Comments Add Comment

कस्तो खानपानले रोगी बनाउँछ ?

हामी बाँच्नका लागि खानेकुरा खान्छौं । तर खानपानको सम्बन्ध प्राण धान्नुसँग मात्र छैन । शरीर स्वस्थ्य र तन्दुरुस्त राख्नका लागि पनि उचित खानपानको आवश्यक पर्छ ।

सही, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । अर्थात रोग लाग्नबाट बचाउँछ । जवान र तन्दुरुस्त राख्छ । तर, असन्तुलित र खराब खानाले ठिक विपरित नतिजा दिन्छ । जब हामी खराब खानेकुरा सेवन गर्न पुग्छौं, क्रमस हाम्रो शरीर रोगको भण्डार बन्न थाल्छ । एकपछि अर्को रोग लाग्दै जान्छ । र, यस्तो अवस्था आउँछ कि हामीसँग खानका लागि सीमित कुराहरु मात्र बाँकी रहन्छ ।

यसको अर्थ स्वाद मेट्ने चक्करमा वा क्षणिक प्रलोभनमा खराब खानेकुरा सेवन गर्नु भनेको रोगलाई निम्तो गर्नु हो । जानेर वा नजानेर हामी यस्तै खानेकुरा खाइरहेका हुन्छौं । रेष्टुरेन्ट वा बाहिरको खानेकुरा मात्र होइन, घरभित्रै पनि हामी अस्वस्थ्यकर खानेकुरा बनाइरहेका हुन्छौं । त्यसैले खानेकुरालाई कसरी सही, सन्तुलित र सुपाच्य बनाउने भन्ने कुरा जान्नुपर्छ ।

कतिपय खानेकुरा आफैमा गुणी हुन्छ । तर, त्यसलाई अर्को खानासँग मिश्रण गर्दा त्यो विषाक्त बन्छ । त्यसैले कुन खानेकुराको साथमा के खानुहुन्छ भनेर पनि जान्नुपर्छ । शरीरलाई आवश्यक सबै किसिमको पोषणका लागि थरीथरीका खानेकुरा खानुपर्छ । त्यसो भन्दैमा थरीथरीका खानेकुरा एकसाथ खानहुन्छ भन्ने होइन ।

एक पटक भोजन गर्दा धेरै थरी मिश्रणको खानेकुरा पनि गर्न हुँदैन भनिन्छ । त्यसरी मिश्रण गर्दा पाचन प्रणालीमा बोझ पुग्छ । साथै कतिपय अवस्थामा विषाक्त पनि बन्छ । फूड प्वोइजनिङको समस्या त हामीले झेलिरहेकै छौ ।

खानेकुरा खानुको अर्थ हो, स्वस्थ्य हुन । निरोगी हुन । उर्जावान हुन । तर, खानपानको क्रममा गरिने केहि गल्तीले हामीलाई स्वस्थ्य होइन, बरु रोगी बनाउँछ ।

चर्को आगोमा पकाएको खानेकुरा

धेरैजसोले ग्यासमा खाना पकाउँछन् । चर्को आगो वा रापमा खाना पकाउनु राम्रो मानिदैन । त्यसले खानेकुरामा रहेको पोषण तत्व नष्ट गर्छ । रेष्टुरेन्टहरुमा खानेकुरा पकाउने क्रममा यसरी तेल तताउने गरिन्छ, जसबाट धूँवा निस्कन्छ । हेर्दा आकर्षक देखिने यस्ता पाककला स्वास्थ्यका लागि भने अनुकुल हुँदैन ।

पाकेको खानालाई पटक पटक तताएर खानु

धेरैजसोले पाकिसकेको खानेकुरालाई पटक पटक तताएर सेवन गर्छन् । अहिले पि|mजको प्रचलनले त यसलाई झनै बढवा दिएको छ । पाकिसकेको खानेकुरा पुन आगोमा तताउँदा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुने मात्र होइन, त्यो विषाक्त बन्छ । अर्थात हामी खानेकुरासँगै विष सेवन गर्न पुग्छौ ।

डिप फ्राई गरेर खानु

कुनैपनि खानेकुरा डिप फ्राई गरेर सेवन गर्नु भनेको पेटको रोग निम्त्याउनु हो । डिप फ्राई गरेको खानेकुरा जिब्रोलाई मिठो त लाग्छ, पेटमा गएपछि त्यसले नराम्रो असर गर्छ । अझ पेट सम्बन्धी समस्या भएका, पाचन प्रणाली कमजोर भएका, ग्याष्ट्रिकका रोगी, मधुमेह, उच्च रक्तचापको रोगी, पायल्सका रोगीले यसरी डिप फ्राई गरेको खानेकुरा खानै हुँदैन ।

काँचो र पाकेको मासुलाई एकै ठाउँ राख्नु

काँचो र पाकेको मासुलाई एउटै प्लेट वा भाँडामा राख्नु हानिकारक हुन्छ । अर्थात मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि पनि सोहि प्लेट प्रयोग गरिन्छ । हतारमा वा बेवास्ता गर्दा यस्तो गल्ती हुन्छ । किनभने काँचो मासुमा केहि ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा सर्न सक्छ ।

खानेकुरा सन्तुलित हुनुपर्छ

एकैथरी खानेकुराले मात्र शरीरका लागि चाहिने पोषण तत्व आपूर्ति हुन सक्दैन । त्यसका लागि भिन्न भिन्नै प्रकृतिको खानेकुरा खानुपर्छ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, आइरन, फाइबर आदि जस्ता तत्व एकै किसिमको खानेकुराबाट प्राप्त हुँदैन । कुनै पोषक तत्वका लागि चामल आवश्यक हुन्छ भने कुनैको लागि सागपात, कुनैको लागि फलफूल आवश्यक हुन्छ भने, कुनैको लागि ड्राइ फ्रुट्स ।

अतः यी खानेकुराहरु दिनभरमा निश्चित तालिका बनाएर सेवन गर्न सकिन्छ । एकसाथ भात, फलफूल, ड्राई फ्रुट्स, ग्रीन टि, सागपात खानुपर्छ भन्ने होइन । दिनभरको खानपान तालिकामा यत्तिका खानेकुरा समेट्न सकिन्छ । यस किसिमको सन्तुलित भोजनले शरीर सधै जवान, निरोगी र तन्दुरुस्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment