्ना लागि होइन, देशका लागि खेलिरहेका छौ भनिरहनुहुन्थ्यो उहाँ । बेलायतका प्रशिक्षक आएर त्यसो भनिदिँदा हामीलाई त्यसै त्यसै गर्वबाेध हुन्थ्यो । देशका लागि खेल्नु साह्रै ठूलो कुरा रहेछ भन्ने लाग्थ्यो । स्टेफन कन्स्टेनटाइन राष्ट्रिय जर्सीमा खेल्नु कति महत्त्वपूर्ण कुरा हो भन्ने सम्झाइरहनुहुन्थ्यो । जसले पायो त्यसले यस्तो अवसर पाउँदैन भन्नुहुन्थ्यो । यस्तो कुराले खेलाडीलाई कति ‘मोटिभेट’ गर्छ भन्ने कुरा मैले त्यतिबेलै अनुभव गरेँ ।

हामीलाई दीपक अमात्य, उपेन्द्रमान सिंह, हरि खड्कालगायत दाइहरूले पनि प्रेरणा दिनुहुन्थ्यो । म, वसन्त थापालगायत यू–१६ बाट आएका कलिला खेलाडी पनि थियौं । समग्रमा जोसिला युवाको संयोजन भएको मजबुत टिम  थियो हाम्राे ।

०५६ असोज १७ गते दशरथ रंगशाला खचाखच भरिएको थियो । हामीप्रति दर्शकको ठूलो भरोसा थियो । उनीहरू फुटबलको स्वर्ण पदक नेपालबाहिर गएको हेर्न चाहन्नथे ।

हामी पनि उपाधि जित्ने विश्वासका साथ मैदानमा उत्रियौं । हामी बंगलादेशले भन्दा राम्रो खेलिरहेका थियौं । ‘बल पोसेसन’ र ‘फिजीकल मोमेन्टम’मा पनि हामी नै अगाडि थियौं । गोल भने हुन सकिरहेको थिएन ।

म मिड फिल्डर । ‘राइट विङ्स’बाट खेलिरहेको मैले माथिबाट बल क्रसिङ गर्नुपर्ने थियो । त्यसमा पनि सफल भइरहेको थिएँ ।

घडीको विपरीत दिशातर्फबाट चौथो ।

पहिलो हाफ सकिनै लाग्दा बंगलादेशले ‘कर्नर किक’ हान्ने अवसर पायो । त्यस्तो बेला हाम्रा दशै जना खेलाडी ‘डी’ एरियामा हुन्थे । मलाई भने त्यसबाहिर रहन भनिएको थियो । मेरो ‘स्पीड’ र ‘टेक्निक’ दुबै राम्रो थियो । प्रशिक्षकले मलाई ‘रि–बाउन्ड बल’ विपक्षको पोष्टतर्फ लैजाने जिम्मेवारी सुम्पेका थिए ।
कर्नर प्रहार भएको बल क्लिर हुन नसकेर पेनाल्टी क्षेत्रमै गज्याङगुजुङ भइरह्यो । त्यत्ति नै बेला एकजना विपक्षीले बललाई पोष्टतिर सोझ्याए । उनी थिए, मोहम्मद अल्फाज अहमेद । ४४ औं मिनेटमा त्यो गोल खाए पनि खेलमा फर्किन सक्छौं भन्ने विश्वासमा थियौं हामी ।

म प्रशिक्षकले दिएको जिम्मेवारी अनुसार राम्रै खेलिरहेको थिएँ । पास पनि निस्किरहेको थियो, तालमेल पनि मिलिरहेको थियो, र पनि गोल गर्न सकिरहेका थिएनौं ।

अन्तिम अन्तिममा आएपछि भने दबाव महशुस हुन थाल्यो । जित्नलाई दुई गोल गर्नुपर्ने थियो । गोल होला होलाजस्तो भइरहेको थियो, तर हुन सकिरहेको थिएन । हतारमा अगाडि बढ्नुपर्ने दबावमा ‘पास मिस’ भइरहेको थियो ।

अर्कोतिर विपक्षीले बल पाउनासाथ ग्राउण्ड बाहिर फालिरहेका थिए । उनीहरु लडेपछि उठ्दै उठ्दैनथे । उनीहरू पाएसम्म ‘टाइम किल’ गरिरहेका थिए । बंगाली खेलाडीहरू नाटक गर्न कति माहिर छन् भन्ने त्यतिबेलै अनुभव भयो ।

बंगलादेशविरुद्धको नेपालको खेल हेर्दै गौचन

जब समय सकिएको जनाउ दिन अन्तिम सिट्ठी बज्यो, रंगशालामा सन्नाटा छायो । हजारौं दर्शक उपस्थित रंगशाला सुनसानजस्तो भयो । मलाई भने चारैतिर अँध्यारो छाएजस्तो भयो । टाउकोमा कुनै गह्रौं वस्तु ठोक्किँदा मान्छेले दिउँसै तारा देख्छन् नि, हो त्यस्तै भयो मलाई । केही थाहा पाइरहेको थिइनँ ।

स्वर्ण पदक जित्ने सपना चकनाचुर भएपछि म मैदानको बीचमा बसेर धरधरी रोइरहेको थिएँ । कोही बोल्न सक्ने अवस्थामा थिएनन् । प्रशिक्षक आएर खेलमा जित–हार त भइहाल्छ भनेर सम्झाउँदै मलाई उठाउनुभयो । जसोतसो चेन्जिङ रुममा पुग्दा सिनियर दाइहरू पनि रोइरहनुभएको रहेछ ।

चेन्जिङ रुमबाट रुँदै म शौचालय गएँ । त्यहाँ त प्रशिक्षक स्टेफन कन्स्टेनटाइन नै रोइरहनुभएको रहेछ । केही क्षण अघि मलाई ‘खेल हो, जित–हार हुन्छ, हार पनि स्वीकार्नु पर्छ’ भनेर सम्झाएका प्रशिक्षकलाई त्यस्तो अवस्थामा देखेपछि म झनै भक्कानिएँ । यति रोएँ कि शब्दमा वयान गरेर साध्य छैन ।

मैले नेपाली फुटबल इतिहासमै पहिलो मोटरसाइकल पुरस्कार पाएको थिएँ । मलाई मोटरसाइकल हाँक्न पनि आउँदैनथ्यो । सातदोबाटोबाट साथीले चलाएर ल्याइदिएको यामाहाको पहिलो लटको त्यो मोटरसाइकल मसँग अझै छ

पदक थाप्न जाँदा दर्शकहरू पनि रोइरहेका थिए । हामीले रजत पदक पाउनुको कुनै रौनक थिएन ।

त्योबेला नेपाली फुटबल फ्यानहरूलाई खुश बनाउन सकिएन भन्ने कुराले असाध्यै मन पोल्यो । हजारौं दर्शकको शुभेच्छाअनुसार खेल्न सकिएन भन्ने सबैभन्दा ठूलो पिरलो थियो ।

तर, कति दर्शक–फ्यानहरूले मलाई ‘तपाईले राम्रो गर्नुभएको थियो, मन धेरै खिन्न नपार्नुहोला’ भनेर सम्झाउनुभएको थियो । दुखेको मनलाई त्यस्तो कुराले राहत दिन्थ्यो । वास्तवमा दर्शकहरूको हौसलाले नै सम्हालिँदै गएँ ।

मलाई वसन्त गौचन भनेर धेरैले चिन्न थालेको त्यही प्रतियोगिताबाट हो । त्यो प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि मैले नै जितेर यामाहाको वाइबीएक्स मोटरसाइकल पुरस्कार पाएँ । मेरो फुटबल जीवनको त्यो स्वर्णीम समय बन्यो ।

त्योबेला मोटरसाइकल पुस्कार पाउनु भनेको नेपालको खेल जगतमा ठूलो कुरा मानिन्थ्यो । मैले नेपाली फुटबल इतिहासकै पहिलो मोटरसाइकल पुरस्कार पाएको थिएँ । मलाई मोटरसाइकल हाँक्न पनि आउँदैनथ्यो । सातदोबाटोबाट साथीले चलाएर ल्याइदिएको यामाहाको पहिलो लटको त्यो मोटरसाइकल मसँग अझै छ । बीचमा धेरैले बेच पनि भने तर मानिनँ ।

त्यतिबेला पत्रपत्रिकामा आएका तस्वीरहरू पनि सुरक्षित राखेको छु । तिनले मेरो फुटबल र मेरो साग खेल जीवनलाई सम्झाइरहन्छन् । त्यतिबेलाको सम्झनाले मलाई रोमाञ्चक र भावुक बनाउँछ ।

त्यसपछि मैले साग खेलिनँ । अधुरो सपना प्रशिक्षकका रुपमा पूरा गर्न चाहन्छु । निरन्तर फुटबलमा लागि रहेको छु । जापानमा पनि फुटबल एकेडमी चलाइरहेको छु । अहिले १३ औं साग चलिरहँदा म ए लेभलको प्रशिक्षकको लाइसेन्सका लागि क्लास लिइरहेको छु ।

फुटबललाई राम्रो पार्न ‘ग्रास रुट’मै ध्यान दिनुपर्ने रहेछ । जापानमा सिकेको व्यवस्थापकीय सीप नेपालमा सिकाउन चाहन्छु । युवा टीमलाई प्रशिक्षण दिन पाए हुन्थ्यो भन्ने लागेको छ ।

देशलाई फुटबलबाटै केही दिन सकिन्छ भनेर १० वर्षयता जापानमा फुटबलमै संघर्ष गरिरहेको छु । नेपाली फुटबलमा केही देन गर्न सकेँ भने मेरो अहोभाग्य हुनेछ ।

तस्वीरहरूः चन्द्रबहादुर आले/आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment