Comments Add Comment

महाधिवेशन डेढ वर्षपछि सार्न शशांकको सहमति !

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय समितिको म्याद डेढ वर्षसम्म थप हुनसक्ने बताएका छन् ।

नियमित समयमा गर्दा आगामी फागुनमा महाधिवेशन गर्नुपर्छ । तर यो सम्भावना टरिसकेको छ । संघीय संरचनाअनुसार पार्टी संरचना बनाउने प्रक्रिया थालनी गर्दा नै फागुनमा महाधिवेशन नहुने निश्चित भएको हो । तर वर्तमान कार्यसमितिको म्याद कति थप्ने भन्ने टुंगो लागेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन चाहन्छन् । पार्टी विधानको दफा ४३ ले असाधारण स्थिति भएमा कारण खुलाएर बढीमा एक वर्षसम्म अवधि बढाउन सकिने व्यवस्था गरेको छ । यस्तै संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ । तर विशेष कारण परे ६ महिना बढाउन सकिने भनिएको छ ।

देउवा यही व्यवस्थालाई भेटेर कार्यालय लम्ब्याउन चाहन्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले भने महाधिवेशनलाई धेरै पर धकेल्न नहुने मत राख्दै आएका थिए ।

सोमबार विराटनगर पुगेका महामन्त्री कोइरालाले देउवालाई बल पुग्ने अभिव्यक्ति दिएपछि कांग्रेसमा तरंग आएको छ ।

के भनेका छन् कोइरालाले ?

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले समयमै महाधिवेशन हुनुपर्ने आफूहरुको भनाइ रहेको बताए । ‘पूर्वप्रधानमन्त्री एवं सभापति शेरबहादुरजीको विश्लेषण मलाई थाहा छैन’ उनले अघि भने, थप्ने प्रावधान छ । थप्ने सम्भावना पनि छ । तर एक डेढ वर्षभन्दा थप्नु उचित हुँदैन ।’

उनले अघि भनेका छन्, ‘त्यसपछि निर्वाचन आउँछ । त्यसका लागि हामीलाई समय चाहियो । नयाँ सभापतिले पार्टी सम्हाल्नुपर्‍यो । नीतिहरु तर्जुमा गर्नुपर्‍यो । अनि हामी चुनावमा जान्छौं ।’

त्यसो भए एक वर्ष थपिन्छ भन्ने प्रश्नमा उनले भने, ‘एक डेढ वर्ष ।’

उनले प्रदेश कमिटीहरु पनि बनाउने पर्ने बताए । यद्यपि कहिले बन्छ भन्ने आफूले भन्न नसक्ने महामन्त्री कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment